कोरोना संक्रमण दर बढेपछि इलाममा निषेधाज्ञामा कडाइ

 पछिल्लो समय कोरोना संक्रमण दर बढन थालेपछि इलाममा निषेधाज्ञामा कडाइ गरिएको छ । साउन लागे पछि केही खुकुलो भएको निषेधाज्ञा आगामी साउन १५ सम्मलाई पुनः कडाइ गरिएको हो । प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले आइतबार एक आदेश जारी गर्दै इलाम सदरमुकामसहित जिल्लाका मुख्य बजारहरु बन्द रहने जनाएका छन् ।

      जारी आदेशमा जिल्लाका मुख्य बजारहरु इलाम, फिक्कल, हर्कटे, तीनघरे, चुरेघाँटी, विल्याँटे, पुवाखोला, मंगलबारे, नेपालटार, गाग्रेभन्ज्याङ, नवमी लगायतका सबै बजारका सबै पसलहरु पूर्ण रुपमा बन्द रहने जनाइएको छ ।  औषधी पसललाई भने खुल्ला गरिएको छ । तरकारी, खाद्यान्न र फलफूल पसलहरु विहान ११ बजेसम्म खुल्ला गरिएको छ ।

      जारी आदेशमा इलाम बजार भित्रने सवारी साधनहरुलाई जिरो किलोमिटर र धोबिधारामै घरहरु भन्दा ५० मिटर टाढा रोक्न र प्रत्येक सवारी कम्तिमा पाँच मिटरको दुरीको फरकमा रोक्न भनिएको छ । अन्य बजारहरुमा पनि सवारी रोक्न, मानिस चढाउन र ओराल्न निषेध गरिएको छ ।

यसअघि आइतबार विहान इलाम नगरपालिकाको कार्यपालिका बैठकले इलाम नगरपालिकामा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । कोभिड संक्रमण बढेको भन्दै त्यसको नियन्त्रणका लागि नगरकार्यपालिकाले निषेधाज्ञाको सिफारिस पठाएको हो । इलाममा दोस्रो चरणको संक्रमणबाट दुई हजार ९२८ संक्रमित भइसकेका छन् । दुई हजार ९२ जना निको भएको र ६५ जनाको निधन भएको जनाइको छ । यस्तै ७५२ होम आइसोलेशनमा, १३ जना सामान्य उपचारमा, ५ जना आइसियुमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार