भारतमा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा पर्ने बाराबंकी जिल्लामा ट्रकले बसलाई ठक्कर दिंदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

   लखनउ–अयोध्या रोडमा मंगलबार  राति उक्त दुर्घटना भएको हो । भारतीय मिडियाहरुका अनुसार सडक किनारमा रोकिराखेको दुई तले बसलाई मंगलबार राति करिब १२ बजेतिर ट्रकले ठक्कर दिएको थियो । प्रहरीका अनुसार हरियाणाको पलवल भन्ने स्थानबाट बिहार जाँदै गरेको बस बिग्रिएपछि चालकले राति करिब आठ बजेदेखि सडक किनारमा रोकेका थिए । राति करिब १२ बजेतिर पछाडिबाट ट्रकले बसलाई ठक्कर दिएको थियो ।

धेरैजसोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका कारण अबरुद्ध भएको सडक प्रहरीले खुलाएको छ । अधिकारीहरूले दुर्घटनाको जाँच गर्न आदेश दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार