इलामको पालिकाहरुमा ३२ करोड बेरुजु, कुन पालिकाकाे कति ?

बेरुजु घटाउँदै पालिकाहरु

  आवाज संवाददाता


इलाम । इलामका १० स्थानीय तहमा ३२ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालये शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार इलामका १० स्थानीय तहले ३२ करोड ६४ लाख दुई हजार रुपैयाँ आर्थिक अनुशासन भन्दा बाहिर रहेर खर्च गरेका हुन् ।
आर्थिक वर्ष ०७४।७५ मा इलामको स्थानीय तहमा ६४ करोड ८५ लाख तीन हजार रुपैयाँ थियो भने, ०७५।७६ मा ५३ करोड ९३ लाख ९३ हजार रुपैयाँ बेरुजु रहेको छ । इलामको कुल बेरुजु रकम वर्षेनी घट्दै गएको छ ।

इलामको फाकफोकथुम गाउँपालिकामा सवैभन्दा बढि बेरुजु प्रतिशत छ । फाकफोकथुममा ६.८१ प्रतिशत बेरुजु छ । एक नम्बर प्रदेशको १३३ वटा स्थानीय तहको लेखा परिक्षण गर्दा औषतमा ३.१७ प्रतिशत बेरुजु छ । त्यसमा पेशकी लिएको रकम घटाउने हो भने २.७७ प्रतिशत बेरुजु देखिन्छ । महालेखा परिक्षकको कार्यालयले लेखा परिक्षण गरेको मुलुकभरका ६ सय ९४ स्थानीय तहको बेरुजु ४.४९ प्रतिशत रहेको छ भने पेशकी रकम घटाउँदा ४.०८ प्रतिशत रकम बेरुजु देखिन्छ । तर, फाकफोक थुम गाउँपालिकामा इलामकै अन्य पालिकाको तुलनामा दोब्बर बढि बेरुजु प्रतिशत देखिएको छ । महालेखा परिक्षकको कार्यालयले फाकफोकथुम गाउँपालिकाको ८२ करोड २९ लाख ३७ हजार रुपैयाँको लेखा परिक्षण गरेको थियो । त्यस मध्ये पाँच करोड ६० लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । फाकफोकथुममा आव २०७५÷७६ को लेखा परिक्षणमा एक करोड ५८ लाख ५४ हजार रुपैया बेरुजु र आव २०७४÷७५ मा १४ करोड ६५ लाख १३ हजार बेरुजु देखिएको थियो ।

इलाममा सवैभन्दा कम बेरुजु प्रतिशत माङेबुङ्ग गाउँपालिकाको छ । माङसेबुङ्ग गाउँपालिकाको भने २.०९ प्रतिशत बेरुजु देखिन्छ । माङसेबुङ्ग गाउँपालिकाको एक करोड ४६ लाख ५९ हजार रुपेयाँ बेरुजु देखिन्छ । महालेखाले माङसेबुङ्गको ७० करोड, १४ लाख २६ हजार रुपैयाँको लेखा परिक्षण गरेको हो । माङसेबुङ्गमा आव २०७५।७६ मा पाँच करोड ८६ लाख १९ हजार रुपैयाँ र आव २०७४।७५ मा एक करोड ८९ लाख १४ हजार बेरुजु देखिएको थियो ।

सूर्योदयन गरपालिकामा पाँच करोड १४ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ । एक अर्ब ९७ करोड ९७ करोड ३५ लाख दुई हजार रुपैयाँ खर्चको लेखा परिक्षणमा पाँच करोड १४ लाख ३७ हजार रुपैयाँ बेरुजु देखिएको छ । सूर्योदयमा आव ०७५।७६ मा मा ९ करोड ५५ लाख ५४ हजार बेरुजु थियो भने, आव ०७४।७५ मा ८२ लाख ९३ हजार बेरुजु देखिएको थियो ।

माइजोगमाई गाउँपालिकामा ३.१३ प्रतिशत बेरुजु देखिन्छ । गाउँपालिकाकाको ८३ करोड, ३९ लाख ६० हजार रुपैयाँको लेखापरिक्षण गर्दा दुई करोड ६० लाख ६६ हजार रुपैयाँ बेरुजु देखिन्छ । माइजोगमाईमा आव २०७५।७६ मा ११ करोड ५१ लाख ८० हजार रुपैयाँ र आव ०७४÷७५ मा ६५ लाख १३ हजार रुपैयाँ बेरुजु देखिएको थियो ।

रोङ गाउँपालिकाको ३.९८ प्रतिशत बेरुजु रहेको छ । गाउँपालिकाले खर्च गरेको ९४ करोड ६ लाख ७८ हजार रुपैयाँको लेखा परिक्षण गर्दा तीन करोड ७५ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको छ । रोङमा आव २०६५।७६ मा चार करोड ४१ लाख २८ हजार रुपैयाँ र आव २०७४।०७५ मा ४० लाख ६९ हजार बेरुजु देखिएको थियो ।

त्यस्तै इलामको माई नगरपालिमाका ३.२३ प्रतिशत बेरुजु छ । माई नगरपालिकाको एक अर्ब १२ करोड ११ लाख ६२ हजार रुपैयाँको लेखा परिक्षण गर्दा दुई करोड ५० लाख २२ हजार रुपैयाँ बेरुजु पाइएको छ । माई नगरपालिकामा आर्थिक वर्ष ०७५।०७६ मा एक करोड १७ लाख ४६ हजार रुपैयाँ बेरुजु थियो भने आव ०७४।७५ मा ४० करोड ५२ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेको थियो ।

चुलाचुली गाँउपालिकामा २.१५ प्रतिशत बेरुजु छ । गाउँपालिकाको ८५ करोड ७८ लाख २८ हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा एक करोड ८४ लाख ४६ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । चुलाचुली गाउँपालिकामा आव ०७५।७६ मा एक करोड २३ लाख ५५ हजार रुपैयाँ र आव ०७४।७५ मा एक करोड १५ लाख २८ हजार बेरुजु देखिएको थियो

यस्तै इलाम नगरपालिकाको २.२३ प्रतिशत खर्च बेरुजु रहेको छ । इलाम नगरपालिकामा चार करोड ४३ लाख १० हजा रुपैयाँ बेरुजु रहेको छ । एक अर्ब ९१ करोड एक लाख ५१ हजार रुपैयाँ खर्चको लेखा परिक्षण चार करोड ४३ लाख १० हजार रुपैयाँ बेरुजु देखिएको हो । इलाम नगरपालिकामा आव ०७५।०७६ मा १३ करोड ४१ लाख ७० हजार बेरुजु थियो भने, आव ०७४।७५ मा दुई करोड ३४ लाख १४ हजार बेरुजु देखिएको थियो ।

त्यस्तै देउमाई नगरपालिमामा तीन करोड १४ लाख ११ हजार रुपैयाँ बेरुजु देखिन्छ । एक अर्र्ब आठ करोड ६३ लाख ५१ हजार रुपैयाँ खर्चको लेखा परिक्षण सो रकम बराबरको बेरुजु देखिएको हो । देउमाई नगरपालिकामा २.८९ प्रतिशत खर्च बेरुजु देखिन्छ । देउमाईमा ०७५÷०७६ मा ४२ लाख ८५ हजार रुपैयाँ बेरुजु थियो भने, आव २०७४।७५ मा २८ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेको थियो ।

सन्दकपुर गाउँपालिकामा २.७५ प्रतिशत बेरुजु देखिन्छ । सन्दकपुरमा दुई करोड १४ लाख ६६ हजार रुपैयाँ बेरुजु छ । ७८ करोड चार लाख नौ हजार रुपैयाँ खर्चको लेखा परिक्षण गर्दा दुई करोड भन्दा बढि रकम बेरुजु देखिएको हो । सन्दकपुरमा आव २०७५।७६ मा चार करोड ७५ लाख र आव २०७४।७५ मा दुई करोड ११ लाख ८० हजार बेरुजु देखिएको थियो । खर्च गर्ने अख्तियारी पाएका संस्थाहरुले कानुन बमोजिम आवश्यक कागजपत्र पुरा नगरी गरिएको आर्थिक कारोबारलाई महालेखा परिक्षकको कार्यालयले परिक्षण गर्दा बेरुजु रकमको रुपमा दर्ज गर्छ । कानुन सम्बत तरिकाले खर्च नगर्दा स्थानीय तहले गरिरहेको खर्चमाथी प्रश्न उठ्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार