माग पूरा नहुँदा पाँच बर्षदेखि आन्दोलन निरन्तर

     इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका विद्यार्थी पाँच वर्षदेखि आन्दोलनमा छन् ।
उनीहरुको जम्मा दुईवटा माग छन्, एउटा लोक सेवा आयोगको परीक्षामा सहभागी हुन पाउनेर्ने, अर्को अंकभार पुगेको विषयमा पढ्न पाउनुपर्ने । तर, निरन्तर आन्दोलन गर्दा समेत विद्यार्थीको माग पुरा हुन त कतैबाट सुनुवाई समेत भएको छैन ।
इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा २०६९ सालदेखि हर्टिकल्चर विषयको पठन पाठन सुरु भएको हो । पहिलो ब्याजको विद्यार्थी पास आउट भएपनि उनीहरुले थाहा पाए लोक सेवा आयोगले गराउने प्रतिष्पर्धामा उनीहरु सहभागी हुँन पाउँदैनन् । अर्को कृषि तथा वन विश्वविद्यालयमा हर्टिकल्चर विषयमा मात्रै स्नातकोत्तर गर्न पाउँछन् ।

     अंकभार पुगेको विषयमा माथिल्लो तह अध्ययन गर्न नपाएपछि विद्यार्थीले आन्दोलन थालेका हुन् । २०७२÷०७३ देखि विद्यार्थीले दिनहुँजसो आन्दोलन गर्ने गरेका छन् ।
‘पहिलो ब्याजको विद्यार्थी आस आउँट भएर बाहिर गएपछि लोक सेवा आयोग भिड्न नपाउने र चाहेको विश्वविद्यालयमा पढ्न नपाउने भएपछिनै हामीले आन्दोलन थालेका हौ’, वागवानी संघर्ष समितिका अध्यक्ष समेत रहेका विद्यार्थी किशोर आचार्यले भने,‘हामी दैनिक एक दुई घण्टा आन्दोलन गरिरहेका छौ, यत्रो वर्ष वित्यो अहिलेसम्म हाम्रो माग पुरा भएको छैन ।’
महेन्द्र रत्न बहुमुखी क्याम्पसमा नेपालमा नै नौलो कार्यक्रमको रुपमा बिएसी इन हर्टिकल्चर विषयमा पठन पाठन सुरु भएपछि प्राविधिक विषयमा रुची भएका विद्यार्थीहरु इलाम पढ्न आएका छन् । नेपालको प्राय सबैजसो जिल्लाका विद्यार्थी इलाम पढ्न आएका छन् । यो विषयको पढाइको लागि विद्यार्थीले पाँच लाख ५५ हजार रुपैयाँ बुझाउनुपर्छ । घर आउजाउ, खाना बस्न लगायतका अरुमा खर्च गरेर १० देखि बाह्र लाख रुपैयाँ खर्च हुने कालिकोटबाट इलाम पढ्न आएका विद्यार्थी किशोर आचार्य बताउँछन् । तर, अध्यन सकेर बाहिर निस्किदा लोक सेवा आयोग समेत भिड्न नपाउने भएपछि आफ्नो पैसा मात्रै होइन समयपनि खेर गएको विद्यार्थीको गुनासो छ । लामो समय देखि निरन्तर आन्दोलन गर्दा समेत आफ्नो माग पूरा नभएपछि विद्यार्थीहरु कृषि मन्त्रालय, त्रिभुवन विश्वविद्यालय देखि लोकसेवा आयोगसम्म चाहारेका छन् ।
त्यहाँ आफ्नो समस्या राख्दा एकले अर्कोलाई देखाएर पन्छिने गरेको गोर्खा घर भएकी विद्यार्थी महिमा गौतम वताउँछिन् । ‘कृषि मन्त्रालयमा कुरा गर्दा लोक सेवा आयोग देखाउँछन्, लोक सेवा आयोगमा कुरा गर्यो भने कृषि मन्त्रालय देखाउँछन्’, गौतमले भनिन्,‘अब काठमाण्डौं केन्द्रित आन्दोलन गर्छौ ।’
नयाँ विषय अध्ययन गर्ने रुची बोकेर इलाम आएका विद्यार्थीले यसभित्रको समस्या देखिएपछि पढाइ बिचैमा छाड्ने मनस्थितिमा पुगेका छन् । ‘दोस्रो समेमेस्टरमा भएका तीन चार जना साथीहरु पढाई छाडेर जाने तयारीमा हुनुहुन्छ’,उनले भनिन्,‘नयाँ सेमेस्टरमा त विद्यार्थी नै हुनुहुन्न ।’इलाममा अध्ययन गरेका विद्यार्थीहरुले कृषि तथा वन विश्वविद्यालयमा हर्टिकल्चर विषयमा मात्रै स्नात्तोकोत्तर अध्ययन गर्न पाउँछन् । उनीहरुले उही अंकभारको विषय अध्ययन गरेका विद्यार्थीले जस्तै अन्य विषय समेत पढ्न पाउनुपर्ने माग गरेका छन् । त्यस्तै हर्टिकल्चर पढेका विद्यार्थीलाई पाँचवटा समुहमा प्रतिष्पर्धा गर्न पाउनु पर्ने माग छ । हर्टिकल्चर सहित, माटो विज्ञान, कृषि प्रसार, बाली संरक्षण र बालि विज्ञानमा प्रतिष्पर्धा गर्न पाउनुपर्ने विद्यार्थीको माग छ । ्
क्याम्पसमा अहिले एक सय ७ जना विद्यार्थी अध्ययनरत छन् । ति मध्ये २७ विद्यार्थी पास आउट हुने चरणमा छन् । छैठौ, चौथो र दोस्रो सेमेस्टरका विद्यार्थीको पढाइ चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार