प्राधिकरणका प्रमुख भन्छन्, ‘अघोषित लोडसेडिङ छैन’


इलामको ग्रामिण भेगमा अघोषित लोडसेडिङ छ । धेरैजसो समय बत्ती नआउने स्थानियबासीहरुको गुनासो छ । दिनमा पटक–पटक बत्ती जाने, राती प्राय बत्ती नआउने जस्ता उनीहरुको भनाई छ । यसले दैनिक जन–जीविकालाई प्रत्यक्ष असर त गरेको छ नै, घरेलु तथा ठूला उद्योग–कारखानाहरु ठूलो मारमा छ । बिजुली आपूर्ति अनियमित हुँदा दिनमै लाखौंको चिया नष्ट हुने गरेको चिया उद्यमीहरुको भनाई छ ।
कुलमान घिसिङको कार्यकालमा जस्तोसुकै अवस्थामा पनि विद्युत आपूर्ति सहज र सूचारु थियो । तर, अहिले बिना सूचना पटक–पटक बिद्युत आपूर्ति बन्द हुँदा स्थानीयबासीहरु हैरान छन् । अहिले मात्र नभएर महिनौदेखि प्राधिकरणले यस्तै खेलाँची गरिरहेको बताइन्छ । यसै सन्दर्भमा विद्युत प्राधिकरण इलाम शाखाका पंकज गोइतसँग गरिएको कुराकानी ।

इलाममा सबै खोलानालाबाट जलविद्युत आयोजना सञ्चालनमा छ । तैपनि इलामका बासिन्दा अँध्यारोमा बस्नु परिरहेको छ । किन यस्तो समस्या भएको हो ?

इलाममा विद्युत आपूर्ति नियमित नै छ । त्यस्तो कुनै गडबढी छैन । सबै राम्रै छ ।

तर, ग्रामिण क्षेत्रमा त बिजुली नै आउँदैन भन्ने गुनासो व्यापक छ ?

कुन क्षेत्रमा विजुली गएको हो भन्ने हामीलाई जानकारी भएन ।

प्राधिकरणमा जानकारी गराउँदा पनि कुनै सुनुवाई भएन भनिन्छ नि ?

बिजुली गएको छैन, सामान्य प्राविधिक समस्याले कहिले काहीँ बिजुली जान सक्छ । अरुबेला नियमित रुपमै बिजुली आइरहेको छ ।

किन स्थानियवासीले त्यस्ता गुनासो गरेका होलान् त ? के उनीहरुले झुट बोलेका हुन् ?

अहिले हुरी बतास र झरीले गर्दा पोल ढल्ने, ट्रान्सफरमर पड्कने गर्छ । इलामको धेरै गाउँहरुमा पक्की पोल छैन । काठको पोलमा तार टाँगिएको छ । यस्तो पोल ढलेर कहीँ कतै बिजुली गएको हुनसक्छ ।

भनेपछि हामीसँग बिजुली बनाउने प्राविधिक जनशक्ति छैन हो अहिले ?

हामीसँग प्राविधिक जनशक्ति छन् । तर, अहिले कोरोना र लकडाउनले गर्दा गाडी चलेको छैन । हिँड्दै जाँदा दुई, तीन घण्टा लाग्ने भएकाले कति ठाउँमा भन्नसाथ बिजुली बनाउन पाइएको छैन ।

स्थानीयवासीले त अघोषित रुपमा लोडसेडिङ छ भनिरहेको छ । सूचना नै जारी गर्न नसकिएको हो ?

सबै ठाउँमा बत्ती बलिरहेको छ । कुनै समस्या छैन । लोडसेडिङ भएको होइन ।

कुलमान घिसिङको कार्यकालमा यस्तो समस्या थिएन । अहिले फेरी किन यस्तो भयो ?

उहाँ हुँदा पनि हामीले त्यही काम गरिरहेका हौं । काम गर्ने मान्छे पनि उत्तिनै हो । उहाँ हुँदा र अहिलेमा खासै फरक छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार