इलाममा स्वास्थ्य बिमाकाे आकर्षण बढ्दो, बिमा गर्नेको संख्या एक लाख नाघ्यो

   पाँच वर्षअघि इलाममा सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) मा बीमा गराउनेहरुको संख्या एक लाख सात हजार ११८ जना पुगेको छ ।
२०७३ देखि सुरु भएको बिमामा १२ हजार २०१ जना ज्येष्ठ नागरिक, १९९४ जना रातो कार्ड पाउने अपांगता भएका व्यक्तिका परिवार, १४ कुष्ठ रोगी, एचआइभी पोजेटिभ रहेका ५७ जनाको परिवार सहभागी भएका छन् ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, कुष्ठ रोगी र एचआइभी पोजेटिभलाई भने सरकारले निःशुल्क बीमा गरिदिएको सामाजिक स्वास्थ्य बीमा समिति इलामका दर्ता अधिकारी खेम अधिकारीले जानकारी दिए ।
यस्तै २४३१ महिला स्वास्थ्य स्वयंसेविकाको ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा गरिएको छ । स्वास्थ्य बिमा गराउँदा एक लाख रुपैयाँ सम्मको उपचारको व्यवस्था भएपछि मुटु, मृर्गाैला, मधुमेह, उच्चरक्तचाप लगायतका रोगका विरामीलाई उपचार गर्न धेरै सजिलो भएकाले पनि स्वास्थ्य बिमा गर्नेहरु वर्षेनी वृद्धि हुँदै गएको अधिकारी बताउँछन् ।
स्वास्थ्य बिमाबाट एघार सय ३३ किसिमका औषधि उपलब्ध हुने गरेको छ । यीमध्ये लक्षणका आधारमा गरिने उपचारमा बढी औषधि खर्च भएको बताइएको छ । जिल्लामा लक्षणको आधार पछि उच्च रक्तचाप, महिलाको पाठेघर, पिसाब र मधुमेहका बिरामीको संख्या बढी रहेको पाइएको अधिकारीले जानकारी दिए ।

      बिमा गर्नेले बहिरंग, प्रयोगशाला, एक्स–रे, साधारण चिरफार, मधुमेह, प्रजनन स्वास्थ्य, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, अक्सिजन र स्वास्थ्य जोखिम परीक्षणलगायत सेवा पाउने गरेका छन् । जिल्लाका इलाम अस्पताल, मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र, फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र, पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्र र प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिमा सुविधाको उपचार हुने गरेको छ । यी बाहेक थप उपचारकालागि सम्बन्धित स्वास्थ्य संस्थाबाट रेफर भएका बिरामीहरू झापाको मेची अस्पताल, बी एण्ड सी, आम्दा, लाइफलाइन, मेची आँखा उपचार केन्द्र, विराटनगरस्थित नोबेल मेडिकल अस्पताल र धरान स्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार