इलाम । चिया र अलैंचीको मुख्य उत्पादन हुने इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना गर्न पहल थालिएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत धनकुटामा रहेको यो केन्द्रलाई चिया र अलैंची उत्पादन हुने स्थानमै स्थापना गर्न पहल थालिएको हो ।
यो केन्द्रले चिया र अलैंचीको क्षेत्रमा अनुसन्धान गर्छ । ‘सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैंची विकास केन्द्रले अलैंची विस्तारको काम गर्छ, यो कार्यालयले चाँहि अनुसन्धानको काम गर्छ ।’ धनकुटास्थित नेपाल अनुसन्धान परिषद नार्क पाख्रिबासका प्रमुख डाक्टर गोविन्द्र तिम्सिनाले भने ‘अहिले सम्म नेपाली चियाको जात छैन, नेपाली अलैंचीको पाँचवटा जात बल्ल दर्ता भएको छ । अलैंचीका अरु १५ जात बाँकीनै छन् । अनुसन्धान हुनै बाँकी छ ।’ यो कार्यालय इलाममा स्थापना गर्न सकियो भने चिया र अलैंचीका लागि महत्वपूर्ण काम हुनसक्ने तिम्सिनाले बताए ।
इलाममा उक्त कार्यालय स्थापना गर्न प्रदेश स्थित कृषि मन्त्रालयसँग समन्वय भइसकेको डा. तिम्सिना बताउँछन् । ‘हामीलाई जग्गा उपलब्ध हुनसाथ कार्यालय स्थापना गर्छौं ।’ तिम्सिनाले भने ‘नेपालटारमा जग्गा उपलब्ध हुने कुरा आएको छ अब चाँडै हामी त्यसको निरिक्षणमा जानेछौं ।’
त्यसोत नेपाली चिया आफ्नै जात अहिले सम्म विकास हुन सकेको छैन । अलैंचीको पनि गतवर्ष पाँचवटा जातलाई नेपाली जातका रुपमा दर्ता गरिएको छ । नेपालमा खेती हुँदै आएका गोलसाई, रामसाई, डम्बरसाई, भलाङ्गे र जिर्मले गरि पाँच जातको दर्ता गरिएको थियो । आफ्नै जात दर्ता गरेर नामाकरण गरेपछि विश्वमा नेपाली जातको चिया र अलैंची चिन्न सकिने र कसैले पनि नेपाली जातमाथि धावा बोल्न नमिल्ने विज्ञहरुको भनाइ छ ।
यता अनुसन्धान केन्द्र इलाम ल्याउनलाई जग्गा व्यवस्थापनको काम भइरहेको प्रदेश स्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम रानाले बताए । ‘साँखेजुङको बेतेनी आधारभूत विद्यालयको एक–डेढ सय रोपनी जग्गा छ, त्यही जग्गामा यो कार्यालय राख्नु पर्छ कि भन्ने सल्लाह हुँदैछ ।’ रानाले भने ‘यदि त्यहाँ भएन भने जग्गा उपलब्ध हुने स्थानमा व्यवस्थापन गर्नुपर्छ ।’