महिलाको घाँटी थिचेर हत्या गरेको स्वीकार: आरोपितलाई पूर्पक्षका लागि थुना आदेश

इलाम । एक महिला अघि उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय परिषरमा मृत भेटिएकी बिमलादेवी पराजुलीको घाँटी थिचेर हत्या गरेको घटनामा संलग्न भनिएका युवराज बानियाँले बयान दिएका छन् ।

उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय सहयोगीको रुपमा कार्यरत ४५ वर्षीया पराजुलीलाई असार २८ गते विहान कार्यालयको नालीमा घोप्टो परेको मृत अवस्थामा भेटिएको थियो । घटनामा संलग्न भएको आशंकामा प्रहरी नियन्त्रणमा रहेका इजलासका मुख्य न्यायाधिशका सुरक्षा गार्ड ३५ वर्षीय प्रहरी सहायक निरिक्षक युवराज बानियाँले अदातलमा पनि आफूले घाँटी थिचेर मारेको बयान दिएको इलामका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले बताए । ‘शुरुमै हामी पनि उस्ले त्यही बयान दिएको थियो, घटना घटाएको स्वीकार गरेको थियो ।’ उपरिक्षक श्रेष्ठले भने ‘यहाँ शवको अनुसन्धानमा तलमाथि होलाकि भनेर धरान पठाएका थियौं, पोष्टमार्टम रिपोर्टमा पनि घाँटी थिचेर हत्या गरेको रिपोर्ट आएको छ । हामीले अदालत बुझाइ सक्यौं ।’

उपरिक्षक श्रेष्ठका अनुसार उनीहरु बीच लामो समयदेखिको सम्बन्ध रहेको थियो । ‘मोवाइल ट्याकिङबाट पनि उनीहरुको सम्बन्ध थियो भन्ने चाँहि थाह हुन्छ तर, हत्या भएको दिन बलात्कार गरेको अथवा त्यस किसिमको क्रियाकलाप उनीहरु बीच भएको देखिंदैन’ उपरिक्षक श्रेष्ठले भने ‘पोष्टमार्टम रिपोर्टबाट अरु बढीनै कुरा थाह हुन्छ ।’ बानियाँ दुईवर्ष देखि मुख्य न्यायाधिशको सुरक्षार्थ खटिएका थिए ।
‘घटनालाई बुझ्दा तरकारी बारीमा गएकी पराजुली आफैंले सुरक्षा गार्ड बानियाँलाई बोलाएको र लेनदेनको विषयमा टसल भएको देखिन्छ ।’ श्रेष्ठले भने ‘पराजुलीले बानियाँलाई दिएको रकम फिर्ता माग्दा उत्पन्न टसलबाटै बानियाँले पराजुलीले महिलाको घाँटी थिचेर हत्या गरेको पाइएको छ ।’

‘बानियाँले आफूले बलात्कार गरेको स्वीकार गरेको छैन, तर एक महिना अघि पनि पराजुलीले मेरो पैसा तिर्दैनस् भने प्रहरीमा बलात्कार मुद्दा दर्ता गर्छु भनेपछि उनीहरुबीच टसल भएको देखिन्छ ।’ श्रेष्ठले भने । श्रेष्ठका अनुसार असार २७ गते बेलुका कार्यालय समय सक्किए पछि तरकारी बारीमा पसेकी पराजुलीले बानियाँलाई न्यायाधिशको क्वाटरमा बोलाएकी थिइन् । कार्यालय बाहिर रहेका बानियाँ पनि क्वाटर आएका थिए । मुख्य न्यायाधिश विदामा रहेका बेला क्वाटरको साँचो (चाबी) पनि बानियाँ सँगै थियो । न्यायाधिशकै क्वाटरमा बानियाँ र पराजुली बीच टसल भएको र घाँटी थिचेर पराजुलीलाई लडाएपछि बानियाँ क्वाटरबाट बाहिरिएका थिए । पुनः खुलदुली चलेर बानियाँ कार्यालयको पछाडिको वाल नाघेर क्वाटरमा छिर्दा पराजुली मृत अवस्थामा रहेकाले उनलाई घिस्याउँदै क्वाटरको पछाडि पट्टिको ढोकाबाट बाहिर निकालेर फालेका थिए । महिलाको कानको टप पछाडिको ढोकामा ओछ्याएको ‘डुअरम्याट’मा भेटिएको थियो । घटना सार्वजनिक भएको केही समयमै शंका लागेर नियन्त्रणमा लिइएका बानियाँको कोठाबाट पराजुलीले लगाएको दुई तोलाको सुनको सिक्री पनि बरामद भएको उपरिक्षक श्रेष्ठले बताए ।

आरोपित बानियाँलाई जिल्ला अदालतले दुईदिन अघि पूर्पक्षका लागि कारागार पठाएको छ । ‘अब उस्लाई अन्तिम सजाय त जन्मकैद कै हुनुपर्छ, पीडितलाई क्षतिपूत्र्तिको पनि माग दाबी गरेर हामीले मुद्दा दर्ता गरेका छौं ।’ नेपालको कानूनमा २० वर्षको काराबासको सजायलाई जन्मकैद तोकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार