इलामका दुई लाख २७ हजार खोपको व्यग्र प्रतिक्षामा

५५ वर्षभन्दा माथिका २२ हजारलाई खोप दिइदै


इलाम । सरकारले मंगलबारदेखि ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउँदैछ । १२ गतेदेखि १४ गतेसम्म र १७ गतेदेखि १९ गतेसम्म खोेप सञ्चालन गर्दैछ । दुई चरणमा गरेर सञ्चालन गरिने खोप कार्यक्रमको लागि २२ हजार नांै सय ८८ डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले बताए । तर, इलाममा दुई लाख २७ हजार तीन सय ४६ जना खोपको ब्यग्र प्रतिक्षामा छन् । पहिले आएको खोप पहिलो डोज लगाएकाहरुलाई दिइने छैन । ५५ वर्षभन्दा माथिका नयाँ व्यक्तिलाई पहिलो खोप दिइने यादवले जानकारी दिए । ‘यस अघि विभिन्न उमेर समुहका लागि सञ्चालन गरिएको अभियानमा केहीलाई खोप लगाउँन बाँकी छ’, स्वास्थ्य कार्यालय इलामका प्रमुख दासले भने, ‘अहिले प्राप्त खोपले ५५ वर्षभन्दा माथिको जनसंख्यालाई पुग्छ ।’

पहिलो डोज लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुले कहिले दोस्रो डोज पाउँछन् भन्ने यकिन छैन । दोस्रो डोजको लागि सरकारले विभिन्न देशमा प्रयन्त गरिरहेको भन्दै जिल्लामा खोप पाउने वित्तिकै पहिलो डोज लगाएर बसेकालाई दोस्रो डोज लगाइने प्रमुख दासले जानकारी दिए । इलाममा पहिलो डोज मात्रै लगाएकाको संख्या २० हजार ९७ जना छन् । पहिलो डोज लगाएको लामो समयसम्म दोस्रो डोज नपाउँदा खोप कति प्रभावकारी हुने भन्नेमा चिन्तित छन् ।

इलाममा हालसम्म ३१ हजार चार सय ६३ जनाले खोप लगाएका छन् । ती मध्ये दुवै डोज पुरा गर्नेको संख्या सात हजार नौं सय ८८ मात्रै छन् । जिल्लामा विभिन्न चरणमा सञ्चालित कोरोना विरुद्धको खोप अभियानमा कोभिडशिल्ड २२ हजार छ सय ३० जना र भेरोसिल्ड लगाउनेको संख्या आठ हजार आठ सय ३३ जना रहेका छन् ।

इलाममा कोभिडका बिरामीको संख्या दिनदिनै बढ्दै गएपछि निषेधाज्ञामा कडाइ गरिएको छ । हाल दैनिक सय हाराहारीमा नयाँ संक्रमित थपिदै गएका छन् । सोमबार मात्रै ९० जना नयाँ संक्रमित थपिएका छन् । सोमबारम्मको तथ्याङक अनुसार जिल्लाभर आठ सय ९० जना सक्रिय संक्रमित छन् । १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सोमबार इलाम नगरपालिका ४ की ४७ वर्षकी एक जना महिलाको मृत्यु भएको छ । यो संगै जिल्लाभरमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६७ जना पुगेको छ ।

इलाम अस्पतालमा बिरामीको चाप थेगिनसक्नु भएपछि ओपीडिको समय घटाइको छ । अस्पतालले सूचना जारी गर्दै विदाको दिन बाहेक १० वजेदेखि १२ बजेसम्म मात्रै ओपीडी सेवा सञ्चालन गर्ने जनाएको छ । अस्पतालमा अत्यावश्यक बाहेकका बिरामीको चाप बढेका र कोरोना संक्रमणको जोखिम बढेकाले ओपीडीको समय घटाइएको इलाम अस्पतालका व्यवस्थापक क्ष्तििज खतिवडाले बताए । ‘कतिपय मानिस होलबडी चेकअप गराउँन भन्दै ओपीडीमा आउँछन्, साच्चै समस्या परेर आएका बिरामीलाई समस्या भयो’, व्यवस्थापक खतिवडाले भने,‘त्यसैले ओपीडीको समय घटाएका हाँै ।’ अस्पतालको कोभिड वार्डमा बिरामीको चाप पनि यस्तै छ । कोभिड वार्डको दुई वटा बेड मात्रै खाली छन् । जिल्लामा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेकाले बिरामीहरुले अस्पतालमा शैया पाउन मुस्किल हुने अवस्था छ ।

कोभिडको परीक्षणको लागि जिल्लामा पर्याप्त किट समेत छैन । अस्पतालमा दैनिक ८०–९० जनाको एन्टिजेन परीक्षण हुने गरेको छ । एन्टिजेन परीक्षणको लागि अस्पताललाई स्वास्थ्य कार्यालयले किट उपलब्ध गराउने गरेको छ । स्वास्थ्य कार्यालयमा पनि सीमित मात्रै किट रहेको कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयमा पनि आठ सय हाराहारी किट रहेको कार्यालयका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए । किटको अभाव हुन थालेपछि स्वास्थ्य कार्यालयले स्थानीय तहलाई किट उपलब्ध गराउन छाडेको छ । पालिकाहरुले कोरोना परीक्षणको लागि आफंै किटको व्यवस्था गर्नुपर्ने भएको छ । माहामारी तीब्र रुपमा बढिरहेको अवस्थामा किटको अभावमा संभावितहरुको परीक्षण हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार