इलाम । गएको वर्ष जेठ १५ गते झुण्डिएर आत्माहत्या गरेको अवस्थामा इलाम नगरपालिका–८ की १४ वर्षीया बालिका दिलासा दङ्गाल घर नजिकै फेला परिन । घटनाको अनुसन्धान गर्दा प्रहरीले उनको साथबाट बलात्कार पछि आत्महत्या गरेको ‘सुसाइट नोट’ फेला पार्यो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले भोपिल्टै छिमेकी अमरप्रसाद ढुङ्गानालाई पक्राउ गर्यो । साइनोले मामा पर्ने ढुङ्गाना विरुद्ध प्रहरीले जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरि कार्वाही अघि बढायो । पछि घटना घटाइएको प्रमाणित भयो ।
जिल्ला अदालतले गएको पुस ६ गते उक्त मुद्दाको सुनुवाई गर्दै आरोपित ढुङ्गानालाई जबरजस्तीकरणी तर्फ १८ वर्ष, हाडनाता करणीमा एक वर्ष, आत्महत्या दुरुत्साहनमा एक वर्ष गरि २० वर्ष कैद सजायको फैंसला ग¥यो । ढुङ्गाना विरुद्ध हाडनाता तर्फ दश हजार रुपियाँ, आत्महत्या दुरुत्साहनमा दश हजार रुपियाँ जरिमाना र मृतक परिवारलाई ६० हजार क्षतिपूर्ति तथा पीडित राहत कोषमा दुई हजार दुई सय रुपियाँ बुझाउने सजाय सुनायो । परिवार र आफन्त भित्रैबाट घटेको यो घटना उदारणमात्र हो ।
अहिले आफ्नै मामाकी छोरी, काकाकी छोरीमाथि पनि बलात्कारका घटना भएको तथ्य जिल्ला अदालत इलाममा छ । गएको वर्ष चार वर्षकी बालिका देखि वृद्ध अवस्थाका महिलाहरुमाथि समेत बलात्कारका घटना भएको पाइएको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले बताए । उनी भन्छन् ‘घरमा अभिभावक नभएको अवस्थामा, बाबुआमा आफ्नो नानीलाई छरछिमेकमा हेर्न छोडेर आफू काममा गएको बेला नाबालिकाहरु माथि समेत बलात्कारका घटना भएको पाइएको छ ।’
श्रेस्तेदार भट्टराईका अनुसार जिल्लामा गएको वर्ष ५० वटा बलात्कारका घटना भएका छन् । अदालतमा दर्ता भएका यी मुद्दा मध्ये २९ वटाको त फैंसलानै भइसकेको छ । बलात्कार मात्र होइन यो वर्ष जिल्लामा पत्नी हत्याका घटना पनि संख्यात्मक रुपमा बढेको छ । पत्नी हत्या घटना पनि जिल्लामा भइरहेको पाइन्छ । गएको पुस २१ गते देउमाई नगरपालिका – ८ की २७ वर्षीय नम्रता राई निजकै ३३ वर्षीय पति सुबास राईले खुकरी प्रहार गरि हत्या गरे ।
फागुन २ गते राती चिरपटले सूर्योदय नगरपालिका– ५ की १९ वर्षीया गीता तामाङको पनि निजका पति २३ वर्षीय दिनेश तामाङले हत्या गरे । जेठ २८ गते देउमाइ नगरपालिका– ४ चित्रेका ४५ वर्षीय ताकबहादुर तामाङले निजकी ४६ वर्षीया पत्नी सूर्जामाया तामाङको दाउले घाँटी रेटेर हत्या गरे । बाँस काट्न जंगल हिंडेका तामाङले घरायसी विवादका कारण पत्नीको हत्या गरेर नजिकै खोल्सा फ्याकेका थिए ।
चैत ७ गते इलाम नगरपालिका– ३ का ५२ वर्षीय देउराम राईले ४४ वर्षीया पत्नी कमला राई, १२ वर्षीया छोरी प्रमिला राई र छिमेकी का छोरा १५ वर्षीय अनुप राईलाई खुकुरी प्रहार गरि घाइते बनाए पछि आफू झुण्डिएर आत्महत्या गरे । ७ गते बेलुका छ बजे तिर देउमानले घरायसी विवादकै क्रममा पत्नी, छोरी र छिमेकीका छोरालाई समेत खुकुरी प्रहार गरेको पाइएको प्रहरीले जनायो ।
त्यसोत जिल्ला अदालतका अनुसार पनि गएको वर्ष जिल्लामा महिला सम्बन्धी ३०६ मुद्दा दर्ता भएका छन् । ती मध्ये १९२ मुद्दा अदालतले फरछ्र्यौट गर्यो । अझै ११४ वटा महिला सम्बन्धी मुद्दा अदालतले फैंसला गर्नै बाँकी छ ।
पछिल्लो समय भएको महिला हत्याको काण्डले प्रहरी सुरक्षामा थप सतर्क बन्नु पर्ने अवस्था रहेको इलामका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठको भनाइ छ । ‘एक महिना अघि अदालत भित्र, सुरक्षा घेरा भित्रै भएको महिला हत्याको घटनाले हामी सचेत भएका छौं । जनमानसमा पनि सुरक्षा सम्बन्धी सचेतना अझै फैलाउन जरुरी देखियो । ’ श्रेष्ठले भने ।