स्थानीय तहहरुले कृषि यान्त्रीकरणमा प्राथमिकता दिंदै

इलाम। परम्परागत खेती प्रणालीलाई निस्तेज पार्दै व्यवसायिक कृषि उन्मूख गराउन इलामका स्थानीय तहहरुले कृषि यान्त्रिकरणलाई प्राथमिकता दिन थालेका छन् । खेतबारी जोत्ने ट्याक्टर, मिनि ट्रिलर, घाँस काट्ने मेसिन जस्ता यन्त्रहरुमा स्थानीय तहहरुले लागत सहभागीता र अनुदानमा किसानलाई उपलब्ध गराउन थालेका छन् ।

स्थानीयतहले आ–आफ्ना कृषि कार्यक्रम अन्तर्गत किसानमुखी कार्यक्रम गर्न थालेका हुन् । खेती लगाउन श्रमशक्ति अभाव भएसँगै किसानले माग गरेअनुसार कार्यक्रम तय गरिएको स्थानीय तहहरु बताउँछन् । इलाम नगरपालिकाले गएको वर्ष ५३ वटा हाते ट्याक्टर ५० प्रतिशत अनुदानमै वितरण गरेको नगरपालिकाको कृषि शाखा प्रमुख उपेन्द्र नेपालले जानकारी दिए । इलाम नगरपालिकाका वडा कार्यालयहरुले पनि यो वर्ष कृषिका लागि छुट्टिएको बजेटबाट किसानको आवश्यकता र माग अनुसार हाते ट्याक्टर उपलब्ध गराएका छन् ।

इलाम नगरपालिका– ५ ले किसानलाई १५ वटा हाते ट्याक्टर उपलब्ध गराएको छ । ‘खेती गर्न कसो गर्दा सहज हुन्छ, किसानले थोरै श्रम र पैसा खर्च गरेर धेरै उत्पादन गर्न चाहिरहेका छन् ।’ वडा– ५ का वडाध्यक्ष ठाकुर श्रेष्ठले भने ‘उनीहरुले माग राखे अनुसार वडा कार्यालयले सहयोग गरेको छ ।’ इलाम नगरपालिका– ४ ले पनि वडा कार्यालय आफैंले पाँचवटा, नगरपालिका कार्यालयबाट चार वटा र थप तीन गरि १२ वटा मिनि टिलर किसानलाई उपलब्ध गराएको छ । ‘हल गोरु लगाएर खेतबारी जोत्न र ट्याक्टरको सहायताले जोत्नमा किसानलाई आर्थिक पाटोमा पनि धेरै अन्तर पर्दो रहेछ ।’ वडाध्यक्ष नुतनदेव दुलाले भने‘ हाते ट्याक्टरले गरिरो गरि मसिनो जोत्ने र हिउँदको समयका सुख्खा बारीमा पनि डल्ला कम हुनेहुँदा उत्पादन किसान यान्त्रीकरणमै आकर्षित भएका छन् ।’ किसानको माग अनुसार वडा कार्यालय आफैंले पनि हाते ट्याक्टर किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको दुलालको भनाइ छ ।

गतवर्षदखिनै किसानलाई हाते ट्याक्टर उपलब्ध गराउँदै आएको सूर्योदय नगरपालिकाले यसपटक पनि हाते ट्याक्टरको कार्यक्रमलाई निरन्तरता दिएको छ । सूर्योदयले कृषिमा यान्त्रीकरण कार्यक्रम अन्तर्गत ४३ वटा हाते ट्याक्टर वितरण गरेको जनाएको छ । नयाँ आर्थिक वर्षका लागि पनि करिब १५ करोड रुपैयाँ बिनियोजित गरेको सूर्योदयले अब चिया टिप्ने र चिया काट्ने मेशिनका लागि पनि किसानलाई अनुदानको कार्यक्रम ल्याउने प्रयास गरिरहेको नगरपालिका स्थित आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताए ।

कृषि र युवा स्वरोजगारलाई प्राथमिकता दिंदै आएको रोङ गाउँपालिकाले पनि २१ वटा साना हाते ट्याक्टर किसानलाई वितरण गरेको छ । ७५ प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला राई बताउँछिन् । रोङले गतवर्षनै १८ हर्च पावरको एउटा ट्याक्टर, त्यो सँगै जडान हुने रोटा भेटर र कल्टी भेटर रोङ– २ को समुनत कृषक समुहलाई उपलब्ध गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार