महाधिवेशनका सबै कार्यक्रम स्थगित गर्न नेपाल पक्षको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गर्न माग गरेको छ । नेपाल पक्षको बिहीबार बसेको बैठकले पार्टी एकताबद्ध बनाउने विषयमा गृहकार्य जारी रहेकै बेला महाधिवेशनका कार्यक्रम स्थगित गर्नुपर्ने माग अघि सारेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको हालै बसेको बैठकले भने विधान अधिवेशन, वडा तथा पालिका अधिवेशन कार्यक्रम सार्वजनिक गरिसकेको छ । बैठकमा सहभागी स्थायी कमिटी सदस्य रघुजी पन्तले पार्टी एकताबद्ध बनाउने गृहकार्य भइरहेकै बेला महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गर्नुपर्ने निष्कर्ष बैठकको रहेको जानकारी दिए ।

बैठकले एकताका लागि वार्तालाई निरन्तरता दिने निष्कर्षसमेत निकालेको छ । दुई समूहमा विभाजित एमाले एकताबद्ध बनाउन दोस्रो तहका नेता निरन्तर छलफलमा छन् । नेपाल पक्षको बैठकले अध्यक्ष ओली पक्षसँगको वार्तालाई निरन्तरता दिँदै पार्टी एकताबद्ध बनाउने निष्कर्ष निकाल्दै छलफल जारी राख्ने पन्त बताउँछन् ।

नेपाल पक्षबाट विगठित कार्यदल संयोजक उपाध्यक्ष डा भीम रावलले अहिलेसम्म भएको औपचारिक÷अनौपचारिक छलफलबारे जानकारी गराएका छन् । १०बुँदे सहमतिको जगमा पार्टी एकताबद्ध बनाउन सकिने रावलले बैठकमा सहभागी केन्द्रीय सदस्यलाई जानकारी गराएका छन् ।

ओली–नेपाल विवाद बढ्दै गएपछि पार्टी फुट संघारमा पुगेको छ । दुई समूहमा विभाजित एमाले नेता एकताका लागि दोस्रो तहका नेताले दबाब दिँदै आएका छन् । अगामी रणनीतिबारे बैठकमा छलफल गर्दै पार्टी एकताबद्ध बनाउनेबारे नेताहरूले धारणा राखेको पन्तले बताए । केन्द्रीय कमिटी बैठक आज शुक्रबार पुनः बस्ने छ ।

यसअघि, बसेको स्थायी कमिटी बैठकमा एमाले नेता मेटमणि चौधरीले अध्यक्ष ओलीकै कारण पार्टी एकताबद्ध हुन नसकेको बताए । पार्टीलाई सुरुदेखि नै एकताबद्ध हुन नदिन अध्यक्ष ओली लागिपरेको उनको आरोप छ । एमालेलाई सही दिशामा अघि बढाउन अध्यक्ष ओलीले राजीनामा दिएपछि एकताबद्ध हुने विश्वास उनको छ ।

नेकपा त्यसपछि एमाले विभाजन गर्ने मुख्य योजनाकार नै ओली भएको बताउँदै उनले ओलीले पार्टी एकताबद्ध गर्न नसकेको आक्षेप लगाए । ‘केपी ओली अब बैलगाडा चुनाव चिह्न लिएर अगाडि बढछन् र आफ्नो पार्टीको नाम नेकपा ९केपी ओली० राख्छन्,’ चौधरीले भने, ‘सुरुदेखि नै ओलीको चाहना एमाले एकताबद्ध नहोस् नै रहेको बुझेका छौं ।’

बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने अडान राखेका छन् । आफूहरू पार्टीलाई एकताबद्ध बनाउन तयार रहेको बताउँदै उनले कुनै पनि जालझेलमा नपरी सम्मानजक एकता गर्नुपर्ने पक्षमा आफू रहेको प्रस्ट पारे । अन्तिम अवस्थासम्म पार्टी एकताका लागि छलफल जारी नै राख्ने बताउँदै उनले अहिलेसम्म भएका वार्ताबारे जानकारी गराएको केन्द्रीय सदस्य दिलु पन्तले बताइन् । समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार