कन्याम चिया बगानको विषादी भण्डार सिल


इलाम । स्थलगत अनुगमनका क्रममा कडा किसिमको विषादी प्रयोग भइरहेको पाइए पछि कन्याम चिया बगानको विषादी भण्डारमा सिल गरिएको छ ।

नेपाल चिया तथा कफी विकास वोर्ड र सूर्योदय नगरपालिकाको अनुगमन टोलीले विषादी भण्डार घरमा सिल गरेको हो । सिल पछि सूर्योयद वडा नम्बर– ७ ले तीन दिन भित्र सूर्योदय नगरपालिकामा उपस्थित हुन बगान व्यवस्थापन पक्षलाई पत्र थमाएको छ ।

वोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद भट्टराईसहितको टोलीले अनुगमन गर्दा प्रतिबन्धित राउण्डअफसहितका विषादीहरु प्रयोग गरिरहेको र भण्डारन समेत गरेको पाइएको सूर्योदयन गरपालिका स्थित चिया विस्तार आयोजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले बताए । ‘त्यहाँ प्रयोग भइरहेका विषादीहरु प्रयोग गरेपछि कम्तिमा २१ दिन देखि २८ दिन पर्खनु पर्ने हुन्छ । तर चिया सात–सात दिनमा मूना टिप्नु पर्ने हुन्छ ।’ अधिकारीले भने ‘अब एग्रोभेटहरुमा पनि अनुगमन गरेर विषादीको प्रयोग निस्तेज पार्ने लक्ष्यमा छौं ।’

नेपालमा करिब एक हजार चार सय प्रकारका विषादी सूचीकृत भएका छन् । त्यसमध्ये क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेक्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फर्फामिडन, अर्गनोमर्की, मिथायल पाराथायन, मेनोक्रोटोफस र इन्डोसर्फान र फोरेट भने प्रतिबन्धित छन् ।

विषादीका कारण मानवमा तत्काल असर मुर्छा पर्ने, झाडा पखाला, कम्पन, दृष्टि कमजोर तथा मृत्यु हुने सम्मका घटना हुने जनाइएको छ । विषादीका कारण लामो समय पछि देखिने असरमा अन्धोपन, क्यान्सर, ट्युमर, नपुंसकता, बाँझोपना, विकृत बच्चाको जन्म, नशा सम्बन्धी समस्या, पक्षघात जस्ता समस्या हुने गरेको विशेषज्ञहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार