सोक्तिमका चिया श्रमिकलाई खाद्यान्न राहत वितरण


इलाम । कारितास नेपालले बिहीबार माई नगरपालिका स्थित सोक्तिम चिया बगानमा कार्यरत ६८ श्रमिकलाई राहत स्वरुप खाद्यान्न उपलब्ध गराएको छ । कारितास जर्मनीको सहयोग र मानव अधिकार सञ्जाल तथा शान्ति कार्य समुह (प्याग) नेपालको सहकार्यमा सोक्तिमका श्रमिकलाई दाल, चामल, नून, तेल लगायतका दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको हो ।

श्रमिकलाई प्रति परिवार २५ किलो चामल, दुई किलो दाल, दुई किलो नून, दुई किलो तेल, आधा किलो न्युटेला, एउटा हात धुने साबुन, दुई किलो चिउरा, एक किलो चना र एक किलो मटर गरि दुई हजार पाँच सय रुपियाँ बराबरको खाद्यान्न उपलब्ध गराएको प्यागका कार्यकारी निर्देशक प्रकाश अधिकारीले बताए ।

कोभिडका कारण रोजगारी नपाएको अवस्थामा चिया श्रमिकको अवस्था कस्तो छ भन्ने अध्ययन गरेर समस्यामा परेका क्षेत्रका चिया श्रमिकलाई खाद्यान्न उपलब्ध गराइएको हो ।’ अधिकारीले भने ‘अन्य क्षेत्रको रोजगारीको विकल्प नभएको क्षेत्रलाई प्राथमिकता दिएको छौं ।’ अन्य क्षेत्रका चिया श्रमिकका लागि पनि खाद्यान्न ल्याउने पहल गरिरहेको अधिकारीले बताए ।

खाद्यान्न प्रदान गर्दै माई नगरपालिकाका प्रमुख दिपककुमार थेवेले आफ्नो नगरपालिका भित्र रहेको चिया बगानमा कार्यरत मजदुरको अवस्था निकै कमजोर भएकाले नगरपालिका पनि गम्भीर रहेको बताए । खाद्यान्न वितरणमा कारितास नेपालका प्रदेश एक संयोजक देवेन्द्र पोख्रेलको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार