म एक सरकारी बिद्यालय (अमर माध्यमिक बिद्यालय बरबोटे इलाम)को २०७७ सालको एसईई को विद्यार्थी हुं । भर्खरै प्रकाशित नतिजा र यसले मनमा उब्जिएका केही भवनाहरु यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु । यस बर्षको नतिजा सार्वजनिक भएपछि जतिसक्दो छिटो आफ्नो नतिजा हेर्न हामी हतारियौं तर सिम्बोल नम्बर थाहा थिएन । यो पाउन केहि समय कुर्नु पर्यो ।
कोरोना महामारीका कारण हामीले भौतिक रूपमा उपस्थित भएर सधैं झैं लिखित परिक्षा दिन पाएनौं यो सबैलाई बिदितै छ । यो हाम्रो इच्छा चाहना को कारण होइन परिस्थितिको उपज हो , बाध्यता हो । हामी विद्यार्थी त भौतिक रुपमा नै परिक्षा दिन पुर्णतः तयारीमा थियौ । सबै साथीहरूसँग कुराकानी भइरहेकै थियोे । सिम्बोल नम्बर प्राप्त भएपछि नतिजा हेरें । अरु साथीहरूको पनि क्रमशः थाहा हुँदै गयो । केही क्षणमा सामाजिक संजाल मार्फत पनि बिद्यालय तथा ब्यक्तिगत रुपमा पनि नतिजा हेर्न पाइयो ।
मैले पनि मेरो नतिजा सामाजिक संजाल मार्फत सार्वजनिक गरें । त्यसपछि सामाजिक संजालमा विभिन्न किसिमका बधाई, शुभकामना तथा प्रतिक्रियाहरु पढ्न पाइयो । हामी सबै विद्यार्थीहरुलाई थाहाँ छ कि हाम्रो मुल्यांकन लिखित परीक्षाबाट मात्र नभई एउटा निश्चित प्रक्रिया द्वारा बिद्यालयले गरेको हो । विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहने विषय शिक्षक, कक्षा शिक्षक , प्रधानाध्यापक लगायतको समितिले गरेको मुल्यांकन हो, हाम्रो ।
यसरी भएको मूल्यांकन लिखित परीक्षाभन्दा बढी प्रभावकारी हुनुपर्ने ! कहिँ कतैबाट कमिकमजोरी भए होलान् तर यसरी भएको मूल्यांकनलाई नजरअन्दाज गरेर “परीक्षा नै नदिई आएको जिपिए ” भनेर हाम्रो बाध्यता, भावना र मनोबल गिराउने जस्ता कुरासँग मेरो पूर्ण असहमति छ । यस्ता विचारले हाम्रो भावनामा चोट पुगेको मैले महशुस गरें । विद्यार्थीको मूल्यांकन गर्ने विभिन्न विधि, पद्धति र तरिका होलान् ! तीन घन्टाको लिखित परीक्षाले मापन गर्न नसक्ने कतिपय जटिल पक्षहरु समेत दैनन्दिन साक्षात्कार हुने शिक्षकले गर्ने मूल्यांकनबाट मापन हुने होइन र ? यसपटकको एसईईको नतिजामा हामी विद्यार्थीको के दोष छ ? वा हामीले के गर्नुपर्ने थियोे ,के भएन ? प्राप्त नतिजा स्वीकार्दै अघि बढ्नु हाम्रो बाध्यता हो । हामीले आज प्राप्त गरेको उपलब्धि पछिल्लो कक्षामा कायम राख्न प्रयत्नशील रहने नै छौं । मेरा सबै सहपाठी साथीहरूलाई प्राप्त नतिजाको रक्षा गर्न हार्दिक आग्रह गर्दछु ।
अन्त्यमा , आम अभिभावक , शिक्षक, शुभचिन्तक तथा बिद्वत बर्गमा यो पछिल्लो परिस्थितिमा के कसरी एसईईको मूल्यांकन प्रणालीमा सुधार गर्न सकिन्छ भन्ने सवालमा खुलेर विचार सम्प्रेषण गर्न र भविश्यकाे कर्णधार आजका विद्यार्थीहरुलाई हौसला, प्रेरणा र उच्च मनोबल प्रदान गरेर सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।