चियाकाे राजधानीमै चियामा समस्या समाधानका लागि पहल गरिदैं

  आवाज संवाददाता

इलाम । चिया चर्चा चलिरहेका बेला सूर्योदय नगरपलिकामा चियाको गुणस्तर र मुल्य कायम गर्न थप करसत थालिएको छ । बुधबार नगरपालिका, उद्योगी र चिया तथा कफी विकास वोर्ड चिया विस्तार योजना फिक्कल बीच भएको एक छलफलले चियामा गुणस्तर कायम नहुँनका कारण पत्ता लगाउँदै एक गुणस्तर कायम गर्ने सम्बन्धी मस्यौदा तयार गर्ने सहमति भएको छ ।

किसानबाट गुणस्तरीय हरियो पत्ति नआउनु र उद्योगहरुले न्यूनतम् मूल्यभन्दा कम मूल्य दिनुको मुख्य कारण मस्यौदामा आउने छ । मस्यौदाले कुन बाटोबाट अगाडि बढ्दा गुणस्तर र मुल्य दुवैमा किसान र उद्योगी दुवैलाई सहज हुनसक्छ भन्ने पनि औंल्याउने अपेक्षा गरिएको छ । चिया विस्तार योजना कार्यालयले बनाउने मस्यौदा बिहीबार बेलुका सम्ममा तयार हुने सूर्योदय नगरपालिका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताए । कार्यालयले मस्यौदा तयार गरी नगरपालिकालाई बुझाउने छ ।

किसानबाट गएको चियाको गुणस्तर नभएपछि उद्योगहरुले पनि मूल्य घटाउन बाध्य भएको उद्योगीको भनाइ छ । ‘गुणस्तर नहुनु र मूल्य कम हुनमा उद्योगी र किसान मात्रै पनि जिम्मेवार छैनन्’ चिया विस्तार योजना फिक्कलका प्रमुख इन्द्र अधिकारी भन्छन् ‘चियामा गुणस्तर नहुनुको पछाडि संकलनकर्ता अर्थात व्यापारीको पनि उत्तिकै भूमिका देखिएको छ ।’ संकलनकर्ता मार्फत उद्योगमा पुगेको चिया बोरामा खाँदेर, सुकेको अवस्थामा काराखाना पुर्याउने र कतिपय बोरामा त चिया काट्ने हंसियाँसहित पनि पुग्ने गरेको उद्योगीको गुनासो रहेको अधिकारीले बताए ।

त्यसो त किसानलाई आफूले दिएको हरियो पत्ति संकलकले कुन उद्योगमा दिन्छ भन्ने किसानलाई पत्तो समेत हुँदैन । चिया संकलकले उद्योगलाई ठेक्कामा चियाको परिमाण पु¥याउने गरेका छन् । एउटा उद्योगमा आफूले दिने चियाको परिमाण पुग्यो भने संकलकले अन्यत्रै पनि चिया बिक्री गर्ने गरेको पाइएको छ । ‘गहिरो गरी हेर्दा गुणस्तर नहुनुमा संकलक अर्थात बिचौलियाको ठूलो हात छ ।’ अधिकारीले भने ‘समयमा उद्योगमा हरियो पत्ति नपु¥याउनु, जता बढी पैसा हुन्छ त्यतै बिक्री गरिदिनु पनि मुख्य समस्या देखिन्छ ।’ पछिल्लो समय लुकिछिपि भारत निकासी हुने चिया रोकिएका कारण पनि ठूलो परिमाणमा उद्योगमा चिया आएपछि उद्योगले मूल्य घटाएको अर्को कारण हुनसक्ने अधिकारीको भनाइ छ ।

‘सूर्योदयमा रहेका दुई किसिमका उद्योगहरु छन् । नेपाली मूलका लगानी कर्ताले चलाएको उद्योगमा गुणस्तर हेरिन्छ, तर भारतीय मूलका लगानी कर्ताले चलाएको उद्योगमा परिमाण हेरिन्छ ।’ अधिकारीले चियाको मुल्य र गुणस्तर नहुनुमा अर्को कारण पनि दिए ‘त्यही कारण पनि चियामा समस्या आएको हो ।’ यता चिया उद्योगीहरुले भने गुणस्तरीय चिया आए त्यो चियाको राम्रो मुल्य दिन आफूहरु तयार रहेको बताउँछन् । ‘गुणस्तर नभएपछि न्यूनतम मुल्य कसरी दिने ? उद्योगीको समस्या चाँहि छैन ।’ कट्टेलले भने ‘हाम्रो एउटै मात्र कुरा भनाई हो, गुणस्तरीय पत्ति आउने वातावरण मिलाइ देऊ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार