इलाम । सामलिङ पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि स्थानीयको लागि निष्काशन गर्ने भनिएको माईबेनी जलविद्युत आयोजनाको साधारण शेयर आइपीओ कोरोना संक्रमणका कारण जिल्लामा निषेधाज्ञा कडाई गरिएकाले हाललाई स्थगित गरिएको छ ।
इलाममा संक्रमण बढ्नका साथै मृत्यूदर पनि बढ्दै गएपछि बैंकहरु समेत बन्द हुने गरेर निषेधाज्ञा जारी गरिएको छ ।
इलाममा कोरोना भाइरसको संक्रमण रोक्न साउन १८ गतेदेखि साउन २५ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञा सकिने वित्तिकै अर्काे सूचना जारी गरेर शेयर खुलाइने कम्पनीले जनाएकाे छ ।
आयोजनाको कू्रल १२ लाख ३० हजार शेयर मध्ये पाँच लाख कित्ता प्रभावित क्षेत्र र जिल्लाबासीका लागि निष्काशन गरेकाे थियाे । प्रभावित क्षेत्रका लागि भनेर इलाम नगरपालिका वडा नं. ८ र १० तथा माइजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का लागि शेयर जारी थियाे । यसरीनै जिल्लाबासीले भर्न मिल्ने गरेर पनि कम्पनीले शेयर जारी गरेको थियाे।
कम्पनीले पाँचलाख शेयसर मध्ये ४० प्रतिशत अर्थात दुई लाख कित्ता शेयर प्रति शेयर सय रुपैयाँका दरले प्रभावित क्षेत्रका दुई पालिकाका चार वटा वडाबासीले भर्न र त्यसको ६० प्रतिशत अर्थात तीन लाख शेयर भने जिल्लाबासीले भर्न पाउने गरी शेयर जारी गरेकाे थियाे ।
इलामको माइबेनीमा पावरहाउस रहेको माइबेनी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र यसै सातादेखि परीक्षण उत्पादन शुरु हुने कम्पनीले जनाएको छ ।
९ दशमलव ५१ मेगावाटको सो जलविद्युत केन्द्रबाट वार्षिक ५३ दशमलव २८ गिगावाट उत्पादन हुनेछ ।