इलाममा पछिल्लो पल्ट ३६ हजार बढीले लगाए खोप, कोभिडशिल्डको दोस्रो डोज यसै हप्ता दिइने

  आवाज सम्वाददाता


इलाम । पछिल्लो पटक सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियान अन्तर्गत ३६ हजारभन्दा बढीले खोप लगाएका छन् ।

जिल्लामा साउन १२ गतेदेखि खोप सञ्चालन गरिएको थियो । पछिल्लो समय भेरोसेल खोप र जोन्सन एण्ड जोन्सनको खोप दिइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितका अनुसार भेरोसेल २२ हजार दुई ६९ जनाले लगाएका छन् । जोन्सन एण्ड जोन्सनको खोप भने १४ हजार चार सय ६ जनाले लगाएका छन् । साउन यता सञ्चालन भएको खोपमा सोमबारसम्ममा ३६ हजार छ सय ६५ जनाले लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भेरोसेल खोप ५५ वर्ष उमेर माथिका सबै नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सहचालकलाई लगाइएको थियो । जोन्सन एण्ड जोन्सनको भने ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका, वैदेशिक रोजगारमा जाने, अपाङ्गता भएका व्यक्तिलाई दिएको थियो ।

तर, खोप वितरण सन्तुलित नहुँदा कतै तोकिएका उमेर समूहले खोप लगाउन पाएनन् भने कतै मापदण्डभन्दा बाहिरकाले पनि लगाएको पाइएको छ ।

अझैं इलाममा झण्डै दुई लाख जना खोपको प्रतिक्षामा छन् । कोभिडशिल्डको पहिलो डोज लगाएका २० हजार ९७ जना छन् । उनीहरु पनि दोस्रो डोजको प्रतिक्षामा छन् । उनीहरुलाई यही हप्तादेखि दोस्रो डोज दिइने स्वास्थ्य कार्यालयका पण्डितले बताए । हाल तीन वटा प्रदेशमा दोस्रो डोज लगाइरहेको र इलाममा यही हप्ता आउने उनले बताए । अहिलेसम्म खोप आइनसकेको पनि उनले बताए ।

इलाममा हालसम्म ६८ हजार एक सय २८ जनाले खोप लगाएका छन् । ती मध्ये दुवै डोज पुरा गर्नेको संख्या सात हजार नौ सय ८८ मात्रै छन् । जिल्लामा विभिन्न चरणमा सञ्चालित कोरोना विरुद्धको खोप अभियानमा कोभिशिल्ड २२ हजार छ सय ३० जना र भेरोसिल्ड लगाउनेको संख्या ३१ हजार एक सय ३द्द जना रहेका छन् । यसरीनै जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या सोमबारसम्म १४ हजार ४०६ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार