मंगोलियन हर्टका स्पन्दन: राजु लामा

त्यो एक जमाना थियो अडियो क्यासेटको । जमाना थियो, सांगीतिक ब्यान्डको । जमाना थियो, मंगोलियन हार्टको । र, जमाना थियो राजु लामाको ।

संक्षेपमा जमना यस्तो थियो–

शहर, चोक, गल्लीमा पान दोकान जस्तै झकिझकाउ बजार हुन्थ्यो, अडियो क्यासेटको । ‘ए’ र ‘बि’ साइडमा औसत चारको दरले आठ वटा गीत । एक प्रतिको मूल्य ४० देखि ८० रुपैयाँसम्म ।
प्लेयरमा राखेर एउटै क्यासेट फर्काइ–फर्काइ, दोहो¥याई–दोहो¥याई सुनिन्थे । घर–घरमा क्यासेट जतनसाथ सजाइन्थ्यो । रेडियोमा कान थापेर बस्नुपर्ने बाध्यतालाई क्यासेट प्लेयरले किनारा लगाउँदै थियो । पारखीले आफ्नो मर्जी अनुसार ‘जहाँ पनि जहिले पनि’ गीत सुन्न सक्थे ।
हाटबजार, मेलापात, बिहे–भोजमा माइक घन्काइन्थ्यो । ग्रामाफोनपछि रेडियो र रेडियोपछि नयाँ ध्वनी–तरंगले एक अलग साम्राज्य बनाउँदै थियो ।
पप संगीतको बजार उत्कर्षमा पुगेको त्यो बखत वैंशालु वयका दौतरीहरु ‘सांगीतिक ब्यान्ड’मार्फत आफ्नो चिनारी खोज्दै थिए । ‘नेपथ्य’, ‘कन्दरा’, ‘ब्रोसिस’, ‘द एक्स’, ‘१९७४ एडी’, ‘द अग्लिज’, ‘कबवेब’, ‘आस्था’ जस्ता ब्यान्डहरुको माधुर्य ध्वनीमा तन्नेरी पुस्ता झुम्मिइरहेका थिए । नेपाली लोक लय र पश्चिमा पप मिश्रित संगीतको बेजोड गुरुत्वबलले पारखीहरुको मन तानिरहेको थियो ।
यही पृष्टभूमीमा सेलो फ्लेबरको पप गीतले आफ्नो बेग्लै वर्चश्व बनाउँदै थियो–
‘उँभो उँभो खास्सा म जाँदा तातोपानी बजारमा बसेथें
तातोपानी बजार घुम्दै जाँदा सेर्पेनी कान्छीलाई भेटेथें
शेर्पेनी कान्छी क्या राम्री, बान्की परेकी
लास्सो …।’

दृश्यमा जे देखिन्छ

एउटा सांगीतिक समूह देखापर्छ, मंगोलियन हर्ट । ‘नतानु त तानु लाग्ने’, ‘बादल पारीको देशबाट’, ‘ओइ नाना’ गाउँदै । कहिँ रोमाञ्चकता त कहिँ प्रेम–विरहको भाकाले युवा–मनलाई झट्टै स्पर्श गर्छ । क्यासेट बजारको लस्करमा थपिन्छ, ‘मंगोलियन हर्ट भोल्युम–१, २, ३, ४, ५, ६ अनि ७ ।’
नेपाल टेलिभिजनबाट एकाध सांगीतिक कार्यक्रम प्रसारण हुन्छ । राजु लामाहरु त्यही झल्याक–झुलुक देखिन्छन् । यी गायकलाई आफ्नै घर–आँगनमा प्रत्यक्ष हेर्न÷सुन्ने उत्सुक छन्, असंख्यौं युवा–प्रसंशक । यससँगै ‘मंगोलिन हर्ट’को स्टेज यात्रा सुरु हुन्छ ।
स्टेज अघिल्तिर उभिएर स्वरमा स्वर मिलाउनेहरुदेखि अटोग्राफ लिन आतुर प्रसंशकहरुको घेरा बाक्लिदै जान्छ । म्युजिक अवार्ड उचाल्ने उपक्रम अरु तिब्र हुन्छ ।
अनि युग सुरु हुन्छ, मंगोलियन हर्टको ।

नेपथ्यमा जो छ

स्कुल पढ्ने उमेरका जोशिला सहपाठीहरु छन्, गाना–बजानामा रुची राख्ने । सुक्रबार विद्यालयमा पढाई बाहेक अतिरिक्त कार्यक्रम हुन्छ । कहिले अभिभावक दिवस, कहिले विद्यालयको वार्षिकोत्सव । यस्तो मौका उनीहरु हम्मेसी छुटाउँदैनन् । गीटार बजाउँछन्, स्वर खिपेर भाका हाल्छन् ।

कक्षा आठमा पढ्छन् । कोही बौद्ध बस्छन्, कोही सामाखुसी । संगीतको लयले उनीहरुलाई एकै लहरमा उभ्याउँछ ।
चाडपर्वमा भेला भएर रमझम गर्छन् । तिहार आउँछ । देउसी–भैलोको माहौल सुरु हुन्छ । देउसी भैलोमा गाउनकै लागि उनीहरुले एउटा समूह बनाउँछ । सांगीतिक समूहको नाम जुराउँछन्, मंगोलियन हर्ट ।

यसमा सम्मिलित हुन्छन्, राजु लामासहितका आधा दर्जन सहपाठी । चन्द्र गुरुङ, बसन्त गुरुङ, राजकुमार थापा, देव गुरुङ । सामाखुसीमा बस्ने चन्द्र गुरुङको दाई र भेना गितारका उस्ताज । उनीहरुले सिकाउँछन्, चन्द्रलाई गितार बजाउन । चन्द्रले राजुलाई । अनि अरुलाई ।
देउसी खेलेर पैसा जोहो गर्छन्, लगभग १८ हजार रुपैयाँ । उनीहरु गीत रेकर्ड गराउन तम्सन्छन् । एउटा गीतले पुग्दैन, ६ वा आठ वटा हुनुपर्छ । कोही गीत लेख्छन्, कोही धुन खोज्छन् । छाउनीस्थित स्टुडियोमा गीत रेकर्ड हुन्छ । एल्बम तयार हुन्छ, सोल्टिनी ।
तर, ‘सोल्टिनी’ले खास तरंग पैदा गर्न सक्दैन । फगत पुरा हुन्छ, ‘एल्बम निकाल्ने’ रहर ।

यद्यपि उनीहरुको लय टुट्दैन । ब्यान्ड प्रतिस्पर्धामा भाग लिन्छन् । स्टेजमा उक्लिन्छन् । मेला, उत्सवमा पुग्छन् । यस्तैमा एक ब्यान्ड प्रतिस्पर्धाको उपाधि जितेपछि उनीहरुको लागि म्युजिक नेपालको ढोका खुल्छ ।

म्युजिक नेपालले जिम्मा लिन्छ, रेकर्डिङ गरिदिने, क्यासेट निकाल्ने, बजारमा पु¥याउने, प्रचारप्रसार गर्ने । आफैले तयार गरेको र अन्यबाट लिइएको ९ वटा गीत रेकर्ड हुन्छ । एल्बम निस्कन्छ, मंगोलियन हर्ट । यतिबेला सरस्वती दाहिना हुन्छन् । जताततै गीत घन्कन्छ । बजारमा क्यासेटको माग बढ्छ ।

मंगोलियन हर्टलाई सुनेर पारखीको धीत मर्दैन । अन्ततः मंगोलियन हर्ट भोल्युम–२, ३ हुँदै ७ सम्म बजारमा आउँछ । सर्वत्र छाउँछ । व्यान्डले क्यासेट बिक्री भए अनुसार रोयल्टी प्राप्त गर्छ । प्रति क्यासेट, दुई रुपैयाँ । १० हजार प्रति क्यासेटपछि क्रमस रोयल्टीको मूल्य बढ्दै जान्छ । मंगोलियन हर्ट चार÷पाँच लाख प्रति विक्री हुन्छ ।

लोकप्रियताको यो ग्राफ अविछिन्न उकालो लाग्छ । त्यसपछि मंगोलियन हर्टले पछाडि फर्केर हेर्नुपर्दैन ।

पछाडि फर्केर हेर्दा

मंगोलियन हर्टमा स्पन्दन भर्ने पात्र हुन्, राजु लामा ।
बटुलो मुहार, सिल्की कपाल, गोरो वर्ण । हरदम हाँसिरहन्छन् । हाँस्दा आँखा अरु चिम्सा हुन्छ, सेता दाँतका लहर खुल्छन् र गालामा खोबिल्टा पर्छ । मृदुल, मिजासिला अनि मस्त । अर्थात राजु लामा ।

गायक बन्नुअघि उनी के थिए ?

एउटा साधरण फुच्चे । लेकबाट शहर ओर्लेका । साँगाको गल्छीबाट उपत्यका प्रवेश गरिरहँदा उनको आँखामा कुनै रंगीन सपना थिएन । त्यसबेला उनी पाँच बर्षका बालक थिए । सिन्धुपाल्चोकको एकलासे लेकमा जन्मी, बढेका ।

सिन्धुपाल्चोकस्थित सुनचौर उनको पूख्र्याैली थलो । ९ जना लालाबाला । सात दिदीबहिनी । एक भाई । जेठो छोरो, राजु । निम्न मध्यम बर्गिय परिवार । दुःखजिलो छाक टार्न पुग्ने । सबैजना खेतीकिसानी गर्ने ।

गाउँमा मोटर बाटो पुगेको छैन । गाडी चढ्न घण्टौं हिँड्नुपर्छ । काठमाडौंसम्म आइपुग्न दुई दिन लाग्छ । त्यो बेला । घर पायक विद्यालय छैन । लेकका केटाकेटीलाई पढ्न र लेख्नै मुस्किल ।

दिदीको विवाह हुन्छ, काठमाडौंमा । बौद्धमा बस्छिन् । बुवा चाहन्छन्, राजुलाई दिदीसँगै राखेर पढाउने । काठमाडौं जाने कुराले राजु फुरुंग हुन्छन् । रंगीचंगी शहर, मोटर गाडी देख्ने उत्सुकताले काउकुती लगाउँछ । उनी यसै मख्ख पर्छन् ।
अन्ततः बुवाको काँधमा चढेर उनले घर छाड्छन् । आमा छाड्छन् ।

त्यसबखत काठमाडौं जाने भनेपछि गाउँ–छिमेकका मान्छेहरु हुल बाँधेर हिँड्नुपर्ने । एक्लो–दुक्लो नहिँड्ने । गाउँभरका १०–१५ जना काठमाडौंतर्फ लाग्छन् । बुवाको काँधमा चढेर राजु पनि सो टोलीमा सम्मिलित हुन्छन् । त्यो सानो लस्कर लेकको साँघुरो बाटो, उकाली, ओराली, खोल्सा हुँदै, ठाउँ–ठाउँमा थकाई मार्दै, खाजा पानी खाँदै अगाडि बढ्छ । झमक्क साँझ परेपछि एउटा ठाउँमा रात कटाउने सुरसार हुन्छ ।

तब पो राजु सम्झन्छन्, आफ्नो गाउँ । आफ्नो घर । आफ्नी आमा । ‘आमा के गर्दै होलिन्’ सम्झेर राजुलाई रुन मन लाग्छ ।
रात पर्छ । खानपान गरेर सबै सुत्छन् । भोलिपल्ट धर्तीमा उज्यालो खस्न नपाउँदै फेरी यात्रा सुरु हुन्छ । उसैगरी ।
अर्को दिनको हिँडाई पछि बल्ल घाटखोला भेटिन्छ, जहाँबाट गाडी चढ्न सकिन्छ । सबैजना गाडी चढ्छन् । पहिलो पटक गाडीमा बस्दा, अझ झ्यालतर्फ बस्दा राजु दंग पर्छन् । झ्यालबाट देखिने दृश्यहरुमा एकोहोरिन्छन् । बाहिर देखिएका रुखहरु बिस्तारै पछाडितर्फ दौडिन थाल्छ, खोला, बाटो क्रमस पछाडि छाडिन्छ ।

अनि देखापर्छ समतल शहर । खचाखच घरहरु, ठेलामठेल मान्छेहरु, यत्रतत्र गाडीहरु । हो–हल्ला, भिडभाड, गतिशिल ।
‘पहिलो पटक काठमाडौं देख्दाको धमिलो स्मृति बाँकी छ’ राजु सम्झन्छन्, ‘त्यो पुरानो बसपार्क, अनि बौद्ध । त्यो बेला सबैकुरा मेलो लागि अनौठो थियो ।’

राजुलाई बौद्धस्थित दिदीको घरमा छाडेर बुवा गाउँ फर्कन्छन् । शहरको रमझममा हेलमेल हुन राजुलाई सहज छैन । गाउँमा उनले बोल्ने भाषा यहाँ धेरैले बुझ्दैनन् । अरुको कुरा उनले सजिलै बुझ्दैनन् । ‘मलाई त्यसबेला तामाङ भाषा मात्र आउने, पर्वते भाषा बोल्न नसक्ने’ राजु सुनाउँछन्, ‘मेरो फुपुका छोराहरु दौतरी थिए, उनीहरुसँग खेल्दा–बस्दा बोल्न सिकियो ।’

बौद्ध आसपास खुला । टाढा टाढासम्म खेतका फाँटहरु देखिने । त्यही टोलभरका केटाकेटी भेला हुने, उन्मुक्त खेल्ने । लेकको घरमा जस्तो यहाँ दुःख छैन । स्वाद फेरेर खान र सुकिलो लगाउन पुग्छ । तर, सम्पूर्ण रुपमा पुगिसरी पनि छैन ।

प्राथमिक तहको विद्यालय छ, बौद्ध बोर्डिङ । राजुलाई त्यही भर्ना गरिन्छ । बौद्ध आसपासका धेरै विद्यार्थी त्यही छन् । राजु बिस्तारै घुलमिल हुन्छन्, पढ्छन् ।

‘जाडो महिनामा मात्र छुटी हुन्थ्यो’ राजु सम्झन्छन्, ‘त्यसबेला घर जान पाइन्थ्यो । ढुक्कले एक÷दुई महिना घर बसिन्थ्यो ।’ घर छाडेर काठमाडौं फर्कन भने एकदमै नरमाइलो हुने । काठमाडौं आएपछि घरको, आमाको औधि याद आउँछ । घर फर्कौं–फर्कौं लाग्छ । शहरको रमझममा पनि मन न्यास्रो हुन्छ ।

तर, रहँदा बस्दा उनी त्यही परिवेशमा रमाउन थाल्छन् । साथीहरु थपिदै जान्छ । विद्यालयमै रमझम हुन्छ । कोही नाच्छन्, कोही गाउँछन्, कोही ख्याल ठट्टा गर्छन् । राजु गाउने–बजाउने कित्तामा लाग्छन् ।

‘गायक हुन्छु वा संगीतमा लाग्छु भन्ने कुनै योजना र उदेश्य थिएन’ राजु सुनाउँछन्, ‘रहरै रहरमा यता लागियो ।’
बाल्यकालमा कसैले सोधेनन्, ‘के बन्छौं ?’ उनले कहिल्यै सोचेनन्, ‘म के बन्छु ?’ तर, जीवनले आफै सूर–ताल पक्डियो । लय र धुन समात्यो । अनि पो, उनी गायक भए ।

……………….
जतिबेला गीति क्यासेटको युग थियो, त्यतीबेला राजु लामा थिए । त्यसपछि संगीतको ट्रेन्ड र बजार फेरिदै गयो । सिडी प्लेयर हुँदै औंलाभरको डिभाइसमा समेटिएको संगीत बजार एउटा तुफानी परिवर्तनबाट गुज्रिए । यो उतार–चढावले थुप्रै गायक–स्रष्टाहरुलाई गुमनाम बनाइदियो ।
राजु लामा अनि मंगोलियन हर्ट पनि अपवाद रहेन ।
क्यासेट युगको पटाक्षेपसँगै लाखापाखा लागेका मंगोलियन हर्ट अहिले फेरी तंग्रिएको छ । बोवी लामा, विनय महर्जन, सन्तोष थापा, बाबु राजा महर्जन, किरण नगरकोटी, पवन कपालीहरुले यसको स्पन्दन भरिरहेका छन् । र, उही र उस्तै गरी राजु लामा स्पट लाइटमा चम्कदैछन् ।
हिमालयन टेलिभिजनबाट प्रसारण हुने ‘द भ्वाइस अफ नेपाल’बाट उनले आफुलाई नविकरण गरेका छन् । गीत रेकर्डिङ र कन्सर्टले गति लिएको छ ।

यससँगै राजुको आफ्नो छुटै पारिवारिक संसारमा पनि रमाइरहेका छन् । अमेरिकामा उनकी जीवनसाथी र सानी छोरी छिन् । राजु कहिले काठमाडौं त कहिले अमेरिकामा ओहोर–दोहोर गरिरहन्छन् । मुड चल्दा घुम्न निस्कन्छन् । घुम्नु उनको सौख हो ।

बेपर्वाह, विन्दास पैदल यात्रा गर्दै कहिले हिमाली टाकुराको नजिक पुग्छन्, कहिले भिरालो गल्छीहरुमा । यो अविछिन्न यात्रा जारी छ, उनको गायकी जस्तै ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार