तपाईं नेपालको कुनै गाउँमा पुग्नुहोस्, न्यानो आतिथ्य पाउनुहुनेछ । गाउँघरमा भेटिने हरेक व्यक्ति तपाईंसँग परिचित मुस्कान दिनेछन् । सोध्नेछन्, ‘हजुर कहाँसम्म ? के का लागि आउनुभो ?’
त्यतीमात्र होइन, तपाईंलाई आफ्नै घरमा निम्त्याउनेछन् । चिया–पानी टक्रयाउनेछन् । दही, मोही र रैथाने खानेकुराले स्वागत गर्नेछन् । बारीमा सुन्तला फलेको छ वा अम्बा । मकै पाकेको छ वा कांक्रा । तपाईंलाई चखाउँछन् । त्यती मात्र होइन, आफ्नो घरमा आइदिएकोमा, आफ्नो चुल्होमा पाकेको खानेकुरा खाइदिएकोमा कृतज्ञ हुन्छन् । अहो ! यस्तो हार्दिकता अरु कहाँ पाइन्छ ?
सुदूर पश्चिम बैतडीको डिलाशैनी गाउँ पुग्नुहोस् वा पूर्व ताप्लेजुङ्गको फाक्तांलुङ, जहाँ पनि तपाईंलाई स्वागत गरिनेछ । हाम्रा गाउँघरको भित्री सौन्दर्य हुन् यी ।
गाउँघरको जनजीवन, रहनसहन, चालचलन आदिसँग साक्षतकार गर्ने हो भने तपाईंसँग यस्ता थुप्रै विकल्प छन् । हुन त हामी घुमफिर गर्ने भन्नसाथ शहर वा कुनै चिनिएका गन्तव्यबारे सोच्न थाल्छौ । विदेश सयरको योजना बनाउन थाल्छौं । लुम्बिनी, पोखरा, काठमाडौं, धरान आदि ठाउँको पर्यटयिक थलोबारे सोधीखोजी गर्न थाल्छौं । यद्यपी कुनैपनि गाउँमा गएर तपाईंले आफ्नो यात्रालाई रोमाञ्चक र स्मरणिय बनाउन सक्नुहुनेछ ।
त्यसमाथि अहिले होमस्टेको प्रचलन छ । धेरैजसो गाउँमा आगन्तुकलाई बस्न, खानका लागि अनुकुल बनाइएको छ । ति भेगमा स्तरिय वा सुविधायुक्त होटल, रेष्टुरेन्ट, लज नहोलान् । तर, हार्दिकतापूर्वक स्वागत गर्ने घर भेट्नुहुनेछ । ति घरमा तपाईं परिवार जस्तै भएर बस्न सक्नुहुनेछ । रैथाने वासिन्दासँग घुलमिल गरेर यात्राको फरक स्वाद लिन सक्नुहुनेछ ।
अतः अनलाइनखबरले यहाँ त्यस्तै चार गन्तव्यबारे चर्चा गरेको छ, जहाँ तपाईं होमस्टेका लागि जान सक्नुहुनेछ । हुन त नेपालमा अनगिन्ती गाउँ छन्, जहाँ होमस्टेका व्यवस्था छन् ।
पञ्चासेमा पाहुना
तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले
त्यही रुमालमा पञ्चासेको फूल राखें मैले
आंशिक रुपमा भएपनि यो गीतले ‘पञ्चासे’को रहनसहन बारे जानकारी दिन्छ । पञ्चासे आफैमा कहलिएको पर्यटकिय गन्तव्य हो । यो अग्ला पाँच डाँडाको संगमस्थल हो । खास कुरा चाहि के भने, यहाँ चौबिसे राज्यकालिन गढी र बुद्धका मूर्ति छन् ।
डाँडामा पञ्चशिल ताल छ । यससँगै बराह मन्दिर छ । कुनैबेला ऋषिमुनि बस्ने पञ्चासेलाई योग–साधनाको पवित्र भूमि पनि मानिन्छ ।
यही पञ्चासेमा आउने आगन्तुकलाई लक्षित गरेर त्यस नजिकका गाउँहरु चित्रे, भदौरे, देउराली, कालाबाङ, आर्थर लगायतमा होमस्टेको व्यवस्था गरिएको छ । तपाईं यही गाउँमा बसेर पञ्चासेको फन्को लगाउन सक्नुहुन्छ । सूर्योदय वा सूर्योअस्तको दृश्य हेर्न होस् वा पञ्चासेको अग्लाईबाट देखिने हिमालहरु नियाल्न, तपाईंका लागि गाह्रो हुनेछैन ।
पञ्चासे जानका लागि तपाईंले पोखरालाई प्रस्थान बिन्दु बनाउन सक्नुहुनेछ । त्यहाँबाट पञ्चासे पुग्ने चारवटा बाटा छन् । ति कुनैपनि बाटो समातेर तपाईं पञ्चासे पुग्न सक्नुहुनेछ ।
घुम्दै–फिर्दै घलेगाउँ
होमस्टे भन्नसाथ धेरैको मस्तिष्कमा आउने नाम हो, घलेगाउँ । वि.सं. २०५७ सालदेखि नै यस गाउँलाई ग्रामिण पर्यटकिय होमस्टे गाउँको रुपमा स्थापना गरिएको हो ।
पहाडी जनजीवन र गुरुङ कला–संस्कृतिलाई नजिकबाट नियाल्न चाहनेहरुको लागि यो अच्छा गन्तव्य हो । यहाँ पुगेपछि माछापुच्छ«े, मनास्लु, अन्नपूर्ण जस्ता हिमालहरु आँखै अगाडि नियाल्न सकिन्छ । प्रकृतिको मनोरम छटाहरुले मात्र तपाईंको मन लोभ्याउने छैन, खासमा त स्थानिय गुरुङ समुदायको परम्परा, संस्कृति, रहनसहनले आकर्षित गर्नेछ । घलेगाउँ पुगेपछि घाँटु हेर्ने कि, सोरठी । वा सेर्गा नाच्ने कि रोधीघर जाने ? तपाईंको मर्जी ।
घरमै पालेको माहुरीको मह खाने कि, घरेलु रक्सी ? सेलरोटी र सुकुटी खाने कि मकै–भटमास र गुन्द्रुकको अचार । तपाईंको रोजाई ।
टिलिक्क टल्कने हिम चुचुरालाई पृष्टभूमीमा राखेर पहाडमाथि थपक्क बसेको घले बस्ती । मझौला तर उस्तै शैलीका घर । तपाईंलाई यहाँको बसोबासले पनि बेग्लै अनुभूति गराउनेछ । त्यसमाथि गाउँको मौलिक परम्परा यहाँ अवलोकन गर्न सकिनेछ । जस्तो कुटानी पिसानीका लागि ढिकी जाँतो ।
त्यसो त यही ठाउँलाई केन्द्र बनाएर आसपासका थुप्रै गन्तव्यको फन्को पनि लगाउन सकिन्छ । जस्तो बाग्लुपानी, नाल्मा, सेर्का भन्ज्याङ, भुजुङ आदि ।
लम्जुङको घलेगाउँ तनहुँको डुम्रेबाट वा सदरमुकाम बेसीसहरबाट पनि पुग्न सकिन्छ ।
श्रीअन्तुको सेरोफेरो
नेपालबाट देखिने सूर्योदयको दृश्यमध्ये सर्वाधिक उत्तम गन्तव्य मानिन्छ, श्रीअन्तुलाई । पूर्वी इलामको यहि थुम्कोबाट सूर्योदयको अनौठो एवं आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । तर, श्रीअन्तुको सौन्दर्य यतिमा मात्र सीमित छैन ।
थुम्का–थुम्कामा कलकलाउँदो चिया बगान, कृतिम ताल र आकर्षक बस्तीहरु । खासगरी भौगोलिक सौन्दर्यले नै श्रीअन्तुलाई रोज्जा गन्तव्यको रुपमा स्थापित गरेको छ । मगमगाउँदो चियाको बास्नासँगै रैथाने स्वादमा रमाउन चाहनुहुन्छ भने श्रीअन्तुमा बास बस्नुभए हुन्छ ।
श्रीअन्तुलाई पर्यटकिय गन्तव्यकै रुपमा विकास गरिएको छ । यहाँ आगन्तुकको सुविधालाई ध्यानमा राखेर विभिन्न संरचना पनि निर्माण गरिएको छ । जस्तो भ्यु टावर, कृतिम ताल ।
पछिल्लो समय श्रीअन्तु होमस्टेको रुपमा पनि विकास गरिएको छ । यहाँ होमस्टे सञ्चालन भएको एक दशक बढी भइसकेको छ । श्रीअन्तुमा तामाङ, प्रधान, क्षेत्री लगायत जातजातिको बसोबास छ । यद्यपी यो लेप्चा जातिको जनजीवन नियाल्ने ठाउँ पनि हो । लोपोन्मुख लेप्चा जातिको जीवनशैली, संस्कृति बुझ्नका लागि श्रीअन्तु पुगे हुन्छ ।
श्रीअन्तुलाई केन्द्र बनाएर तपार्इं कन्यामको फन्को लगाउन सक्नुहुन्छ, सन्दकपुर उक्लन सक्नुहुन्छ । माइपोखरी घुम्न सक्नुहुनछ ।
थारु होमस्टेको मोहनी
तपाईं वन्यजन्तुको सौखिन हुनुहुन्छ भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुग्नैपर्छ । भनिहालौं, दक्षिण एशियामै सबैभन्दा धेरे बाह्रसिंङ्गा पाइने क्षेत्र हो यो । यहाँ एकसाथ हजारौं हाराहारीमा बाह्रसिङ्गाको बथान देख्न सकिन्छ ।
जंगल सफारी गरेर तपाईं यहाँको बनजंगल फन्को लगाउन सक्नुहुनेछ । यस क्रममा तपाईंले जंगली हात्ती, गैंडा, खरायो लगायत थुप्रै जीवजन्तु देख्न सक्नुहुनेछ । यही ठाउँमा पुगेपछि हो, तपाईंले बसोबासका लागि थारु होमस्टेलाई सम्झनुपर्ने ।
राना थारु होमस्टे भनेपछि बुझ्न गाह्रो हुँदैन, थारु समुदायलाई नजिकबाट नियाल्ने आँखीझ्याल भनेर । उनीहरुको रहनसहन कस्तो हुन्छ, वेशभूषा कस्तो हुन्छ, खानपान कस्तो हुन्छ ? यावत् उत्सुकता मेट्न सकिन्छ । यसका लागि कञ्चनपुरको भीमदत्तनगरसम्मको यात्रा गर्नुपर्ने हुन्छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको नजिक यो होमस्टे अवस्थित छ । शुक्लाफाँटा आफैमा पर्यटकिय गन्तव्य । यहाँबाट मयूर, चित्तललगयात पशुपंक्षी अवलोकन गर्न सकिन्छ । साथै यहाँ पुगेपछि एसियाकै दोस्रो लामो झोलुङ्गे पुल पनि अवलोकन गर्न सकिन्छ । यस आसपासमा हीरापुर फाँट, बेदकोट ताल, सिङगेश्वर मन्दिर छन्, जसले पर्यटकलाई लोभ्याउँछ ।
यहाँ पुगेपछि तपाईंले सुदूरपश्चिमको मौलिक कला संस्कृतिसँग साक्षतकार गर्न सक्नुहेनछ । त्यो भन्दा पनि रमाइलो चाहि, थारु जातिको मौलिक पहिरन, गरगहना, नृत्यु र खानपानको स्वाद लिन सकिनेछ ।