आफ्नै कारणले चिया पत्तिको मूल्य कम पाइरहेका छन् किसान

  आवाज संवाददाता


इलाम । सूर्योदय नगरपालिकाले तीनवर्ष अघिदेखि हरियो चियापत्तीको न्यूनतम मूल्य ४० रुपियाँ निर्धारण गरेर कार्यान्वयनमा ल्याएको थियो । गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ कार्यान्वयन गर्न त्यो समयमा उद्योेगी, किसान, नगरपालिका सबै सहमत भएर कार्यान्वयनमा आएको थियो ।

तर, कार्यविधि अनुसार कसैले पनि काम नगर्दा अहिले हरियो पत्तिको मुल्य प्रतिकिलो २० देखि ३० रुपैयाँमा झरेको छ । गएको सातायता उद्योगहरुले किसानलाई राम्रो पत्ति भए प्रतिकिलो ३० रुपैयाँ र अलि कमसल भए प्रतिकिलो २० रुपैयाँ दिनथालेका छन् ।

वर्षायामको चिया गुणस्तरहीन आउन थालेपछि धेरै जसो उद्योगहरुले सिजनको सुरुदेखिनै दिंदै आएको प्रतिकिलो ४० देखि ४५ रुपैयाँबाट घटाएको उद्योगीहरुको भनाइ छ । तर, उद्योगले दुई पात एक सुइरो होस अथवा हंसियाले काटेर पठाएको पत्ती होस दुवैलाई एउटै मुल्य दिंदा थोरै तर राम्रो चिया उत्पादन गर्ने साना किसानहरु मारमा परेको स्वयं बताउँछन् ।

साना किसानले भने जस्तै अवस्था पनि उही छ । किसानले मुल्य कम पाएको गुनासो आएपछि चिया उद्योग र संकलन केन्द्रको अनुगमनमा निस्किएको जिल्ला समन्वय समिति प्रमुख सहितको टोलीले पनि हरियो पत्तीमा हुनुपर्ने जुन गुणस्तर थियो त्यो गुणस्तर खासै भेट्टाएन । ‘कतै बुढो पत्ती छ, कतै हंसियाले काटेकै घाँस जस्तै लामो पत्ती छ, कतै चाँहि दुई पात एक सुईरो पनि छ ।’ जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले भने ‘अलिबढी चाँहि किसान पनि सचेत नभएकै पाइयो । उद्योगीले पनि भारत जाने चिया बन्द भएपछि मुल्य घटाएको जवाफ दिए ।’

सूर्योदयले लागू गरेको प्रतिकिलो ४० रुपैयाँको समर्थन मुल्य ठीकै भएपनि किसान पनि सचेत गुणस्तरमा नहुने र जस्तो आएपनि आएको पत्ती फिर्ता नपठाउने गर्दा उद्योगीको पनि कतै स्वार्थ लुकेको छ कि भन्ने शंका गर्ने ठाउँ भएको जिसस प्रमुख बरालको भनाइ छ । नगरपालिकाले कार्यान्वयनमा ल्याएको कार्यविधिमा भने ४० प्रतिशत मूना हुनुपर्ने र त्यसको न्यूनतम मुल्य प्रतिकिलो ४० रुपैयाँको व्यवस्था छ ।

४० प्रतिशत मूनानै नभएपछि र गुणस्तरहीन भएपछि पत्तीको मुल्य घटाउन बाध्य हुने अवस्था आएको सूर्याेदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेल बताउँछन् । ‘किसानले कस्तो पत्ती पठाइ रहेका छन्, त्यो पनि हेर्नुपर्छ, कार्यविधि अनुसार काम गर्ने हो भने नगरपालिकाले किसानलाई गुणस्तरीय पत्ती उत्पादन गर्न सचेत गराउनु पर्छ ।’ सचिव कट्टेलले भने ‘उद्योगमा जस्तो पत्ती आएपनि आएको पत्ती उद्योगले फिर्ता चाँहि पठाउँदैन ।’

अहिले प्रत्येक किसानले विषादी हालेको पत्ती बिक्री गर्ने गरेको कट्टेलको भनाइ छ । ‘विषादी हालिएको छ, प्रत्येक किसानका घर–घरमा विषादी छ, गुणस्तर छैन, अर्गानिक अभियान भन्ने तर अनुमगन नगर्ने र समर्थन मुल्य देऊ भन्दा मात्रै नगरपालिकाको कतव्र्य पुरा हुँदैन’ कट्टेलले भने ।

यता सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई भने किसान, उद्योगी सबैले इमान्दारीता देखाउँदा मात्र चियामा गुणस्तर र मुल्य दुवै कायम हुने बताए । ‘सबै इमान्दार भएर कार्यविधि मानौं र कार्यविधिलाई कार्यान्वयन गरौं अनिमात्र किसान उद्योगी दुवैलाई फाइदा पुग्न सक्छ ।’ राईले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार