संघीय सरकारकाे बेवास्ताले इलामका तीन पालिकाले गरेकाे वडा विभाजनकाे प्रस्ताव अन्याैल

इलाम । संघीय सरकारले बेवास्ता गरेपछि स्थानीय तहहरुले वडा विभाजनका लागि गरेको प्रस्ताव थाती रहेको छ । वडा विभाजनका लागि संघीय सरकारले विज्ञहरुको समिति या आयोग बनाएर विभाजन गर्नुपर्ने हुन्छ । तर, संघीय सरकरले अहिलेसम्म यस्तो संरचना नबनाएकाले इलामका तीन पालिकाहरुले गरेको वडा विभाजनको प्रस्ताव अन्यौलमा छ । संघीय सरकारले स्थानीय तहको निर्वाचन हुनु एक वर्ष अगावै वडा विभाजन गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्म संघीय सरकारले वडा विभाजनको लागि आवश्यक संरचनानै नबनाएकाले वडा विभाजन हुने कुरा निश्चित हुन सकेको छैन ।

ठूलो भूगोल र जनसंख्या भएका कारण सेवा प्रवाहमा कठिनाई देखिएका वडालाई इलामका तीन पालिकाहरुले विभाजन गर्ने प्रस्ताव गरेका छन् ।

इलामका तीन पालिकाले अहिलेसम्म वडा विभाजनको प्रस्ताव सभाबाट पारित गरेका छन् । इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माङसेबुङ गाउँपालिकाले वडा विभाजनको प्रस्ताव सभाबाट पारित गरिसकेका छन् । इलाम नगरपालिकाले अघिल्लो वर्षको नगरसभाबाट वडा नं. ९ लाई विभाजन गर्ने प्रस्ताव पारित गरेको थियो । साविक इलाम नगरपालिकाको ३,४ र ५ नम्बर मिलाएर बनाइएको वडा नं. ९ लाई विभाजन गर्ने नगरको प्रस्ताव छ ।

साविकको वडा नं. ३ लाई विभाजन गर्ने त्यसमा साविकको ४ नम्बर वडा क्षेत्रफल मिसाएर एउटा वडा बनाउने र साविकको ४ नम्बर वडाको भूगोलमा बाँकी रहेको वडा नं. ३ को भाग मिलाएर अर्को वडा बनाउने प्रस्ताव नगरसभाबाट पारित भएको छ ।

इलाम नगरपालिकाले विभाजनको लागि प्रस्ताव गरेको वडाको जनसंख्या मतदाता नामावली, वडाको केन्द्र र दुई वडा बीचको प्राकृतिक सीमासमेत यकिन गरेर पठाइसकेको नगर प्रमुख महेश बस्नेत बताउँछन् । यस्तै इलामको सूर्योदय नगरपालिकाले वडा नं. १ गोर्खेलाई विभाजन गर्नका लागि प्रस्ताव पारित गरेको छ । साविक गोर्खे गाविसको वडा नं. ४ को भूगोल निक्कै ठूलो भएकाले सोही वडालाई विभाजन गरेर अर्को वडा कायम गर्ने नगरपालिकाको तयारी रहेको छ । नगरपालिकाले विभाजन गर्ने वडाको सीमाना र वडाको केन्द्र निर्धारणको लागि वडाध्यक्ष रामकुमार लिम्बूको संयोजकत्वमा समिति गठन गरेर काम अघि बढाएको छ । नगरपालिकाको एक नं. वडामा चार हजार पाँचसयभन्दा बढी मतदाता रहेका छन् । गोर्खे बजारमा रहेको वडा कार्यालयमा सेवा लिन जाँदा लामिधुराका बासिन्दाले एकदिन खर्चिनु पर्छ । नागरिकलाई प्रभावकारी सेवा दिनका लागि आम सहमतिमा वडा विभाजनको प्रस्ताव गरिएको नगरले जनाएको छ ।

यस्तै माङसेबुङ गाउँपालिकाको वडा नं. ३ लाई विभाजन गरेर दुईवटा वडा बनाउने प्रस्ताव गाउँसभाले पारित गरेको छ । गएको असारमा सम्पन्न नवौं गाउँसभाबाट सर्वसम्मत रुपमा वडा विभाजनको प्रस्ताव पारित भएको गाउँपालिकाले जनाएको छ । ३४ दशमलव १५ बर्गकिलोमिटर क्षेत्रफल रहेको वडा नं. ३ को जनसंख्या दश वर्षअघिको जनगणना अनुसार चार हजार एकसय १३ छ । गाउँसभाबाट पारित प्रस्ताव कार्यान्वयनमा आएमा माङसेबुङमा वडाको संख्या सात हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार