निषेधाज्ञामा पनि इलाममा संक्रमण किन घटेन ?

इलाम । इलाममा निषेधाज्ञा बैंशाखदेखिनै निरन्तर छ । पछिल्लो दुई हप्ता यता निषेधाज्ञामा कडाई पनि गरिएको छ । तर, पनि जिल्लामा कोरोना भाइरसको संक्रमण दर उलेख्य रुपमा घट्न सकेको छैन । निषेधाज्ञा यति कडाई हुँदा पनि संक्रमण नियन्त्रण नहुँदा सर्वत्र चिन्ता र त्रास बढेको छ । संक्रमणको दोस्रो लहर बढ्दै गएपछि पहिलो पल्ट गरिएको निषेधाज्ञाले संक्रमण दर लगभग नियन्त्रण गरेको थियो ।

त्यसपछि निषेधाज्ञा खुकुलो पारियो । निषेधाज्ञा खुकुलिएसँगै बढ्दै गएको संक्रमण निषेधाज्ञा कडाई गरिएपनि संक्रमण उच्च देखिएको छ । राज्यको तर्फबाट संक्रमण नियन्त्रणका लागि गरिएको प्रयास विफल हुनुमा एउटा मात्र होइन थुप्रै कारणहरु छन् ।

कोरोना विरुद्धको खोपमा देखिएको भीडः

मालपाेत केन्द्रमा खाेप लगाउनेकाे भीड

जिल्लामा साउन १२ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन भयो । खोप केन्द्रहरुमा संक्रमणबाट जोगिनका लागि अपनाउनु पर्ने भौतिक दूरी अपनाएको देखिएन । अन्य स्थानहरुमा भन्दा पनि सदरमुकाममा चलेका खोप केन्द्रहरु अत्यन्तै अब्यवस्थित र भीडभाड देखियो । साउन १२–१४ मा सदरमुकामा सञ्चालन भएको खोप केन्द्रमा पनि भीडभाड देखियो ।

पछिल्लो पटक सदरमुकाम केन्द्रीत गरेर सञ्चालन गरिएको खोप अभियानमा पनि उस्तै भीडभाड देखियो । स्वास्थ्य केन्द्रहरुमा तीन दिन खोप दिइने भनेर सूचना गरे पनि दुई दिन सञ्चालन भएपछि स्थगित गरेर उभारिएका खोप व्यवसायी, राजनीतिक दल, गैससकर्मीलगायतलाई सदरमुकाममा दिइएको थियो ।

गाैतमबुद्ध सभागृह खाेपकेन्द्रमा खाेप लगाउन लाइनमा बसेका व्यवसायी ।

सदरमुकामको तीन स्थानमा केन्द्र सञ्चालन गरिएपनि जिल्ला प्रशासन कार्यालय अघिल्तिरको मालपोतमा रहेको खोप केन्द्रमा अत्यन्तै भीभाड देखियो । सिटी हलमा रहेको खोप केन्द्रमा पनि निकै भीड देखियो । खोप केन्द्रमा भीड नियन्त्रण गर्ने र भौतिक दूरी कायम गराउने कुरामा सम्बन्धित निकायले खासै ध्यान दिएको पाइएन । खोप केन्द्रमा भएका भीडले पनि संक्रमण बढेको अनुमान गरिएको छ ।

अस्पतालको अब्यवस्थित व्यवस्थापनः

इलाम अस्पतालमा एन्टिजीन परीक्षणकाे रिर्पाेट लिनेकाे भीड

इलाम अस्पतालमा एन्टिजीन गराउनेको अव्यवस्थित भीड र उपचारको क्रममा संक्रमण बढ्ने गरेको जनगुनासो आइरहेको छ ।
सीमित जनशक्ति र स्रोत साधनका बीच पनि अस्पतालले यो महामारीमा सेवा दिइरहेको छ । तर, महामारीको बेला अस्पतालनै संक्रमणको थलो नबोस् भन्ने कुरालाई ध्यानमा राख्दै व्यवस्थापन पक्षमा सुधार गर्नुपर्ने देखिन्छ । इमरेजेन्सी कक्षमा संभावित संक्रमित र अन्य विरामीलाई फरक फरक ठाउँमा राखेर उपचार गराउन सकेमा संक्रमण हुने संभावना कम हुन सक्छ । हुन त एन्टिजीन परीक्षणपछि कोभिडका विरामीलाई अलग्गै राखेर उपचार त गरिन्छ । तर, इमरेजेन्सीमा पनि आवश्यक व्यवस्थापन गर्न अस्पताल व्यवस्थापन समितिले चासो दिनुपर्ने स्थानीयको भनाई छ ।

शहर बन्द गाउँमा बेवास्ताः

संक्रमण नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शहरमा निषेधाज्ञाका कारण अनावश्यक हिँडडुलदेखि बजार सबै बन्द छ । तर, गाउँमा भने संक्रमणप्रति सजगता कम मात्र पाइन्छ । भौतिक दूरी कायम गरेर नियमित गतिविधि गर्नु त स्वभाविकै हो । संक्रमण समुदायस्तरमा फैलिएको अवस्थामा गाउँमा पनि भौतिक दूरी कायम गर्ने र अन्य स्वास्थ्यका मापदण्ड अपनाउनु अनिवार्य छ । तर, गाउँमा सामान्य अवस्थामा जस्तै गतिविधि देखिएको छ ।

कोभिडको लक्षण देखिदा पनि गाउँमा परीक्षण तत्काल नगर्ने र हिँडडुल गरिरहने गरेको देखिन्छ । स्वास्थ्य समस्या गएपछि मात्र परीक्षण गर्ने प्रवृत्ति देखिन्छ । भौतिक दूरी कायम गर्ने, स्वास्थ्यको मापदण्ड अपनाउने कुरामा ख्यालै गरिएको पाइँदैन । र, छरछिमेकीमा आउँजाउँ गर्ने सँस्कार निरन्तर छ । जसले गर्दा गाउँमा संक्रमण तीब्र देखिएको छ ।

तासको खाल र भट्टी पसलः

निषेधाज्ञा यति कडा छ, खाद्यान्नको पसल खोल्ने समय पनि अत्यन्तै सीमित मात्र छ । तर, प्रहरी प्रशासनको आँखा छलेर भट्टी पसल र तासका खालहरु चलिरहेकै छन् । निषेधाज्ञामा अनावश्यक हिँडडुल गर्न पाइन्न । बाहिर हिँडडुल र भीडभाड नगरे पनि तासमा जम्न र भट्टीमा रम्न सहज भएको छ । यसले पनि संक्रमण बढाउने काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार