नेपाली चियाले बजारकाे समस्या भाेगिरहेकाे बेला विदेशबाट आयात हुन्छ तयारी चिया


इलाम । विदेश निर्यात हुने कृषिजन्य बस्तुहरु मध्ये चियाको हिस्सा निकै ठूलो छ । सवैभन्दा धेरै प्रयोग हुने पेय पदार्थ चियामा नेपाल आत्मनिर्भर छ । तर, चियामा मुलुक आत्म निर्भर रहेपनि विभिन्न देशबाट नेपालमा तयारी चिया आयात भइरहेको छ ।

पछिल्लो पाँच वर्षको अवधिमा १६ लाख किलो तयारी चिया नेपाल निर्यात भएको छ । चिया तथा कफि विकास बोर्डको वेभ साइडमा राखिएको तथ्याङ्कको आधारमा पाँच वर्षमा ४७ करोड ४७ लाख रुपैयाँको तयारी चिया नेपाल भित्रिएको छ । चिया तथा कफि विकास बोर्डको तथ्याङ्क अनुसार सन २०१९–२० मा दुई लाख १८ हजार ६ सय ३३ किलो तयारी चिया निर्यात भएको छ । त्यस्तै २०१८–१९मा तीन लाख ४३ हजार तीनसय ५३ किलो, सन २०१७–१८ मा तीन लाख ७१ हजार तीनसय ७० किलो तयारी चिया आयात भएको थियो । सन २०१६–१७ मा तीन लाख ६३ हजार एक सय ९० किलो र सन २०१५–१६ मा तीन लाख तीन हजार चार सय ६० किलो तयारी चिया निर्यात भएको तथ्याङमा उल्लेख छ ।

नेपालले सवैभन्दा बढि चिया आयात गर्ने देशमा भारत पहिलो छ त्यसपछि चिन, श्रीलंका, थाइल्याण्ड, टर्की, दुवई, मलेसिया, वंगलादेश लगायतका मुलुकबाट तयारी चिया नेपाल आयात हुने गरेको तथ्याङ्मा उल्लेख छ ।

नेपालमा उत्पादन हुने चियाको निर्यात समेत सवैभन्दा धेरै भारतमा छ । नेपालमा उत्पादन भएको तयारी चियामध्ये भारतमा ८८.९ प्रतिशत र जर्मनीमा ३.६ प्रतिशत रहेको छ । त्यसबाहेक रुस, जापान, चेक रिपब्लिक, अमेरिका, क्यानेडा, फ्रान्स अस्टे«लिया लगायतका देशहरुमा समेत चियाको निकासी हुने गरेको छ ।

सरकारले चियालाई निर्यात प्रवद्र्धन गर्ने बस्तुको सूचिमा सुचिकृत गरेको छ । निर्यात प्रवद्र्धन गर्ने बस्तुको सूचिमा सुचिकृत बस्तुमा अतिरित्त कर लगाउने, नेपाली उत्पादन निर्यातमा कर घटाउने, त्यस्ता बस्तुको बजार प्रवद्र्धधनको लागि बजारको खोजी गर्ने, उत्पादन बृद्धिको लागि सहुलियत दिने गरेको छ । निर्यात प्रवद्र्धन गर्ने बस्तुको सूचिमा चिया सुचिकृत भएपछि विदेशी उत्पादनलाईलाई निरुत्साहीत गर्न चियामा ३० प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ । तर, पनि विदेशी चिया नेपाल भित्रिने क्रम रोकिएको छैन ।

चिया तथा कफि विकास कार्यालय फिक्कलका प्रमुख इन्द्र अधिकारीले नेपालमा सिटिसी चिया आयात हुने गरेको बताउँछन् । ‘भारतको आसाम र डुवोर्स क्षेत्रमा उत्पादन भएको सिटिसी चिया नेपाल आउने गरेको पाइन्छ’, कार्यालय प्रमुख अधिकारीले भने,‘त्यस क्षेत्रमा बनेको सिटिसी चियाको गुणस्तर राम्रो भएकाले नेपाली बजारमा भारतबाट तयारी आउने गरेको हो ।’ भारतबाट उच्च दरको राजश्व तिरेर आएको चिया नेपाली बजारमानै विक्री हुने गरेको छ । भारतबाट नेपाल आउने सिटिसी चिया स्वाद र सुगन्धको लागि यहाँ उत्पादन हुने सिटिसी चियामा मिसाएर विक्री हुने गरेको छ ।

अन्य देशबाट भने डिपार्टमेन्टर स्टोरहरुले चिया ल्याउने गरेको अधिकारी बताउँछन् । ‘प्याकेजिङ राम्रो भएको चिया डिपार्टमेन्टर स्टोरहरुले ल्याउने गरेका हुन्’, उनले भने,‘तर, नेपालमा सीमित देशबाट थोरै परिमाणमा मात्रै तयारी चिया भित्रिने गरेको छ ।’ चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा एक सय तीन चिया उद्योग छन् । यी उद्योगहरुले बर्षेनी ५२ हजार एक मेट्रिक टन चिया तयार पार्न सक्छन् । नेपालमा अहिले बर्षेनी १८ हजार नौ सय ५८ मेट्रिक टन तयारी चिया उत्पादन भइरहेको छ । देशको १२ हजा ६६ हेक्टरमा चिया खेती छ । त्यसबाट दश करोड ८० हजार किलो हरियो पत्ति उत्पादन हुन्छ । मुलुकभर ११ हजार ४१ चिया बगान छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार