इलामकाे यातायात कार्यालयले गतकाे भन्दा दाेब्बर राजश्व संकलन गर्याे


इलाम । अघिल्लो आर्थिक वर्षको तुलनामा यातायात व्यवस्था कार्यालय इलामले गत आर्थिक वर्ष ०७७।०७८ मा दोब्बर राजश्व संकलन गरेको छ । आर्थिक वर्ष ०७६।०७७ मा ३ करोड २९ लाख २० हजार १०३ रुपियाँ राजश्व संकलन गरेको कार्यालयले ०७७।०७८ मा छ करोड ३९ लाख ४१ हजार २५० रुपियाँ संकलन गरेको कार्यालयले जनाएको छ ।

कार्यालयमा आर्थिक वर्ष ०७७।०७८ मा नीजि दुई चक्के २४६० वटा, सरकारी ३८ वटा, सार्वजनिक चार चक्के १८ वटा दर्ता तथा नाम सारी भएका छन् । कार्यालयबाट ८ हजार ४६१ वटा, ब्लुबुक नविकरण, ५३९ वटा रुट नविकरण, ५८ वटा सवारी अनुमतिपत्र नविकरण, एक हजार ४३ सवारी जाँचपास ब्लुबुक प्रतिलिपि १९ वटा र ३१ वटा नयाँ रुट जारीबाट उक्त राजश्व संकलन गरेको कार्यालयका प्रमुख छविलाल खतिवडाले बताए । इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई लक्षित गरि स्थापना भएको कार्यालयले तेह्थुम जिल्लालाई समेत सेवा प्रदान गरेको जनाइएको छ ।

तर, ६ महिना अघिदेखि सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिरहेको कार्यालयको काम भने प्रदेश मन्त्रालयमा गएर रोकिएको छ । ‘यो कार्यालय स्थापना हुँदा यातायात व्यवस्था सेवा कार्यालय थियो, अब व्यवस्था सो हटाएर यातायात कार्यालयको रुपमा परिणत भएपछि थप सेवा पनि विस्तार हुन्छ ।’ खतिवडाले ‘मन्त्रालयमै काम ढिलाइ भइरहेको छ ।’ सवारी चालक अनुमतिपत्र प्रदानका काम पनि शुरु हुँदा १५ देखि १८ करोड रुपैयाँ राजश्व संकलन हुने अनुमान रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार