इलाम नगरपालिका लैङ्गिक समानतामा जाेड दिँदै, अब नगरकाे १७ विद्यालकाे अध्यक्षमा महिला

इलाम । शिक्षा क्षेत्रमा लैङ्गिक सहभागिता बढाउन इलाम नगरपालिकाले शिक्षा (सातौं संशोधन) नियमावली ०७८ जारी गरेको छ ।

बुधबार नगरपालिका स्थित कार्यपालिका बैठकले शिक्षा नियमावली संशोधन सहित पारित गरेपछि इलाम नगरपालिकाका विद्यालय व्यवस्थापन समितिमा पनि महिला नेतृत्व ल्याउन बाध्यात्मक अवस्था सृजना गरेको छ ।

यसअघि नगरक्षेत्र भित्र रहेका ४९ विद्यालयको व्यवस्थापन समिति मध्ये वाड–५ मा एक र वडा–६ मा एक गरि दुईवटा विद्यालय व्यवस्थापन समितिमा मात्र महिला अध्यक्ष थिए । शिक्षा नियमावली लागू भएपछि १७ वटा विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष महिला चयन हुनेछन् । ‘समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिला सहभागिताको सुनिश्चित गर्न हामीले शिक्षा नियमावलीको सातौंै संशोधन गरेर महिला सहभागिता होइन महिला नेतृत्व स्थापित गर्ने लक्ष्यमा छौं ।’ बस्नेतले भने ‘अहिले पनि नगरपालिकाको शिक्षा क्षेत्र, जनप्रतिनिधि र कर्मचारीको संख्या हेर्दा तुलनात्मक रुपमा राम्रै उपस्थिति छ ।’

नगरपालिकाको तथ्याकं अनुसार शिक्षा क्षेत्रमा उच्च मावि २ महिला र १५ पुरुष, माविमा १२ महिला र ४२ पुरुष , निमाविमा १९ महिला र ५३ पुरुष, प्राथमिक तहमा १०५ महिला र ११८ पुरुष र पूर्वप्राथमिकमा ६८ महिला र २ पुरुष शिक्षक रहेका छन् भने विद्यालय कर्मचारीमा ३० महिला र ३२ पुरुष गरि जम्मा २३७ जना महिला शिक्षक रहेका छन् । सोही तहमा पुरुष शिक्षकको कूल संख्या २६२ रहेको छ । यस्तै ६४ जना जनप्रतिनिधि रहेको नगरपालिकामा २४ जना महिला जनप्रतिनिधि छन् । जनप्रतिनिधिमा पुरुषको संख्या ४० जना रहेको छ ।

नगरपालिकाको कर्मचारी तर्फ पनि स्थायी, र करार गरि २४९ कर्मचारीमा ८८ जना महिला कर्मचारी र १६१ जना पुरुष कर्मचारी रहेका छन् । अब विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा नगरपालिकाबाट निर्माण हुने विभिन्न समितिहरुमा महिला नेतृत्व स्थापित गर्दा महिला र पुरुषको सहभागिता बराबरी बनाउने लक्ष्य रहेको बस्नेत बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार