भाेलिदेखि जाेन्सनकाे खाेप, कुन वडामा कति खाेप ?

इलाम । इलाम नगरपालिकाका सबै वडाहरुमा भोलिदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयले तीन दिन खोप लगाउने तालिका बनाए पनि खोप अभावका कारण साउन २२ र २३ गते मात्र वडाहरुमा खोप लगाइने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । भेरोसेल खोप पनि स्वास्थ्य कार्यालयले तीन दिन दिने तालिका सार्वजनिक गरेको थियो । तर, खोप नपुगेपछि दुई दिनमै खोप कार्यक्रम स्थगित गरिएको थियो ।

जोन्सनको खोप पनि सीमित मात्र आएकाले मापदण्ड अनुसारका ५० देखि ५४ वर्षका नागरिक, अपाङ्गता भएकामा पूर्ण अपाङ्गता भएका (रातो कार्डवाला) र अति अशक्त आंशिक ( निलो कार्डवाला) तथा विदेश जानका लागि भिसा आएकाहरुलाई मात्र खोप लगाइने प्रमुख बस्नेतले बताए ।

संक्रमण बढ्दै गएकाले नागरिकले खोपको ब्यग्र प्रतिक्षा गरिरहेको तर सरकारले सीमित मात्र खोप पठाएकाले तोकिएको वर्गलाईनै खोप अभाव रहेको पनि उनले बताए । उनले भने, ‘चाडो खोपको प्रबन्ध गर्न संघीय सरकारसँग आग्रह गर्दछौं ।’
यसअघि नगरमा चार हजार आठ सय ८६ जनालाई भेरोसेल र तीन सय ९५ जनालाई जोनसोनको खोप लगाइएको थियो ।

कुन वडामा कति खोप ?

इलाम नगरपालिकाका १२ वडाहरु मध्ये इलाम नगरपालिका वडा नं. ७ मा जोनसोनको खोप पनि दिइसकिएको छ । बाँकी ११ वटा वडाहरुमा साउन २२ र २३ गते खोप लगाइने भएको छ ।

जोनसोनको खोप इलाम नगरपालिका वडा नं. १ मा २०८ जनालाई, वडा नं. २ मा १४२ जनालाई, वडा नं. ३ मा १५७ जनालाई, वडा नं. ४ मा १६९ जनालाई, वडा नं. ५ मा २७१ जनालाई, वडा नं. ६ मा १९६ जनालाई, वडा नं. ८ मा २०५ जनालाई, वडा नं. ९ मा २९६ जनालाई, वडा नं. १० मा २५२ जनालाई, वडा नं. ११ मा २२१ जनालाई, वडा नं. १२ मा २१२ जनालाई खोप लगाइने नगरपालिकाले जानकारी दिएको छ । इलाम नगरपालिका वडा नं. ७  मा ३९५ जनालाई यसअघिनै खोप दिएको छ ।

अघिल्लोमा छुटेकाले यस पटक पनि लगाउन नपाउने

यसअघि तोकिएका उमेर समूह र तोकिएका वर्गले यस पटक पनि खोप लगाउन नपाउने भएका छन् । यसअघि भेरोसेल खोप ५५ वर्ष उमेरदेखि माथिका, शिक्षक, सार्वजनिक यातायातका चालक, सहचालक र अत्यावश्यक सेवामा संलग्नलाई लगाइदिने भनिए पनि खोप अभावले उक्त समूहका अधिकांश खोप लगाउनबाट वञ्चित भएका छन् । जोन्सन खोप लगाउन पाइने आशामा बसेका उनीहरुले जोन्सनको खोप सीमित भएपछि लगाउन नपाउने भएका हुन् ।

खोप असमान वितरण

सरकारले भेरोसेल खोप ५५ वर्षभन्दा माथिका सबैलाई, शिक्षक, सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक र अत्यावश्यक सेवामा खटिने सबैले खोप लगाउने भनेको थियो । तर, इलाममा भने खोप वितरण असमान भएपछि कतिपय पालिकाका वडाहरुमा ५५ वर्षका माथिका नागरिकले पनि खोप लगाउन पाएनन् भने कतिपय वडा र पालिकाहरुमा शिक्षक, चालक सहचालक सबैले खोप लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार