यस्ताे छ तालिवान उदयकाे कथा

सन् १९९०को दशकमा उत्तरी पाकिस्तानका केही धार्मिक स्कुलहरू (मदरसा)मा धर्मशिक्षा पढ्ने केही विद्यार्थीहरूले एउटा समूह बनाए।

त्यो बेला अफगानिस्तानबाट भर्खरै सोभियत सेनाहरू फिर्ता भएका थिए। उत्तरी पाकिस्तानसँग सिमाना जोडिएको ‘पाश्तुन’ क्षेत्रका मुस्लिमहरूको त्यसमा बाहुल्य थियो।

त्यहाँ बोलिने पाश्तो भाषामा तालिबान भनेको ‘विद्यार्थी’ भन्ने हुन्छ। त्यो समूहको काम थियो धार्मिक मुद्दाहरू र धार्मिक अनुशासनमा कडाइ गर्ने।

विद्यार्थीहरूले सुरु गरेको त्यही धार्मिक अभियान विस्तारै ‘तालिबान’का रुपमा विश्वभर एउटा भयानक नाम बन्यो।

अफगानिस्तान र पाकिस्तानको सिमा क्षेत्र पाश्तुनका केही क्षेत्रमा त्यसपछि तालिबानहरू सत्तामा आए। उनीहरूलाई साउदी अरबले आर्थिक रुपमा पनि संरक्षणा दियो। त्यो आर्थिक सहयोग खासगरी सुन्नी मुस्लिमहरूको धार्मिक कानुनलाई अझ कडा पार्ने र त्यही कडा धारमा हिँड्न सिकाउनु थियो।

त्यो बेला ती क्षेत्रहरूमा तालिबानले शरिया कानुन लगाउने प्रतिवद्धता पनि गरेको थियो। र विस्तारै उसले अफगानिस्तानमा आफ्नो प्रभाव विस्तार गर्‌यो।

१९९६मा इरानसँग जोडिएको हेरात राज्यमाथि कब्जा जमाएपछि तालिबान अझ शक्तिशाली भयो। त्यसको एक वर्षपछि त तालिबानहरू काबुलमै छिरे। राष्ट्रपति बुर्हानुद्दीन रब्बानीलाई अपदस्त गरिदिए।

सोभियत संघको विरुद्ध लड्नका लागि योद्धाहरू तयार पार्ने अफगान मुजाहिद्दिनका एक संस्थापक थिए(रब्बानी। १९९८ सम्ममा तालिबानले अफगानिस्तानको लगभग ९० प्रतिशत भूभाग नियन्त्रणमा लिइसकेका थिए।

सोभियतहरू फिर्ता भएपछि मुजाहिद्दिनहरूको निकै निरंकुश शासनबाट अफगानीहरू हैरानै भइसकेका थिए। त्यसैले तालिबानहरूबाट उनीहरू केही नयाँ आशाहरू पनि राखे। उनीहरूलाई साथ पनि दिए।

तालिबानको भ्रष्टाचारविरुद्ध कडा सजाय अभियान तथा व्यवसायीहरूको सुरक्षा र सडक विस्तारका कामहरूले तालिबानको लोकप्रियता बढिरहेको थियो।

शरीया कानुनको कडा पक्षधर तालिबानले अपराधीलाई मृत्युदण्ड दिन थाले। चोरहरूको हातै काटिदिन थाले। सामाजिक कानुनलाई पनि उनीहरूले कडा बनाए। महिलाहरूलाई नियन्त्रणमा राख्न थाले। पूरै शरीर छोपेर महिलाले कपडा लगाउनुपर्थ्यो। पुरुषहरूले अनिवार्य रुपमा दाह्री पाल्नै पर्थ्यो। १० वर्षको उमेरपछि महिलालाई पढ्ने अधिकारबाट वञ्चित गरियो। उनीहरूले सिनेमा तथा संगीत र टेलिभिजन पनि नियन्त्रण गरे।

मध्य अफगानिस्तानमा रहेको एउटा वुद्ध मूर्ति ढालेपछि तालिबानहरूको व्यापक आलोचना हुन थाल्यो। मानवअधिकारवादीले उनीहरूको आलोचना गर्न थाले। विश्वाव्यापीरुपमै उनीहरूले मानवअधिकार उल्लंघन गर्न थालेको आरोप स्थापित भयो।

२०१२मा एकजना पाकिस्तानी किशोरी मलाला युसुफमाथि आक्रमण गरेपछि उनीहरूको झन् आलोचना भयो। मलाला पनि विश्वभर नै स्थापित भइन्। मुस्लिम किशोरी शिक्षाका लागि उनले नोबेल पुरस्कारसमेत पाइन्।

तालिबान सत्तामा रहेका बेला साउदी अरब, दुबई तथा पाकिस्तानले पनि मान्यता दिएका थिए। तर पछि तालिबानसँग पाकिस्तानले सम्बन्ध विच्छेद गर्‌यो।

अमेरिकासँग युद्ध र वार्ता

सन् २००१को ११ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क र वाशिङ्गटनमा अतिवादीले आतंकवादी हमला गरेका थिए।

करिब ३ हजार मानिसको मृत्यु र ३० हजार मानिस घाइते हुनेगरी भएको सो हमलाको मुख्य नाइके अन्तर्राष्ट्रिय आतंकवादी समूह अलकायदाका प्रमुख ओसामा बिन लादेन थिए।

तालिबानले नै लादेनलाई संरक्षण गरेको आरोप लाग्यो। तालिबानले पनि त्यो आक्रमणलाई समर्थन जनाएको थियो।

लादेनलाई तालिवानले अमेरिकी सरकारलाई सुम्पिन अस्विकार गरेपछि तत्कालै अमेरिकाले अफगानिस्तानमा हस्तक्षेप गरी तालिवान ‘निर्मूल’को अभियान चलायो।

सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गर्‍यो।

नेटो गठबन्धनले अमेरिकालाई सहयोग गरेपछि अमेरिकाले तालिवानबिरुद्धको युद्धलाई तीव्रता दियो। यसैबीच, सन् २००४ मा नयाँ सरकार गठन भयो, तर तालिवान हमला जारी रह्यो। सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिकाले तालिवानबिरुद्धको लडाइँमा केही सफलता हासिल गरे पनि त्यो दीर्घकालीन हुन सकेन।

सन् २०१४ को अन्त्यमा नेटो आबद्ध अन्तर्राष्ट्रिय फौजले आफ्नो मिसन पूरा गरी अफगान सेनालाई जिम्मा दिएर स्वदेश फर्किएपछि अफगान युद्धले नयाँ मोड लिएको थियो। नेटोको फिर्तीले तालिवानलाई केही ऊर्जा मात्र दिएन, अफगानिस्तानका थप क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन थाले। तालिवानहरु थप शक्तिशाली बन्दै गए भने अमेरिकाले पनि आफ्ना सेनालाई अफगानिस्तानबाट कटौती गर्दै गयो।

बरू अमेरिकाले आफ्ना सैनिकहरू नै फिर्ता गर्‌यो। अघिल्लो महिना अमेरिकाले आफ्ना सैनिक फिर्ता बोलाएपछि तालिबानले फेरि राज्यहरू नियन्त्रणको अभियानलाई कडा बनायो। यो बीचमा उसले अफगानिस्तानका सबै जसो प्रमुख सहरहरू नियन्त्रणमा लिएर आइतबार बिहानैदेखि देशकै केन्द्र काबुललाई चारैतिरबाट घेरा हालेको थियो।

हतियार कब्जा तालिबान सफलताको कडी

संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्‌यो।

तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ।

अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन् ‘हामीले हाम्रा अफगान साझेदारहरूलाई ‘सबै औजारहरू’ प्रदान गर्‍यौं । तर अफगान सुरक्षा फौजले त्यस लडाइँको लागि खासै जोड देखाएका छैनन् र हजारौंको सङ्ख्यामा सक्रिय तालिबानले उनीहरूलाई प्रमुख सहरहरूबाट तुरुन्तै उठाउन थालेका छन्।’

तालिबान समूहका सामाजिक सञ्जाल लडाकूहरूले हतियार ठूलो रुपमा जफत गरेको भिडियोले भरिएका छन्। यो अधिकांश हतियार पश्चिमी शक्तिहरूले प्रदान गरेको हो।

उत्तरी शहर कुन्दुजमा आत्मसमर्पण गरिरहेका अफगान सिपाहीहरू रहेको एक दृष्यचित्रमा शक्तिशाली हतियारले भरिएको र विद्रोहीले हातमा बन्दुक समाएर उभिएको देखाइएको छ।

पश्चिमी शहर फराहमा लडाकुहरूले चीलले सर्पलाई आक्रमण गर्दै गरेको तस्बिर रहेको गाडीमा गस्ती गरिरहेको पाइन्छ। यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक सङ्केत हो। यसले के बताउँछ भने विद्रोहीहरूले सरकारी सुरक्षा बलसँगबाट सबै प्रकारका हतियार तथा बन्दोबस्तीका सामानहरू कब्जा गरेका छन्।

हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन फ्लिश्नरले एएफपीसँग भनेका छन् ‘अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरणहरू आफूसँगै लगे पनि तालिबानको आक्रमणले उक्त समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोला बारूद’ दिएको छ।

विशेषज्ञहरूको भनाइअनुसार तालिवानका क्षेत्रीय सहयोगी समूहहरूको अज्ञात समर्थनले तालिबानलाई ठूलो बल मिलेको छ।

‘एस राजारतनाम स्कूल अफ इन्टरनेशनल स्टडीज’ का वरिष्ठ अधिकारी राफाएलो पन्टुचीका अनुसार यी हतियारहरूले काबुलमा तालिबानको आक्रमणलाई मात्र होइन यसले तालिवान लडाकूद्वारा कब्जा गरिएका शहरहरूमा उसको अवस्थालाई सुदृढ पार्नेछ।

अमेरिकी फौज सबै गइसकेपछि अहिले तालिबानले एक पैसा पनि खर्च नगरीकन अमेरिकाले अफगानिस्तानमा आपूर्ति गरेका औजारहरूलाई जम्मा गर्न सफल भएका छन्।

‘यो एकदमै गम्भीर कुरा हो। यो तालिवान लडाकू समूहका लागि ‘सफलताको कसी’ हुनेछ । यसको असर कतिपय प्रान्तीय सहर कब्जा गर्ने बेला देखिइसकेको छ’ उनले भनेका छन्।

अमेरिकी सेना उसको फिर्ता समय सीमाभन्दा अगाडि नै स्वदेश फर्किने तयारी भइरहँदा सन् २००१ मा भएको आतङ्ककारी हमलापछि अल कायदासँग सम्बन्ध कायम राख्ने अफगानी विद्रोहीहरू पनि अमेरिकाले अफगान सरकारलाई उपहार दिएका हतियार लिएर परेड खेले। सहरहरूबाट सरकारी सेनाको बहिर्गमन ९पतन० हुनु यहाँको सबैभन्दा खतरनाक परिदृश्य भएको सन् २००१ मा तालिबानलाई विस्थापित गर्न अमेरिकी विशेष फौजको नेतृत्व गर्ने जेसन अमेरीनले बताएका छन्।

अफगान राष्ट्रिय सेनालाई संकेत गर्दै उनले भनेका छन्– ‘अमेरिकाले हतियार र सैनिक बन्दोबस्तीका सामान तालिबानको हातमा पर्न सक्छ भन्ने अनुमानका साथ एएनएलाई सुसज्जित गरेको थियो। हालको संकट खरिद निर्णय गर्दा विचार गरिएको सबैभन्दा खराब परिस्थिति हो।’

तालिवानले आफ्नो सफलतालाई अफबाहको रूपमा फैलाउन सफल भएका छन्। यसले अफगानी सेना तथा अधिकारीलाई मनोवैज्ञानिक असर परेको छ।

कुन्दुज विमानस्थलमा रातो मोटरसाइकलमा रहेका तालिबान लडाकू शीरदेखि पैतालासम्म विद्रोही पोशाकमा सजिएका र विमानस्थलमा रहेको सैनिक हेलिकोप्टरलाई हेरिरहेको देखिन्थ्यो। हेलिकोप्टर उनीहरूको नियन्त्रणमा थियो। यो विद्रोही इलाकाभरि झल्किएको हर्षको चित्र हो।

विमानले कम्तीमा पनि विमानचालक विना युद्धभूमिमा कुनै असर पार्ने छैन । सीआईए आतंकवाद विरोधी विश्लेषक अकी पेरिट्जले भने ‘तिनीहरू अफवाहको उद्देश्यका लागि मात्र हुनेछन्।’

योभन्दा बढी उपयोगी भनेको देशको दुर्गम भू–भागमा मार्गनिर्देशन गर्न प्रयोग गरिने हल्का हातहतियार तथा गाडीहरू हुनेछन्।

सेनाको मनोबल घट्दै गएसँगै तिनीहरूले पश्चिमी समर्थित सरकारलाई तालिबानले निम्त्याउने खतरालाई बढावा दिनेछन्। संकट बढ्दै जाँदा, बाइडेनको प्रशासनले अझै पनि पराजित हुनै लागेको अफगान सेनालाई सुसज्जित गर्ने बताएको छ।

मध्यपूर्वका अवलोकनकर्ताहरूले यो हतियार हस्तान्तरण भएको पहिला नै देखेका छन्।

अमेरिका इराकबाट हटेपछि सन् २०१४ को मध्यतिर इस्लामिक स्टेट ९आइएस० समूहले इराकी शहर मोसुललाई कब्जामा लिएको थियो र यस क्रममा उसले अमेरिकाद्वारा आपूर्ति गरिएका बन्दूक तथा बख्तरबन्द गाडी पनि कब्जामा लिएको थियो, जसलाई जिहादी मुसलमानहरूले इराकदेखि सिरियासम्म इस्लामिक क्षेत्र घोषणा गर्नका लागि प्रयोग गरेका थिए। पेरिट्जले यो अहिले एउटा बाटोको रूपमा परिणत बनेको बताउँदै अफगानिस्तानमा तालिवानको विजय यस क्षेत्रको शान्तिका लागि मुख्य चुनौती भइरहने बताए।

जनधनको क्षति

२० वर्षसम्म अमेरिकालगायत अरू साझेदर संगठनका सैनिकहरू अफगानिस्तानमा तालिबानसँग लडिरहे।

यो बीचमा धेरै जनधनको क्षति भयो। एउटा तथ्याङ्कअनुसार यो २० वर्षे युद्धमा करिब ७१ हजार आम नागरिकले ज्यान गुमाए। ६९ हजार अफगानी सैनिक मारिए। अमेरिका र नेटो संगठनका करिब ३५ सय सैनिक मारिए भने ३ हजार ८ सय भन्दा धेरै सैनिक सहयोगीहरूको ज्यान गयो। तालिबानसँग आवद्ध भएका करिब ८४ हजार मानिसले यो युद्धमा ज्यान गुमाए।

त्यस्तै २७ लाख तालिबानी देश छोडेर छिमेकी देशमा शरणार्थी भए। अरु ३२ लाख मानिस देशभित्रै शरणार्थी छन्।

अमेरिकाले यो युद्धमा करिब २३ खर्ब डलर लडाइका लागिमात्रै खर्च गरेको भने करिब १४३ अर्ब डलर अफगानिस्तानको पुनर्निर्माणका लागि भनेर खर्च गरेको छ।

पछिल्लो एक महिनामा मात्रै करिब दुई हजार मानिसको ज्यान गइसकेको छ भने हजारौ मानिस घाइते भएका छन्। दुई लाख भन्दा धेरै मानिस यो बीचमा विस्थापित भइसकेका छन्। एजेन्सीहरूको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार