महामारीकाे बीचमा पनि इलामकाे अर्ग्यानिक अकबरेले बजार पाउँदै

 इलामबाट काठमाडौं पठाउन लागिएको अकबरे देखाउँदै व्यापारी लक्ष्मी घिमिरे ।

इलाम । बगान रातै देखिन्छ, टपक्कै टिपेर खान मिल्ने भए यो सिजनमा अकबरे खोर्सानीको बगान पुग्नेहरुलाई आनन्द महशुस हुन्थ्यो होला । आँखाले राम्रो देखेर पनि तुरुन्तै खान नसकिने अकबरे अहिले इलामका प्रत्येक किसानका बारीमा पाकेको देख्दा सबैको मन नै लोभिन्छ ।

केही वर्ष यता अकबरेको व्यावसायिक खेती सुरु गरेका इलामका किसानका लागि अकबरे खोर्सानी आम्दानीको भरपर्दो स्रोत बन्न थालेको छ ।

आइबारमात्रै आफूले फलाएको अकबरे बिक्रीका लागि इलाम सदरमुकाम आइपुगेका माइजोगमाई गाउँपालिका– ५ का किसान मनोज खत्रीले ९० किलो अकबरे काठमाडौं पठाए । सातामा दुई सय किलोसम्म उत्पादन हुने खोर्सानीले यो वर्ष राम्रै आम्दानी दिन थालेको खत्रीले बताए । ‘धेरै छ रोपेको छैन, आठ–नौं सय झ्याङ खोर्सानी रोपेको छु ।’ खत्रीले भने ‘यो वर्ष मौसमले साथ दिएकाले सातामा दुई सय किलोसम्म उत्पादन हुने गरेको छ ।’

गतवर्ष पनि कोभिडका कारण खोर्सानीको मुख्य सिजन साउन भदौमा बिक्री गर्न निकै समस्या थियो । यो वर्ष पनि बजार पु¥याउन त्यति सजिलो भने छैन । तर, प्रतिकिलो तीन सय ५० रुपियाँ सम्म बिक्री मूल्य रहेकाले किसानलाई केही राहत मिलेको खत्रीले बताए । ‘मल पानी सबै मिलाउन सक्दा र मौसमले साथ दिंदा थोरै लगानीमा पनि अकबरेबाट आम्दानी राम्रै हुँदो रहेछ ।’ खत्रीले भने ‘कोभिडले सबैतिर रोजगारीको बाटो बन्द भएको बेला अकबरेले केही राहत प्रदान गरेको जस्तै भएको छ ।’

सोयाङका अर्का किसान बीरबहादुर राईको बगानमा पनि यो वर्ष अकबरेको राम्रै फल लागेको छ । सातामा पाँच सय किलो सम्म बिक्री गरेका बीरबहादुरले विगत वर्षहरुमा भन्दा यो वर्ष उत्पादन राम्रो भएको बताए ।
कोभिडका कारण बजार बन्द भएपनि गाउँमा उत्पादित खोर्सानीको बजार भने राम्रो रहेको सदरमुकाममा तरकारी व्यापार गर्दै आएकी लक्ष्मी घिमिरेले बताइन् । घिमिरेले धेरै किसानको घर–घरबाटै अकबरे उठाएर काठमाडौं, विराटनगर, धरान लगायतका बजार पठाउने गरेकी छन् । ‘साउन यतानै करिब आठ लाख रुपियाँको अकबरेको कारोबार गरें, धेरै तिरबाट माग राम्रो आएको छ । जालीको बोरामा प्याक गरेर पठाउने गरेकी छु ।’ घिमिरेले भनिन् । प्रतिकिलो दुई सय ८० देखि तीन सय रुपियाँमा खरिद गर्ने घिमिरले बजार बन्दले भने निकै असर गरेको बताएकी छन् ।

यता वर्षौंदेखि अकबरे खेती गर्दै आउनु भएका सूर्योदय–१२ का किसान मदन राईले आफ्नो खेतीमा विशेषगरी गाईको गोबरमल, गहुँत निमको पिना, हड्डीको धुलो, आफैंले उत्पादन गरेको गड्यौले मल प्रयोग गरिरहेका छन् । दहीबाट घिउ निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्ने गरेको राई बताउछन् । ‘यसो गर्दा खोर्सानीलाई विषादी प्रयोग गर्नै पर्दैन, अर्गानिक उत्पादनको मूल्यनै फरक पर्छ ।’ राईले भने । गतवर्ष ‘भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीहरुलाई समेत खोर्सानी पठाएका राईले यो वर्ष पनि माग अनुसार अकबरे उत्पादन हुने र पठाउन सकिनेमा आफू विस्वस्त रहेको बताए । ‘कोभिडका कारण ढुवानीमै समस्या होला कि भन्ने हो, नभए अर्गानिक उत्पादन र मूल्यमा गतवर्ष भन्दा तलमाथि नहोला भन्ने लागेको छ ।’ राईले भने ।

जिल्लाका पञ्चकन्या, सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, माइमझुवा, गोदक, कन्याम, लक्ष्मीपुरलगायतका गाउँका किसानले अकबरेको व्यावसायिक खेती गर्दै आएका छन् । जिल्लाको १ सय ५५ हेक्टर क्षेत्रफल जमिनमा अकबरे खेती हुँदै आएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार