किसानलाई च्यापकटर वितरण

इलाम । व्यवसायिक गाई पालन गर्ने किसानहरुलाई रोङ गाउँपालिकाले च्यापकटर वितरण गरेको छ । गाउँपालिकामा फर्म र समुहनै दर्ता गरेर व्यवसायिक पशुपालन गरिरहेका ४६ किसानलाई सोमबार च्यापकटर वितरण गरेको हो ।
गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागत सहभागीतामा किसानलाई च्यापकटर उपलब्ध गराइएको गाउँपालिकास्थित पशु शाखाका कर्मचारी गोपाल राईले बताए । गाउँपालिकाले वाड–६ का किसानलाई भने यसअघिनै ९५ वटा च्यापकटर वितरण गरेको थियो ।

विषेशगरि पशुपालक किसानलाई थप व्यवसायिक बनाउन सहयोग गर्ने उद्देश्यले च्यापकटर, काउम्याट वितरण गरिएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले बताइन् । ‘आगामी वर्ष दुई यस च्यापकटर वितरण गर्ने लक्ष्य राखेका छौैैं ।’ राईले भनिन् ‘यसले गाई पालक र बाख्रा पालक किसानहरुलाई सहयोग गर्नेछ ।’

गाउँपालिकाले बंगुरपालक किसानलाई पनि बंगुरको दाना बनाउने कम्बाइन मिल उपलब्ध गराएको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागत सहभागीतामा उक्त मिल उपलब्ध गराइएको हो । गाउँपालिकाको कार्यविधि अनुसार निवेदन आवाहन गर्दा ५ वटा बंगुर फामलाई दाना बनाउने मिल उपलब्ध गराइएको उपाध्यक्ष राईले बताइन् ।

३५ हजार रुपैयाँ पर्ने मिलले बंगुर पालक किसानलाई सहज भएको पशुशाखा कर्मचारी राई बताउँछन् । ‘गाउँपालिकामा १६ वटा बंगुर फाम छन्, ती मध्ये पाँचवटालाई मिल प्रदान गरियो, अन्यलाई पनि कार्यविधिले भ्याए सम्म आउँदो वर्ष सहयोग प्रदान गरिनेछ ।’ राईले भने ‘यी फामहरुले वार्षिक १० देखि २० लाख रुपैयाँको कारोबार गरिरहेका छन् ।’ राईका अनुसार यी किसानले पाठा उत्पादन र केहीले मासु उत्पादनका लागि बंगुर व्यवसाय गरिरहेका छन् ।

यता सूर्योदय नगरपालिकाले पनि पशुपालक किसानहरुलाई व्यवसायमा सहयोग पुग्नेगरि च्यापकटर वितरण गरिरहेको छ । नगरपालिकाले किसानलाई ५० वटा च्यापकटर वितरण गरेको छ । पशुपालनलाई नै टेवा दिन इलाम नगरपालिकाले पनि च्यापकटर वितरण गरेको नगरपालिकास्थित कृषि शाखा प्रमुख उपेन्द्र नेपालले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार