स्वदेशी ‘ट्रेडमार्क ’ पाउँदै चिया उद्योगहरु


इलाम । निकासी वस्तुहरु मध्येको नेपाली अर्थाेडक्स चियालाई विदेशी बजारमा बिक्रीका लागि सहज बनाउन नेपाल चिया तथा कफी विकास वोर्डले थप उद्योगहरुलाई लोगो (ट्रेडमार्क) उपलब्ध गराएको छ ।

अब अन्तर्राष्ट्रिय बजारमा चिया पठाउने २४ उद्योगहरुले स्वदेशी लोगो लगाउन पाउने भएका छन् । गतवर्ष पहिलो चरणमा देशभरका १२ चिया उद्योगहरुलाई लोगो प्रदान गरेको वोर्डले यो वर्ष थप १२ वटा उद्योगलाई लोगो प्रदान गरेको छ । यी उद्योगहरुले आफूले उत्पादन गरेको तयारी चिया अन्तर्राष्ट्रिय बजारमा पठाउँदा ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ नामको नेपाली लोगो टाँस गर्न सक्नेछन् । ‘नेपाली अर्थोडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका, २०७४’ निर्देशिकाले तय गरेको मापदण्ड पुरा गरेका उद्योगहरुलाईमात्र लोगो प्रदान गरिएको वोर्डले जनाएको छ ।

इलामका गोर्खा टी स्टेट, हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालि, जस्बिरे टी स्टेट, नेपाल स्मल टी, ओएएचआइएस टी स्टेट, तारागाउँ टी स्टेट, उच्च पहाडी चिया सहकारी, तीनजुरे चिया उद्योग, नेपाल स्मल टी, ग्रीनहिल अर्थोडक्स चिया प्रसोधन उद्योग, कञ्चनजंघा टी स्टेट, अर्गानिक नेपाली टी इन्डष्ट्रिजलगायत २४ उद्योगले चियाको नेपाली लोगो टाँस गर्न पाउने भएका हुन् ।

तर, उद्योग र व्यवसायीलाई लोगो प्रयोगको सर्त पनि छ । व्यवसायीले उत्पादन गरेको चियाको परिमाण, हरियो पत्ती र तयारी चियाका परिमाण वोर्डलाई देखाउनु पर्नेछ । कुन व्यवसायीले कति चिया निकासी गरेभन्ने सबै तथ्याकं वोर्डमा रहने छ । निर्देशिकाले लोगो कार्यान्वयनका सन्दर्भमा एउटा समिति गठनको व्यवस्था गरेको छ । ‘यदि निर्देशिकामा भएका विषय र आचारसंहितालाई उल्लंघन गरे दिएको लोगो खोस्न पनि सकिने छ, कार्यकारी निर्देशक डा.भट्टराईले भने ‘लोगो कार्यान्वयन पछि त्यो समितिले किसानको चियाबारी, चिया टिपाई समेतको निरिक्षण र अनुगमन गर्नेछ ।’ यस्तै उद्योगमा पनि कसरी गुणस्तरीय चिया प्रसोधन तथा उत्पादन र प्याकेजिङको कामको पनि कडाइका साथ अनुगमन हुनेछ । लोगो प्रयोग गरेवापत व्यवसायीले प्रतिकिलो ५० पैसा वोर्डमा जम्मा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

यसरी कार्यान्वयनमा ल्याइएको लोगो आफ्नो उत्पादन निकासी हुने देशहरुमा पनि दर्ता गराउन भने अनिवार्य छ ।

युरोपियन मुलुकहरुसहित जर्मनी, रसिया, अष्ट्रेलियालगायतमा देशमा नेपाली चिया जाने गरेको छ । लोगो कार्यान्वयनमा आउँदा नेपाली चियाले आफ्नो पहिचान पाएपनि अर्गानिक प्रमाणिकरणको काम खर्चिलो र झन्झटिलो हुँदा अझै नेपाली चियामा उद्योगी र किसानले समस्या झेल्ने अवस्था रहेको जस्वीरे चिया उद्योगका सञ्चालक शरद सुब्बा बताउँछन् ।

उता वर्षौं देखि निजी लगानीमा अर्गानिक चिया उत्पादन र निर्यात गरेरहेका सूर्योदय नगरपालिका स्थित गोर्खा टी स्टेकका सञ्चालक उदय चापागाईं भने सरकारले अर्गानिक चियाको अझै अर्थ नबुझेको गुनासो गर्छन् । ‘अर्गानिक उत्पादन गरेर हामीले मानव स्वास्थ्य, वातावरण र देशको अर्थतन्त्रमा जुन योगदान गरिरहेका छौं, त्यो नेपाल सरकारले कहिले पनि बुझ्न सकेन ।’ चापागाईंले भने ‘सरकार युरिया, डिएपी मल वितरण गर्छ, विषादी वितरण गर्छ तर अर्गानिकलाई प्रमोट गर्न सक्दैन, अहिले सम्म अर्गानिक उत्पादनका लागि किसान मुखी केही कार्यक्रम आउनै सकेको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार