इलाममा कृषि क्याम्पस भन्ने शीर्षकको लेखले उब्जाएको तरङहरूः एक विष्लेषण

मिति २०७८।०४।१५ गतेको इलाम आवाज अनलाईनमा ‘इलाममा कृषि क्याम्पस’ नामक आलेख प्रकाशित  भएपछि विद्वान विदूषीहरूबाट सोही लेखको पाद खण्डमा विभिन्न प्रतिकृयाहरू  व्यक्त  भएका छन् । यसमा इलाममा कृषि क्याम्पस आवश्यक छ, स्वागतयोग्य छ भन्ने धेरैको अभिमत छ, भने केहीले फरक मत जाहेर गर्नु भएको छ । वाद, विवाद र संवादले नै हामीलाई तत्व वोध गराउछ भन्ने हाम्रो बुझाइ छ । जसमा एक दुई जनाले आफ्नो फेसबुकवालमा र एक दुईजनाले  इलाम आवाजमा छुट्टै शीर्षकमा प्रतिकृया व्यक्त गर्नुभएको छ । अलग अलग स्थानमा रहेका उक्त प्रतिकृयाहरू उपर एकमुष्ट रुपमा प्रष्ट पार्न उपयुक्त हुने ठानी यो अर्को आलेख तयार गरी क्रमशः विश्लेषण गरेको छु ।

(क) डा. देवी क्षेत्री दुलालले ध्यानपुर्वक तपाईंको विचार पढेँ ।सोच राम्रै हो तर नगरपालिका यो नेत्तृत्व र यसको क्षमतामा सम्भव छैन ।हर्टी- फ्लोरीको अर्को कलङ्क वहन गर्ने दुस्साहस नगरेको राम्रो सर!!! भन्नु भएको छ । देवीजी ! पूर्वी पहाडी क्षेत्रको कृषिलाई विकास गर्न कृषि विज्ञानको कलेजको आवश्यकता महशुस गर्नु भएपछि  चुपचाप बस्नु भन्दा उपायको खोजी गर्नु वेश होइन र ? यस भौगिलिक क्षेत्रमा नाफा तत्काल नहुने भएकोले निजी लगानीकर्ताले कृषि  कलेजको स्थापना गर्न लगानी गर्दैन, गरेमा शुल्क चर्को हुने हुँदा सर्वसाधारणले पढन सक्दैन । सरकारले आङ्गिक कृषि कलेज लरतरो पाराले खोल्दैन । इलाम नगरपालिकाको सदुपयोग नभईरहेको जमीन छ, भवन छ , र यसलाई सदुपयोग गरेर कृषि क्याम्पस खोल्छौ, चलाउँछौ भनी इनपामा जननिर्वाचित प्रतिनिधिहरूले सर्वसम्मतले निर्णय गर्छन् भने हामीले यो जनताको निर्णय हो भन मान्नु नै पर्छ होइन र ? राजनीतिशास्त्रको सिद्धान्तले त यही भन्छ । हर्टी -फ्लोरी कलङ्कयुक्त भएको छैन डा. साब ! हरेक नवीन कार्यले भइरहेको सन्तुलन खलबल्याउछ र माथिल्लो स्तरको सन्तुलन प्राप्त गर्छ । आर्थिक विकासको सिद्धान्तले यही कुरो बताउछ ।  केही तरिका पुर्याएमा हर्टी -फ्लोरी कलङ्क युक्त  हुदैन । जोखिम त जहाँ पनि हुन्छ नि, जोखिम छ भन्दैमा भाग्न पनि त भएन ।

(ख) आफ्नो वालमा अरूण नेपाल लेख्नु हुन्छ ‘पहिले इलाममा शुरु भएको वागवानी विषय अध्ययन पूरा गरेका वा पूरा गर्ने क्रममा रहेका विद्यार्थीको भाग्य र भविष्य सुनिश्चित गर्न पाए अब स्थापना हुने नयाँ कृषि क्याम्पसप्रति समेत थप जनविश्वास आर्जन हुनसकी इलाममा हुने कृषि सम्बन्धी अध्ययन अध्यापन थप प्रभावकारी बन्न सक्थ्यो कि सर!’

मरब क्याम्पसको हर्टिकल्चरको समस्या समाधान हुनु पर्छ , यसमा म पनि अरूणजी सँग सहमत छु तर  सवाल पहिलो र दोस्रो को होइन , मरब क्याम्पसको हर्टिकल्चरको समस्या समाधान गर्न कुनै भद्रो हेरीरहनु पर्दैन, समस्या समाधानको पहल गरि नै हाल्नु पर्छ । यति हो गाडी कुन दिशा र कति गतिमा दौडाउने भन्ने जिम्मा चालकमा रहनेले हुनाले उसैले तय गर्नुपर्छ । गोल पोष्टमा गोल छिराउने हैसियत रिङ भित्रका खेलाडीले मात्र राख्दछ , रिङ बाहिरकाले त हुटिङ मात्र गर्ने हो । हर्टिकल्चरमा नयाँ भर्ना शून्य भई उत्पन्न समस्या उपर र  मरब क्याम्पसको हर्टिकल्चरको विद्यार्थीले जागिर नपाएको समस्या समाधानार्थ क्याम्पस प्रशासन, कार्य समिति, सञ्चालक समितिले पहल गरिरहनु भएको होला र सरोकारवालाहरूसँग पनि विमर्श गरिरहनु  भएकै होला । सो सम्बन्धमा मलाईभन्दा तपाईलाई नै बढी थाहा हुनु पर्ने हो । मरब क्याम्पसको हर्टिकल्चरको प्रोगाम र इनपाले सञ्चालन गर्ने भनेको कृषि क्याम्पस Mutually Exclusive Event होइन । इनपाले सञ्चालन गर्ने भनेको कृषि क्याम्पसले कृषि विज्ञानको सवै विषय समेटेको हुन्छ भने मरब क्याम्पसको हर्टिकल्चरले कृषि विज्ञानको एक विषय मात्र समेटेको छ । अर्थतन्त्र पूर्ण रोजगारीको अवस्थामा पुगेको छैन भने ( नपुगी रहेको अवस्थामा )अरू कसैलाई अहित नहुने गरी, कसैको हित बृद्धि गर्ने गरी साधन र स्रोतको व्यबस्थापन गर्न सकिन्छ , यसलाई Pareto improvement  भनिन्छ । ( A Pareto improvement said to occur when at least one individual becomes better off without anyone becoming worse off.)

कृषि स्नातकको आपूर्ति  माग बमोजिम नभइरहेको वर्तमानमा दुवै संस्थाहरू सक्षमताका साथ सञ्चालन गर्न सकिन्छ ।

(ग) इलाम आवाज अनलाईनमा १८ श्रावण २०७८ मा प्रकाशित देवराज खनालको “इलामले बुझ्न नसकेको प्राविधिक शिक्षा” नामक शीर्षकको लेखले उठाएको केही भ्रमका बारेमा प्रष्ट पार्न जरूरी भएकोले यो टिप्पणी पेश गर्दछु । देवराज खनाल मरब क्याम्पसका हर्टिकल्चर फ्लोरीकल्चर एन्ड म्यानेजमेन्टका पहिलो वर्ष २०६९ मा भर्ना भई ,उत्तीर्ण गरी हाल अमेरीकाको डकोटा स्टेट युनिर्भसिटीमा अध्ययनरत भन्ने हवाला देखिन्छ । उनको उक्त लेख पढ्दा देवराज खनाल महाभारत ग्रन्थको एक पात्र अभिमन्यु झैं लाग्दछ । जसलाई चक्रब्यूह तोडने विद्या आमाको गर्भमा नै जानकारी हुन्छ, बाबु अर्जुनले आमालाई बताइ दिएकोले तर यो कलियुगमा दिव्य बालक अभिमन्यु त यी पक्कै होइनन् जसलाई  मरब क्याम्पसमा भर्नाहुनु पूर्व नै भर्नाका बखतका सवै कुरा थाहा हुन सकोस् । यसर्थ उनीलाई  शिखण्डी बनाई लुँगेली उपर भ्रमको बाण अर्जुनहरूले बर्षाईरहेका छन् भन्ने बुझ्न कठिन छैन । किनकि स्वायत्ता, न्यू विन्डो प्रोग्राम, हर्टिकल्चर फ्लोरीकल्चर एन्ड म्यानेजमेन्टको पाठ्यक्रम निर्धारण, जग्गा भवन खरिद, निर्माण, कम्प्यूटरको तालिम, सेमीनार गोष्ठी लगायत नयाँ -नयाँ कार्यक्रमहरूको शसक्त विरोध गर्नेहरू मरबमा हिंजो थिए, सो बखत उनीहरू सामने नै आउथे । अहिले भुमिका फेरिएकोले सिधै आउँन कठिन भईशिखण्डीको सहारा लिन पुगेका छन् भन्ने प्रष्ट देखिन्छ । सो लेखले छर्न खोजेको भ्रमलाई निम्न बमोजिम बदर बातेल गर्दछुः-

  • विद्यार्थी कोटा २४ भनिएको छ सो होईन २५ हो ।
  • पाठ्यक्रम सिक्किम विश्वविद्यालयको हुबहु साभार भनिएको छ, सो होइन । काठमान्डौमा विज्ञहरूको पटक पटक सेमीनार आयोजना गरी अलग अलग विज्ञले पाठ्यक्रम तयार गर्नु भएको हो । यसको प्रमाण क्याम्पसमा निजहरूले दिनु भएको प्रतिवेदन सुरक्षित हुनु पर्छ , केही श्रब्यदृष्य अभिलेख मसँग सुरक्षित छ ।
  • IAAS र  AFU को विवादको बहानामा  चोर बाटोबाट IOST को सम्बन्धन लिएको भन्ने आरोप निराधार हो । कोर्स तयार त्रि वि प्रज्ञिक परिषदमा स्वीकृतिका लागि पेश भएको बखत सम्ममा IAAS  र  AFU को विवाद उत्पन्न भएको थिएन, पछि भएको हो  । खासमा अटोनमीको रुल बमोजिम कोहीबाट सम्बन्धन नलिई एकेडमीक अटोनमीको अधिकार अख्तियार गरी यो नयाँ कार्यक्रम चलाउनु पर्ने थियो, गल्ती यही नेर भएको हो । यसो गर्न सकिने थियो तर यसो गर्न दिइएन,बारंबार अवरोध  भइरह्यो।
  • जहाँसम्म उद्यमी बनाउँने लक्ष्यलाई हास्याँस्पद भनिएको छ । हो यस्तै सोचाईले गर्दा नेपालको कृषि लगायत समग्र क्षेत्रको विकासमा बाधा परेको हो । राज्यले कृषि , स्वास्थ्य लगायत प्राविधिक विषयहरूको स्नातक उत्पादन गर्न ठुलो रकम लगानी गर्ने, उत्पादित स्नातकको ध्यान सम्वन्धित सामाजिक अर्थतन्त्रसँग नजोडिने , प्रमाणपत्र हात परे पछि युरोप, अमेरीका, अष्ट्रेलियाका देशहरुतर्फ जाने प्रयास गर्ने, जाने, उतै बस्ने , जान नपाएमा सरकारी गैह्रसरकारी नोकरीमा लाग्ने, यता कृषकहरू आधुनिक कृषि प्रणाली, प्राविधिक ज्ञान सीपप्रति बेखबर रही परम्परागत कुटो कोदालो गरी निर्वाहमुखी किसानी गरिरहने भएकोले कृषि अर्थतन्त्रको वान्छनीय प्रगति हुन नसकेको हो । नेपाली जनताको करबाट सङ्कलित राजस्व खर्च गरी उत्पादित स्नातक जनशक्ति आफ्नै देशमा योगदान नगरी अर्को देशको विकासमा योगदान दिने कस्तो विडम्बना हो ? शायद देवराजजी पनि फर्कनु हुन्न अमेरीकाबाट । यसो हुनुमा उत्पादित स्नातकको मात्र दोष देख्नु हुदैन, हाम्रो समग्र प्रणालीमा विद्यमान कमजोरीलाई सवैले मनन गर्नु पर्छ । त्यसमा पनि कृषि विषयको उच्च शिक्षा प्रणालीलाई कृषि अर्थतन्त्रसँग एकाकार गर्न नसक्नु ,  विद्यार्थीलाई कृषि उद्यमशीलताको ज्ञान दिन नसक्नु, उनीहरूलाई विदेश जाने बस्ने मोहबाट विमुख गरी, गराई, हाकिम बनी सुखसलय गर्ने लालसाबाट माथि उठाई माटो र मलसँग खेल्न, रम्न र उद्यमी बनी यसैमा भाग्य छ, भविष्य छ भनी उनीहरूलाई प्रशिक्षित गर्न नसक्नु हाम्रो कृषि विषयको उच्च शिक्षा प्रणालीमा रहेको कमजोरी हो । यही कमजोरी मनन गरीहरेक हरेक वर्ष २५ जना मात्र भर्ना लिई सक्षम उद्यमी बनाउने लक्ष्य राखिएको थियो । के यसो गर्नुहास्याँस्पद हो ? यस लक्ष्यमा सहमत हुनेहरू भर्ना लिन्छन्, असहमतहुनेहरू भर्ना हुन आउदैनन् , करको बात छैन भन्ने योजना थियो तर त्यसो हुन दिइएन ।
  • “बागवानी कार्यक्रमलाई जन्माउनेहरुको पहलमा इलाम नगरपालिकाले स्थापना गर्न लागेको कृषि क्याम्पसले मरब क्याम्पस र बागवानी विज्ञानका विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोज्नु हो” भन्ने जिकिर लिइएको छ । मरब क्याम्पसको बागवानी विज्ञानमा यस चालु शैक्षिक सत्रमा नयाँ भर्ना हुन कोही नआएको तथ्य किन लुकाउनु हुन्छ ? नयाँ भर्ना निल भएको के इलाम नगरपालिकाले स्थापना गर्न लागेको कृषि क्याम्पसले गर्दा हो ? अनि मरब क्याम्पसको बागवानीको विद्यार्थीहरूको जायज माग पूरा गर्न इलाम नगरपालिकाले स्थापना गर्न लागेको कृषि क्याम्पसले कसरी रोक्न सक्छ ? नयाँ भर्ना निल भएको विषयमा र मरब क्याम्पसको बागवानीको विद्यार्थीहरूको जायज माग पूरा गर्न पहल गर्ने बारेमा मरब क्याम्पसले, कार्यसमितिले, सञ्चालक समितिले एजेन्डा बनाई सरोकारवालाहरूसँग छलफल के कति पटक गर्यो ? सबैकुरा थाहा हुने तपइँलाई यो पनि अवश्य थाहा हुनु पर्छ, कृपया बताईदिनुहोस्, प्रष्ट पारिदिनुहोस् ।
  • “मरबको बागवानीले कृषिको सवै विषयहरू समेट्छ, इलाममा नै छुट्टै   AG पढाउने क्याम्पस जरुरी छैन” भन्ने खनालजीको तर्क रहेको पाईयो । Bsc. AG अन्तर्गतको एक हाँगो मरबको बागवानीले परिपूर्ति गर्छ तर Bsc. AG अन्तर्गतको पशुविज्ञान र मत्सविज्ञानलाई मरबको बागवानीले समेट्न सक्दैन । यो तथ्य उपर खनालजी किन बेखबर? हालै मात्र त्रि. वि ले मरबलाई Bsc. AG पठनपाठन गर्न स्वीकृति दिन नमिल्ने भनी गरेको निर्णयलाई सर्वज्ञाता खनालजीलाई किन चासो राख्नुभएन?
  • “यदि इलाम नगरपालिकाले सही ढंगले कृषि कार्यक्रम शुरू गर्ने सोच राखेको नै हो भने AG. को कार्यक्रमको थालनी गर्नु पर्छ” भन्ने उपदेश खनालजीले दिनु भएको पाइयो । जो तर्क बेतुकको छ , कसरी त भने हालै मात्र त्रि. वि ले मरबलाई Bsc. AG पठनपाठन गर्न स्वीकृति दिन नमिल्ने भनी निर्णय गरि सकेकोले मरबले Msc. AG. को कार्यक्रमको थालनी गर्न सक्छ कसरी ? अनि इलाम नगरपालिकाले Msc. AG. को कार्यक्रमको थालनी गर्नु पर्छ भन्नु खोज्नु भएको हो भने दौडनका लागि पहिले त बामे सर्न सिक्नु पर्ला नि ! विना Bsc. AG कहाँबाट चल्छ Msc. AG ? Bsc. AG नचलाऊ तर Msc. AG. को कार्यक्रमको थालनी गर भन्ने कस्तो गजबको अर्ती हो यो ?
  • “अर्को कृषि क्याम्पस खोल्दा राम्रो व्यापार लाभ पाइने , रिटार्यड व्यक्तिहरू विभिन्न पद ओगटेर रजाइँ गर्न पाइने, नातावाद, कृपावाद हाबी गर्न सकिने , मनोमानी ढंगले शिक्षक र कर्मचारी भर्ती गराउन पाइने, कसैका अलपत्र परेर रहेका कैयौं रोपनी जग्गा फिल्डको नाम दिएर क्याम्पसलाई बेच्ने” भन्ने जस्ता मनगणन्ते आक्षेप लगाउनु भएको पाइयो । हुनत मरबले लिएको अटोनमी निजिकरण हो भनी पटक पटक घन्टौ बहस गर्ने विद्वानहरुलाई इनपाले सञ्चालन गर्ने कृषि क्याम्पस सामुदायिक हो , जसमा निजी कलेजको जस्तो नाफाको गुन्जाईस हुदैन भनेर सम्झाउन नसकिएला ! तर योग्यता र क्षमता भएका रिटार्यड व्यक्तिहरूले कानुन बमोजिमको पेसा गर्न सकैले रोक्न मिल्दैन भन्ने कुरो हेक्का हुनु पर्ने होतपाइँ मार्फत लगाइएका उक्त आरोपहरूको कुनै आधार प्रमाण छ ? फगत  ईर्षायुक्त, मानसिक जलन बाहेक केही आधार छैन तपाइहरूसँग । भूतकालको अनुभवबाट वर्तमानले पाठ सिकी भविष्य बनाउछ, बनाएको हुन्छ । बुढापाका, रिटार्यडहरूको अनुभव अमूल्य हुन्छ भनी तपाईजस्तो विद्वानहरूलाई सम्झाउने धृष्टता मैंले गरिरहनु पर्दैन ।
  • आफ्ना जनतालाई कुन खालको शिक्षा सेवा दिने हो सो निधो गर्ने कर्तव्य रअधिकार संघीय प्रणालीमा प्रदेश र स्थानीय सरकारको पनि हो । यस पहाडी र उच्च पहाडी हावपानीमा माटो सुहाउँदो कृषि शिक्षा  प्रदान गर्न समुदायको सम्पतिको रूपमा रहने गरी इलाम सामुदायिक कृषि क्याम्पस स्थापना र सञ्चालन गर्ने निर्णय यहाँका जनताका प्रतिनिधिले गर्नु भएकोले यो यहाँका जनताको सरोकारको विषय हो । यसमा अन्यले टाउको दुखाइ रहनुको औचित्य छैन ।

अन्त्यमा खनालजी मरबको हर्टिकल्चर फ्लोरिकल्चर एन्ड मेनेजमेन्टको पहिलो व्याजको विद्यार्थी भई हाल अमेरीकाको विश्वविद्यालयबाट स्नातकोत्तर गर्दै हुनुहुदो रहेछ , बधाई र शुभकामना पनि । मरबको हर्टिकल्चर फ्लोरिकल्चर एन्ड मेनेजमेन्टको संस्थापकहरूलाई तपाईले दोषी करार गरि नै सक्नु भयो । हो हामीले गरेको सो गल्तीको कारणले तपाइँले उक्तानुसारको उच्च अध्ययनको सुअवसर पाउनु भएछ, फेरी पनि बधाई छ ।

                                                                         (लेखक महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका पूर्व क्याम्पस प्रमुख हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार