अस्पतालको लापरबाहीले सुत्केरीलाई पीडा


इलाम । इलाम अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले एक सुत्केरी महिलाले पीडा झेल्नुपरेको छ । अस्पतालले प्रसूति गराएर टाँका गरेको घाउमै रगत रोक्ने प्याड (कपडा) छाडिदिएपछि सुत्केरी सिकिस्त भएकी हुन् ।

देउमाई नगरपालिका–७, सिद्धिथुम्काकी २० वर्षीया दीपा सापकोटा ११ दिनअघि इलाम अस्पतालमा सुत्केरी भइन् । तर, घर पुगेको केही दिनदेखि घाउ अत्यन्त दुख्न थाल्यो । दिसा गर्न, हिँडडुल गर्न र बस्नै नसक्ने भएपछि सुत्केरी सिथिल भइन् । घाउ दुखेर सहनै नसक्ने भएकी उनलाई पुनः इलाम अस्पताल ल्याएर प्याड झिकिएको छ । पीडितकी आफन्त सुशीला रिसालले  डाक्टरले ‘कतै हल्ला नगरी अस्पताल ल्याउनू’ भनेपछि ल्याएको बताइन् । ‘अस्पताल ल्याएर हेर्दा सुत्केरीको घाउमा कपडा (प्याड) रहेको पाइयो,’ उनले भनिन्, ‘तर, डाक्टरले प्याड वा कपडा रहेको नै भनेनन्, यो सामान्य नै भएको भन्दै खास वास्ता पनि गरेनन् । के रहेछ भनेर आफन्तले सोध्दा पनि कपडाको सानो टुक्रा भन्दै थप बताउन चाहेनन् ।’

बिरामी सिकिस्त भएर घरैबाट फोन गर्दा अस्पतालबाट घाउको फोटो खिचेर पठाउन भनियो । फोटो खिचेर पठाएपछि कतै हल्ला नगरी अस्पताल ल्याउन अस्पतालले भनेको उनले जनाइन् । त्यसपछि रातारात उनलाई अस्पताल ल्याइएको थियो । ‘अस्पताल ल्याएपछि त स्वास्थ्यकर्मीले तपाइँहरूले अस्ति नै भन्नुपर्ने यो कुरा आजसम्म किन भन्नुभएन भनेर उल्टै गाली पो गरे,’ सुशीलाले प्रश्न गरिन्, ‘त्यस्तो समस्या हामीले जान्नुपर्ने हो कि डाक्टरले जान्ने हो ?’ शल्यक्रियाबाट नभई नर्मल नै प्रसूति भएको तर घाउ भएर टाँका गरिएको उनले जनाइन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभु साहले सुत्केरीको अवस्था सामान्य रहेको बताए । ‘बिरामीको अवस्था जटिल छैन,’ उनले भने, ‘रगत आएको घाउमा थिचेर पुछ्नुपर्छ, कहिलेकाहीं यसरी रगत रोक्न लगाइएको कपडा बिरामी आफैंलाई नै झिक्न भनिएको हुन्छ र नझिकेको हुनसक्छ ।’ ती महिलाको नर्मल प्रसूति भएकाले ठूलो कपडा वा प्याड नै छाडिएको नभई घाउभन्दा बाहिरै रगत पुछ्ने कपडामात्र रहेको हुनसक्ने उनले जनाए ।

अस्पतालले उनको निःशुल्क उपचार गर्नका साथै घरसम्मको यातायातको व्यवस्थासमेत अस्पताललेनै गरेको परिवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार