‘एन्टिजिन टेस्ट’ गराउनेको संख्या उलेख्य, एक महिनालाई मात्र पुग्ने

इलाम । कोभिड संक्रमणको लक्ष्यण भएका बिरामी दैनिक बढ्दै गएपछि इलाम अस्पतालमा ‘एन्टिजिन’ परीक्षण गराउनेको संख्या उलेख्य रहेको छ । अहिले अस्पतालमा अहिले दैनिक ७० देखि ८० जना कोभिडको लक्षण भएका विरामी आउने गरेको अस्पतालले जनाएको छ ।

संक्रमण घटिनसकेको अवस्थाले कोभिड परीक्षण गर्न आउनेको संख्या पनि केही साता यता एकै दरमा रहेको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । ‘अस्ति चाहिँ किट पनि अभावको सम्भावना बढेको थियो । अहिले त विरामीको दर त्यस्तै रहँदा पनि करिब १५ दिनलाई एन्टिजिन किट पुग्ने अवस्था छ ।’ खतिवडाले भने ‘दाताहरु पनि किट उपलब्ध गराउँदै गरेकाले तत्काललाई एन्टिजि किट अभाव छैन ।’

तर, शुरुमा कोभिड परीक्षण गरेपनि दोस्रो पटक अर्थात १४ दिन पछि पुनः परिक्षण गराउन नपर्ने डाक्टरहरुको सल्लाह छ । तर प्रायः सबै जसो कोभिडका विरामीले नेगेटिभ नतिजा थाहाँ पाउन दोस्रो पटक पनि एन्टिजिन परीक्षण गराउने गरेकाले किट अभाव भएको अस्पतालका डाक्टर विस्रुत सापकोटाले बताए । ‘पोजेटिभ देखिएको १४ दिन पछि परीक्षण गर्नै पर्दैन, उस्को शरीरमा कोभिड नेगेटिभ भइसकेको हुन्छ ।’ सापकोटाले भने ‘तर पहिलो पटक एन्टिजिन टेस्ट गर्दा पोजिटिभ देखियो र त्यसको तीन दिन पछिमात्रै पुनः एन्टिजिन गर्दा पनि नतिजा नेगेटिभनै आउछ । दोस्रो पटक एन्टिजिन गर्नुको खासै अर्थ छैन, यदि प्रमाणित नतिजा चाहिन्छ भने पिसिआरनै गर्नुपर्छ ।’

यता जिल्लाको अस्पताल र सबै स्थानीय तहमा एन्टिजिन किट पठाउँदै आएको जिल्ला स्वास्थ्य कार्यालय इलामले अब करिब एक महिनालाई मात्र एन्टिजिन किट पुग्ने अवस्था रहेको जनाएको छ । जिल्लाका सबै स्थानीय तहमा पठाइएको किट सबै प्रयोग भइनसकेकाले एक महिना धान्न सक्छ कि भन्ने अनुमान रहेको कार्यालयका कोभिड फोकल पर्सन विमल बरालले बताए । ‘सूर्योदय नगरपालिका, रोङ र सन्दकपुर गाउँपालिकामा अलिबढी किट आवश्यक परिरहेको छ । बाँकी स्थानीय तहमा पठाइएको किट धेरै चलेको छैन, त्यसकारण आवश्यक पर्दा त्यही किट चलाउन सकिन्छ ।’ बरालले भने ‘इलाम अस्पतालमा भने विरामीको चाप निकै रहेकाले किट अभाव हुनु स्वभाविक हो, स्वास्थ्य कार्यालयले ल्याउन पहल गरिरहेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार