काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण जनसमर्थनबाट नेकपा एमाले फेरि मुलढोकाबाटै सत्तामा पुग्ने दाबी गरेका छन् ।
प्रतिनिधिसभाको जारी बैठकलाई प्रतिपक्षी दलको नेताकाे हैसियतमा सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई जालझेल गरेर हटाइएको बताउँदै फेरि जनसमर्थनबाट सत्तामा पुगने बताएका हुन् । आफूले गरेको कामको आधारमा जनताले आफूलाई विश्वास गर्ने र जनमत प्राप्त गर्ने ओलीको भनाइ छ ।
वर्तमान सरकार अदालतको परमादेशबाट जस्केलाबाट छिरेर बनेको भन्दै ओलीले अदालतलाई थप विवादमा पार्न नउक्साउन सत्तापक्षका सांसदहरूलाई आग्रह समेत गरेका छन् ।
आफू प्रधानमन्त्री बन्नकै लागि नजन्मिएको बताउँदै ओलीले काम गर्दै जाँदा प्रधानमन्त्री बनेको र प्रधानमन्त्री छँदा देश र जनताको हितमा दीर्घकालीन प्रभाव राख्ने थुप्रै काम भएको उनको भनाइ छ ।