झापाका चिया किसानलाई अनुदानमा मल, प्राङगारिक मल प्रयाेगकर्ताले भने पाएनन्


इलाम । चियाका लागि रासायनिक र प्राङगारिक मल दिने सरकारी नीतिनै अहिले सम्म नभएकोमा यो वर्षदेखि सरकारले चियालाई पनि मल प्रदान गर्न थालेको छ । कृषिमा धान, मकैलगायतका बालीका लागि मात्र सरकारी अनुदानको मल प्राप्त हुँदै आएकोमा यो वर्षदेखि चियालाई पनि कृषिमा समेटिए पछि चियाले मल पाउने बाटो खुलेको हो ।

तर, यो झापाका लागिमात्र हो । झापाका चिया उत्पादकहरुले वर्षौंदेखि मलको माग राखे पनि नीति अभावमा मल पाउन सकेका थिएनन् । उनीहरुको माग अनुसार यो वर्ष नीतिमै चियालाई समेटेर झापामा अनुदानको मल उपलब्ध भएको नेपा चिया तथा कफी विकास वोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले बताए ।

‘इलामका पनि रासायनिक मलको माग नभएको होइन । तर, अर्थोडक्स चिया उत्पादन हुने इलाममा अब रासायनिक प्रयोग गर्ने कि अर्गानिक तर्फ लाने, त्यही कारण इलामलाई मल दिन सक्ने अवस्था रहेन ।’ डाक्टर भट्टराईले भने ‘तर, इलामका लागि आएको चियाको नयाँ परियोजनामै प्राङ्गारिक मल उत्पादन गर्नेलाई सपोर्ट गर्ने ठाउँ राखिएको छ ।’

भट्टराईका अनुसार प्राङ्गारिक मल उत्पादन गर्न कसैले कारखानानै स्थापना गर्छ भने त्यसलाई लागतको ५० प्रतिशत अनुदान उपलब्ध गराइने छ । परियोजनालाई इलामको अर्गानिक चिया उत्पादन, गुणस्तर र आन्तरिक तथा विदेशी बजार प्रवद्र्धनको काम गर्ने जनाइएको छ ।

युरोपियन युनियनको इआइएफको सहयोगमा चिया तथा कफी विकास वोर्ड मार्फत करिब १७ करोड रुपियाँको परियोजना शुरु भएको वोर्डले जनाएको छ ।

यता अर्गानिक चिया उत्पादक किसान तथा उद्योगीहरुले अर्गानिक उत्पादनका लागि सरकारले कतै पनि सहयोग नगरेको गुनासो गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार