झापामा एक युट्युबरसहित तीनजना पक्राउ

काँकडभिट्टा । बिर्तामोडको एक होटलमा खाजा खान बसेका व्यक्तिको भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भनी युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । चरित्र हत्या गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् ।

पीडितले ६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए । पीडितले बिर्तामोडको होटल जंगल भ्यु चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल सञ्चालक सुवास कार्की, युट्युबरहरु खगेन्द्र घिमिरे र भाष्कर श्रेष्ठ तथा सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाईं पोखरेल विरुद्ध उजुरी दिएका थिए ।

प्रहरीले जिल्ला प्रशासन कार्यालय झापाबाट पक्राउ अनुमति लिएर भट्टराई, कार्की र घिमिरेलाई पक्राउ गरेको जनाएको छ ।

मंगलबार राति बिर्तामोडको सिमाना होटलको कोठाभित्र बसेर खाजा खाइरहेका दुई महिला र एक पुरुषको भिडियो खिचेर सार्वजनिक गरिएको थियो ।

पक्राउ परेका सबैलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जनाए । ईकान्तिपुरमा पर्वत पाेर्तेलले समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार