इलाम । ४० वर्ष भारतीय जेल जीवन बिताएर फर्किएका इलाम जिल्ला माई नगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिना आइतबार घरबाट हराएका छन् ।
दिउँसो नजिकै सूर्योदय नगरपालिका–१४ को खोल्मेटार स्थित धनबहादुर राईको घरमा गएको तर साँझ सम्म नफर्किएको भतिजा गोपाल तिम्सिनाले जानकारी दिएका छन् ।
गोपालका अनुसार दुर्गाप्रसाद अपरान्ह ५ बजे गोदकको घट्टा गोलाईबाट फिक्कल तिर हातमा चप्पल बोकेर हिडेको सम्म जानकारी आएको बताए। इलाम –१० का वडाध्यक्ष रोम लुङ्गेलीले उनलाई देखि कता हिड्नु भएको भनि सोधेको तर बोलेको केही नबुझिएको र कालो पत्रे बाटो हुदै फिक्कल तर्फ गएको जानकारी दिनुभएको थियो ।
भतिज गोपालले फोनमा जानकारी दिए। उनको खोजीका लागि प्रहरी र स्थानीयलाई गोदक, आईतबारे, फिक्कल लगायतका स्थानमा सूचना गरि सकिएको उनले बताए ।
घरमा खाना खाने, लुगा लगाउने, सरसफाइ गर्नेलगायत काममा दुर्गाप्रसादलाई केही सातायता मानसिक हिसाबले निकै गार्हो परिरहेको छ । त्यतिमात्र होइन, अश्लिल शब्द बोल्ने, परिवारका अन्य सदस्यलाई आक्रमण गर्नेजस्ता व्यवहार दुर्गाप्रसादले देखाएको गोपालले जनाए । ‘कुनैबेला मानसिक रूपमा उहाँ एकदम ठीक हुनुहुन्छजस्तो बोली–व्यवहार छ, कोहीबेला उहाँकै कारण परिवारको भौतिक सुरक्षा नै जोखिममा पर्लाजस्तो खतरा पनि छ,’ गोपालले भने, ‘चिकित्सकले बिस्तारै मानसिक अवस्था ठीक हुन्छ भन्ने सल्लाह दिएका छन् । तर, अवस्था चाहिँ झन्झन् बिग्रिएकोजस्तो देखिन्छ ।’
दुर्गाप्रसाद घर आएपछि उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा १७ दिन उपचार गरी घर ल्याइएको छ । ‘चिकित्सकले उहाँको मानसिक अवस्था ठीक छ, बिस्तारै सुधार हुन्छ भनेकाले फेरि उपचारमा लगिएको छैन,’ गोपालले भने, ‘तर, पुनः मनोचिकित्सकसँग परामर्श नगरी नहुने भइसकेको छ ।’
दुर्गाप्रसाद २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता भएका थिए । घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल परेका उनी गत फागुनमा भारतकै कोलकातास्थित दमदम कारागारमा भेटिएका हुन् । विभिन्न संघ–संस्थाको पहलमा उनलाई गत चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाकस्थित घर ल्याइएको हो ।
सन् १९८१ मै जेल परेका उनको मुद्दामा कुनै सुनुवाई भएन । यसरी लामो समय जेलमै कोचिएको थाहा पाएपछि कोलकाता हाइकोर्टले महावाणिज्य दूतावासमार्फत् ६र६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेगरी गत चैत ७ मा रिहा गरेको थियो । जेलबाट छुटेपछि दुर्गाप्रसादले आफूले हत्या गरेको नभई कसैले फसाएको बताएका थिए ।