फिनल्यान्ड विश्वकै उत्कृष्ट शिक्षा: बालबच्चालाई कसरी पढाइन्छ ?


शिक्षा पद्धतीको कुरा गर्नसाथ फिनल्यान्डको प्रसंग आउँछ । फिनल्यान्डको शिक्षा विश्वमै अनुकरणिय र उन्नत मानिन्छ । आखिर त्यहाँको शिक्षा पद्धती कस्तो छ ? त्यहाँ बालबालिकालाई कस्तो शिक्षा दिइन्छ ? कसरी सिकाइन्छ ? विद्यालय कस्ता हुन्छन् ? पठन विधी कस्तो हुन्छ ?

फिनल्यान्डको शिक्षा प्रणाली विश्वकै सबैभन्दा राम्रो मानिन्छ । विश्वभरका विशेषज्ञ, शिक्षाविद्, राजनीतिज्ञ, पत्रकार फिनल्यान्डको शिक्षाबारे बुझ्न त्यहाँ पुग्ने गरेका छन् ।

फिनल्यान्ड सतप्रतिशत साक्षरता भएको मुलुक हो । यहाँका विद्यालय सबैभन्दा अब्बल विद्यार्थी मानिन्छ । यहाँ कुनैपनि विद्यार्थी असफल हुनु भनेको दुर्लभ हो । अपवाद हो ।

फिनल्यान्डमा हामीकहाँ जस्तो पढ्नका लागि पैसा तिर्नुपर्दैन । त्यहाँ शिक्षाको व्यापार छैन । छोराछोरीलाई पढाउनका लागि आमाबुवाले खल्ती रित्याउनु पर्दैन । फिनल्यान्डमा शिक्षा सबैका लागि निशुल्क छ । र, सबैका लागि उपलब्ध छ । विद्यालय मात्र होइन, उच्च शिक्षामा पनि पैसा खर्च गर्नुपर्दैन ।

शैक्षिक सामाग्री अर्थात पुस्तक, कपी र आवश्यक सबै कुरा सरकारले नै उपलब्ध गराउँछ । सबै विद्यालय वा कलेज सरकारले नै सञ्चालन गरेको छ । यहाँ विद्यालय वा शिक्षाको नाममा पैसा कमाउने धन्दा हुँदैन ।
विद्यालयमा बच्चाहरुलाई खानेकुरा दिइन्छ । खानेकुरा पोषिलो र स्वस्थ्यवद्र्धक हुन्छ ।

सही उमेरमा शिक्षा

हामीकहाँ जति सानो उमेरमा विद्यालय पठायो, उत्तिनै राम्रो हुन्छ भन्ने मान्यता छ । बच्चाले चाडै पढाई पुरा गर्छन् र भविष्य बनाउँछ भन्ने लाग्छ । यही धारणका कारण बच्चालाई अढाई बर्ष नपुग्दै विद्यालय पठाइन्छ ।

फिनल्यान्डमा भने बच्चा ७ बर्षअघि विद्यालय पठाइदैन । ७ बर्षपछि मात्र त्यहाँ विद्यालय पठाइन्छ । त्यसबेलासम्म उनीहरुलाई घरमै उन्मुक्त रमाउन दिइन्छ । अर्थात बच्चालाई बच्चा हुन दिइन्छ ।

हुन त त्यहाँ ७ बर्षभन्दा कम उमेरका बच्चाका लागि डे केयर सेन्टर वा प्रि स्कुलको व्यवस्था छ । तर, त्यहाँ पढाई लेखाईको काम पटक्कै हुँदैन । बरु खेल्ने, रमाउने, नयाँ साथी बनाउने कुरामा प्रेरित गरिन्छ । एकअर्कासँग घुलमिल हुने, सहयोग गर्ने बानीको विकास गरिन्छ । त्यसपछि ७ बर्षदेखि १६ बर्षसम्म विद्यालय शिक्षा अनिवार्य मानिन्छ ।

विद्यालय समय

हामीकहाँ विहान आँखा नखुल्दै बालबालिकालाई विद्यालय पठाइन्छ । साँझ मात्र घर फर्कन्छन् । फिनल्यान्डमा भने विद्यालय समय एकदमै छोटो हुन्छ । हरेक दिन चार घण्टा मात्र विद्यालय लाग्छ । त्यसमध्ये पनि बेला बेला खानका लागि ब्रेक हुन्छ । यसका साथै बच्चालाई कुनैपनि होमवर्क दिइदैन । लगभग २० जना बच्चालाई एउटा कक्षाकोठामा राखिन्छ ।

शिक्षण :एक सम्माननीय पेशा

फिनल्यान्डमा शिक्षकलाई निकै सम्मानित मानिन्छ । त्यहाँका शिक्षक हामीकहाँ जस्तो जागिरे मानसिकताका हुँदैनन् । जागिर मात्र खाने नभई शिक्षण पेशामै रमाउने र समर्पित हुने गर्छन् । त्यहाँ शिक्षक बन्नु सहज पनि छैन । शिक्षक बन्नका लागि राम्रो योग्यता हुनैपर्छ । साथै प्रेरणादायी प्रवृत्तिको हुन जरुरी छ ।

परीक्षाको तनाव

हामीकहाँ पढाईको मानक नै परीक्षालाई लिने गरिन्छ । जबकी फिनल्यान्डको शिक्षामा परीक्षाको व्यवस्था नै छैन । त्यही कारण फिनल्यान्डका विद्यार्थीहरुले परीक्षाको भय झेल्नुपर्दैन । परीक्षा लिने भन्दा पनि यहाँ सिकाउने तरिकामा बढी ध्यान दिइन्छ । १६ बर्षको उमेरमा जब विद्यालय तहको पढाई सकिन्छ, त्यसबेला मात्र एक पटक परीक्षा लिइन्छ ।

विद्यालयको माहौल

त्यहाँ विद्यालय र पढाइमा प्रतियोगिताको भावना होइन, सहयोगको भावना विकास गरिन्छ । त्यसका साथै त्यहाँ पढाईमा केवल किताबको ज्ञानलाई मात्र सर्वोपरी मानिदैन । बरु व्यवहारिक पढाईमा जोड दिइन्छ । त्यहाँको शिक्षाले विद्यार्थीलाई जान्ने मात्र बनाउँदैन, बरु एक असल व्यक्ति बन्नमा प्रेरित गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार