एमाले फुटाउन अध्यादेश ल्याउने तयारीमा सरकार

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ। अध्यादेशमार्फत् सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको हो। दल विभाजनका लागि आवश्यक संख्याको प्रावधान खुकुलो बनाएर अध्यादेश आउने सम्भावना रहेको स्रोतले जनाएको छ।

देउवा निकट स्रोतले जनाएअनुसार दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो बनाएर अध्यादेश ल्याउने तयारी गरिएको हो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राति १२ बजेदेखि प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरिसकेको छ। अधिवेशन अन्त्यका लागि सिफारिस गरेर अध्यादेश ल्याउने सरकारले तयारी गरेको हो।

राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ। अध्यादेशमार्फत यो प्रावधानलाई खकुलो बनाउने व्यवस्था गर्न लागिएको स्रोतले बतायो।

प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सरकारमा सहभागी गराउन गठबन्धनआवद्ध दलले चाहेको छ।

नेता नेपाल पक्षलाई सरकारमा सहभागी गराउन भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।

दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउनेबारे गठबन्धनआवद्ध दलका शीर्ष नेताहरू सहमत भएको बताइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार