आहा ! पाटेनागी ! पुग्नै पर्ने ठाउँ

  आवाज संवाददाता

तस्बीरहरु: ठाकुरनारायण श्रेष्ठकाे फेसबुकबाट

पुवामझुवा । जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकीय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकीय क्षेत्र चर्चामा छन् त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थल भएपनि चर्चामा आउन सकेका छैनन् । पर्यटकीय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन् । तर एक पटक पुगेको मान्छे पटकपटक जाने गर्दछ ।

तीन हजार मिटरको उचाईमा रहेको यस क्षेत्रबाट चाँदीझैँ टलकिएका हिमालको दृष्यावलाेकनकाे रमाइलाेसँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँबाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने तथा सूर्योदय र साविक पूर्वाञ्चलका धेरैजसो भूभाग नियाल्न सकिन्छ ।

तस्बीरहरु: ठाकुरनारायण श्रेष्ठकाे फेसबुकबाट

यस ठाउँमा पुग्नका लागि पदमार्गबाट पनि पुग्न सकिन्छ । भरखरै नगरपालिकाले यहाँसम्म पुग्नका लागि सडक निर्माण गरेकाे छ । यसले गर्दा प्रकृतिसँग रमाउनेहरुलाई पाटेनागी पुग्न सहज भएकाे छ ।  यस क्षेत्रमा विभिन्न प्रकारका पाहा, जंगली जनावार, फूल र जडिवुटीसमेत पाइने गरेको छ । पाटेनागी आसपास कुहिभीर, नागढुङ्गालगायत रमणीय ठाउँ छन् । मेची हाइवे नखुल्दासम्म पाँचथर र ताप्लेजुङ जाने बाटो यहीबाट रहेको जानकार बताउँछन् ।

यो क्षेत्रमा ठूलो चौर (नागी) रहेकाले यस स्थानको नाम पाटेनागी रहेको हो । यसक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत बैशाखको समयमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खेको मानेभञ्ज्याङसम्म गुराँसको जंगल छ । फरकफरक रंगमा फुलेका गुराँसले जता हेर्यो उतै रातम्ये देखिएपछि त्यहाँ पुग्नेहरू दंग पर्छन् । नयाँ प्रजातिका पाहा पाटेनागी नजिकैको गँगटे पानीमा छ । यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायत खोलाहरूको उद्गम स्थलरहेको स्थानीय सोम सुनुवार बताउँछन् ।

  यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोलालगायत खोलाहरूको उद्गम स्थलरहेको स्थानीय सोम सुनुवार बताउँछन् ।

यसठाउँमा विश्वमै दुर्लभ मानिएका रेडपाण्डा (हाब्रे), थार, ध्वाँसे चितुवा, सालक, चरीबाघ, राजपंखी, कालो भालु, ओत, अजिङ्गर, व्वाँसो लगायतका वन्यजन्तु, मुनाल, काँडेभ्याकुर, गिद्ध, चिल, उल्लु, द्व पिउरा, हुचिल, सिमकुखुरा, कालिज, लामपुछ«े, कल्चौंडे, काकाकुल, श्वेनबाज, न्याउली, राज धनेश, वनचाहा, भुँडीफोर गरुड लगायतका चराचुरुङ्गीहरु, धेरै प्रजातीका पुतली र किराहरु, पानीगोहोरो, पाहा लगायतका उभयचरहरु, विभिन्न प्रजातीका लाँली गुराँस, चाप, चिमाल, लौठ सल्ला, साल सिसौ, सुनाखरी, गलैंचे झ्याउ लगायतका वनस्पतिहरु, चिराइतो, पाँचऔले, विष, विख्मा, पदमचाल, पाखनवेत, जटामसी, ठूलो ओखती, सर्पगन्धा, खनक्पा, वनमुला, चिङफिङ लगायतका सयौं प्रजातीका जडिबुटीहरु पाइन्छन् । यसका अतिरिक्त थुप्रै प्रजातीका फिरन्ते प्राणी र वनस्पतिहरुका लागि इलाम उपयुक्त वासस्थानका रुपमा रहँदै आएको छ । चिसो हावा, हरीयाली वनजँगल र विभिन्न प्रजाती चराचुरुङ्गी र जँगली जनावरको पनि अवलोकन गर्न पाइन्छ ।

तस्बीरहरु: ठाकुरनारायण श्रेष्ठकाे फेसबुकबाट

इलामको साविकका चमैता, पुवामझुवा, माइपोखरी, पाँचथरको पौवासारताप, रानीटार र लुङरूप्पा गाविसले छोएको यस स्थान हाल इलाम नगरपालिका ३ पुवामझुवामा पर्दछ । इलामको सदरमुकामवाट ४० किलोमिटर पर्दछ भने र इलाम नगरपालिकाको बागखोर बजारबाट ६ किलोमिटरको कच्ची सडकको यात्रापछि पाटेनागी पुग्न सकिन्छ ।

तस्बीरहरु: ठाकुरनारायण श्रेष्ठकाे फेसबुकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार