महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका पूर्व क्याम्पस प्रमुखलाई खुलापत्र

आदरणीय पुर्व क्याम्पस प्रमुख जस बहादुर लुँगेली ज्यु,
नमस्कार !

तपाई केहि समय अघि सेवानिवृत्त भएतापनितपाईको शिक्षाप्रतिको लगाव देखेर पुर्व क्याम्पस प्रमुख कै सम्बोधनमा यस पत्र लेख्दै छु । स्वीकार गरिदिनु होलाभन्ने आशागर्दछु ।
तपाई जिल्लाकै अग्रणी बहुमुखीक्याम्पस हाकेको पुर्व क्याम्पस प्रमुख, अटोनोमीको वकालत गर्ने कमान्डर, तत्कालिन हर्टिकल्चर र फ्लोरिकल्चर म्यानेजमेन्ट (हालबागवानी विज्ञान) विषयको निर्माता, पुर्व प्राध्यापक नेताआदि जस्ता बहुमुखी छवि बनाउनु भएको व्यक्तिसंग म जस्तो बबुरोले के लेख विश्लेषण गर्न सकुलाँ र ! तर पनितपाईको पछिलो प्रतिक्रियात्मक लेखमा अधिकांश झुट र बेतुके कुराहरुले भरिएको देखेपछि यो पत्र नलेखी बस्न सकिन । उक्त लेखमा भरिएका भ्रम र अर्थहीन प्रश्नका तथ्य परक जवाफ दिनका लागि आज यो पत्र कोर्दै छु । साथै म त बागवानी पढेको एउटा साधारण विद्यार्थी; तपाई जस्तो राजनीतिक पार्टीको टेवा लिदै कुनै शैक्षिक संस्थाको कमाण्ड सम्हाल्न पुगेको व्यक्ति हैन, त्यसैले विद्यार्थीहरुले स्वत स्फुर्त रुपमा बिना उक्साहट प्रश्न गर्न सक्छन भन्ने अति सामान्य सोच राखिदिनु होला। किनभने हामी सम्पूर्ण विद्यार्थीहरुले न्यायका लागि पछिल्लो ७ वर्षबाट निरन्तर लडिरहेका छौं (#justiceforhorticulturestudents) । यसमा हामीले जिम्मेवारी लिएका तर काम नगरेका र गर्न नसकेका क्याम्पस प्रशासनका नेतृत्वकर्ताहरुसँग प्रश्न राख्ने अधिकार पक्कै पाउछौं होला । जुन कुराका लागि न त हामीलाई कुनै आइतबार नै कुर्नु पर्छ न त कुनै पार्टीको झण्डाको वकालत वा गुटको नै आवश्यकता पर्दछ ।

‍पछिल्ला केहि महिनायता तपाई आफुले जानी नजानी निकै कसरत गर्दै इलाममा एउटा गतिलो कृषि क्याम्पस चाहिन्छ भन्दै वकालत गर्दै आउनु भएको छ। सायद तपाईले १० वर्ष अघि पनि महेन्द्र रत्नबहुमुखी क्याम्पस (मरब) इलाम जिल्लामा बागवानी तथा पुष्पविज्ञान व्यवस्थापन विषयको आवश्यक छ भन्ने कुरा यसरी नै उठाउनु भएको थियो होला । उक्त बेला तपाईं मरब क्याम्पसको जिम्मेवार नेतृत्वमा हुनु हुन्थ्यो, आज भने इलाम नगरपालिकाअन्तर्गत संचालनमा ल्याउन खोजिएको कृषि (स्नातक) क्याम्पस संचालक समितिको अध्यक्ष । तसर्थ हामी त्यहिँ इलाममा अध्ययरत र उत्तीर्ण विद्यार्थीहरुले हामीले पढेको विषयलाई अनेक लान्छना लाउदै त्यहि सेरोफेरोमा खोलिन लागिएको कृषि क्याम्पस विरुद्ध तपाईसँग बहस गर्दै सफा उत्तर खोजिरहेका छौं ।

तपाई रतपाईको झुण्डले बागवानी विरुद्ध छरेका केहि भ्रमहरु र उठेका प्रश्न ;

भ्रम नं (१) विज्ञ टोलीले बनाएको पाठ्यक्रम
तपाइको नेतृत्वमा १० वर्ष अघि संचालनमा आएको ४ वर्षे स्नातक तहको बागवानी तथा पुष्पविज्ञान व्यवस्थापन विषय सिक्किम विश्वविद्यालयको हुबहु साभार भन्ने कुरा हामीसँग उक्त बेलाको पाठ्यक्रमले बताउँछ, जुन स–प्रमाण छ । म आफु स्वयम् प्रथम ब्याचको विद्यार्थी र ३ पटक परिवर्तन भएको पाठ्यक्रम पढेर वि.सं. २०७४ मा उत्तीर्ण भैसकेको विद्यार्थी हुँ । पाठ्यक्रम Tribhuvan University (TU) / Agriculture and Forestry University (AFU) को विवादभन्दा अघि नै बनाइएको थियो भनिएको छ। तर वि.सं. २०६९ बाट मात्र शैक्षिक कार्यक्रम संचालित भएको हुदा उक्त गल्तिलाई किन सच्याईएन ? अटोनोमी र फरक भूमिकामा वर्तमान समयमा म लगायत पीडित विद्यार्थीहरुले तत्तकालीन क्याम्पस प्रमुख लुँगेली उपर बाण बर्षाएको कुराको प्रमाण पेश गर्दै तत्कालिन पाठ्यक्रम राखेर जुधाएर हेर्ने हिम्मत राख्न सक्नु हुन्छ ? को–को विज्ञले हाम्रो पाठ्यक्रम बनाउनु भो ? कि ति बेला को–को विज्ञले कहाँ–कहाँ गोष्ठी सेमिनार आयोजना गरेर पाठ्यक्रम बनाई दिए भनेर हामी विद्यार्थी नै खोज्न जानुपर्ने हो ?

भ्रम नं (२) बागवानी विज्ञान विषय कृषिको एउटा हागो मात्र

हो सिधा अर्थमा बागवानी शब्द भनेको कृषिको एउटा पाटो हो । तर यो आफैंमा एकीकृत बाली सम्बन्धिको विषय हो। वर्तमान समयको B.Sc.Hort पाठ्यक्रम तेश्रो पटक परिमार्जित भएर संचालित भैरहेको छ। यसमा कुल 150 Credit Hours बढीको पाठ्यक्रमभार, कृषिका आधारभूतदेखि अनुसन्धानसँग जोडिएका बागवानी, बाली रोग, किट विज्ञान, कृषि अर्थशास्त्र, बाली विज्ञान, माटो विज्ञान र कृषि प्रसारसँग जोडिएका विषयहरु छन्। हो बागवानी विज्ञानमा नेपालका विभिन्न विश्वविद्यालयहरुद्वारा संचालित B.Sc. Ag को झैं “पशुपालन र मत्स्य” का आधारभूत विषयहरु सामेल छैनन् । तर बागवानी B.Sc. Ag कै सरहको पाठ्यक्रमभएकाले “पशुपालन र मत्स्य”बाहेकका अन्य सम्पूर्ण बाली सम्बन्धित (Plant Sciences) विषयहरुमा कुनै फरक छैन । यसबारे त्रिवि कृषि र पशु विज्ञान अध्ययन संस्थान (IAAS) ले विज्ञका सिफारिस अनुसार आफ्ना २ स्नातक तहका कार्यक्रमहरु (B.Sc. Ag/B. Sc. Hort) समान हैसियतका हुन भनि आफ्नो स्नातकोत्तर कार्यक्रममा (पशु विज्ञान र मत्स्य बाहेकका विषयहरुमा) कुनै विभेद नगर्नु र केहि वर्षदेखि लोकसेवा योग्यता (पाँच समूह) र AFU मा  स्नातकोत्तर गर्न योग्य छन् भन्ने विभिन्न समयमा कैयौं पटक गरिएको सिफारिसले प्रमाणित गर्दछ ।

अलिकति खोज र अनुसन्धान मुलक अध्ययन गर्ने हो भने कृषिमा अब्बल भारत लगायत अन्य विकशित देशहरुले आधारभूत न्युनतम् पाठ्यक्रमको अध्ययन पश्चात् अन्तिमका वर्षहरुमा विशेषज्ञतामा (specialization) जाने गर्दछन् । ताकि सबै विषयहरुको सतहमा अध्ययन भन्दा कुनै एक क्षेत्र समातेर त्य समाविशेषज्ञता हासिल गर्नु उत्तम हो। हाम्रो बागवानीले नामको त specialization बोक्यो, तर पाठ्यक्रमभार उही B.Sc. Ag बराबर कै रहेकोले बागवानी (B. Sc. Hort) कृषिको एउटा हागोमा मात्रसिमित छैन।

त्यसैले बागवानीको ढाडमा टेकेर अर्को क्याम्पस खोल्ने सपना देख्दै गर्दा बागवानीले पछिल्लो समयमा पाठ्यक्रममा के के परिमार्जन गर्र्योे भनेर नबुझी त्यस माथि धनुस बाण हान्ने तपाईको सोच फराकिलो हुन जरुरी छ । तपाई एकजना ‘अर्थशास्त्रको प्राध्यापक‘ले कृषि शिक्षाको विज्ञ हुन तम्सिदा, विषयगत कुरामा अध्ययन कमि भएको स्पष्ट झल्किन्छ । कृपया नेपालमा संचालन भइरहेका कृषि सम्बन्धित स्नातक तहका पाठ्यक्रमहरुको तुलनात्मक अध्ययन (Course comparison) गर्नु होला। यदि भेट्टाउनु भएन भने हामी विद्यार्थीहरुसँग सम्पर्क गर्नु होला। अनि त्यस पश्चात् स्वस्थ र ‘लजिकल‘ बहस गर्न सक्नु हुन्छ भने यहाँलगायत यहाँको समूहलाई हार्दिक स्वागत !

भ्रम नं (३) खेलाडी र रिङ्गका कुरा

आफु पदासिन हुँदा कार्य समाधान नगर्ने तर निस्किने बित्तिकै यो भएन त्यो भएन, म भए गर्ने थिए आदि जस्ता हावादारी कुरा गर्नु एउटा राजनीतिक नियुक्तिको बाटो समातेको व्यक्तिका मुखबाट निस्किने स्वाभाविक बोलि नै हो । यो त हाम्रो देश कै प्रमुख समस्या पनि हो। यहाँको ‘रिङ्ग र खेलाडी‘ भन्ने केहि वर्ष अघिबाट चलिआएको पंच–लाइन पनि त्यहि ड्याङ्ग कै मुला भने जस्तै नै हो । किनभने, कार्यक्रम निर्मातालाई जरैदेखिको सम्पूर्ण कुराहरु थाहाँ हुन्छ। गल्ति कहाँनेर भएको थियो पनि स्पष्ट भनिरहनु भएको छ। तसर्थ ‘मलाई र मेरो गुटलाई किन प्रहार गर्छौ, बहालवालालाई भन जाओँ भन्नु गैरजिम्मेवार कुरा हैन र ? यसो भन्दै गर्दा तपाईलाई पछुतो लाग्दैन ? आफु क्याम्पस प्रमुख पदबाट बिदाभए पछि पनि त्यहि क्याम्पसमै कार्यरत हुनु हुन्थ्यो । तपाईं आफु जिम्मेवार पदमा आसिन हुँदा र बाहिर हुँदा कुनै भद्रो नहेरी कति पटक को–कोसँग बागवानीका समस्याहरुका समाधानका निमित्त छलफल गर्नु भो ?
अझबागवानी संकायमै ‘अर्थशास्त्र’ विषय अध्यापन पनि गराउनु भयो । प्रतक्ष्य लाभ जति सबै लिने, अनि नीतिगत बिग्रेका कुराहरुमा आखाँ बन्द गर्दै प्रहार मात्र गर्ने ? यो कस्तो प्रवित्ति ?

भ्रम नं (४) नगरपालिकाले चलाउने कृषि क्याम्पस

माथि उल्लिखित बागवानी विज्ञानको (B.Sc. Hort) पाठ्यक्रममा रहेर भन्नु पर्दा यहाँलगायत कृषि क्याम्पस खोल्ने टिमलाई अलिकति ज्ञान भएको भए M.Sc.Ag को थालनी गर भन्ने गज्जबको अर्ति भन्ने कुरा नै उठ्ने थिएन होला। किनभने तपाईलाई पनि थाहाँ भएकै हुनु पर्छ, यि भिन्न तहका डिग्री हुन् । साथै नेपालमा २० हाराहारीमा B. Sc. तहका (Agriculture-Horticulture) अध्ययन अध्यापन हुने संस्थाहरु छन् तर हालसम्म ३ वटा मात्र M. Sc.(Agriculture) तहका शैक्षिक संस्थाहरु छन् ।जसको परिणाम सैयौं विद्यार्थीहरु उच्चशिक्षाका लागि वर्षेनी विदेशिनु परिरहेको छ । अनि तपाई (क्याम्पस खोल्ने टोलि ) सँग नेपालमा वार्षिक कति संख्यामा कृषि प्राविधिक (जेटी-जेटिए), स्नातक तह, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीहरु उत्तीर्ण हुन्छन् भन्ने तथ्यांक छ ?अनि उक्त जनशक्ति कहाँ कहाँ कुन कुन रुपमा खपत भइरहेका छन् भन्ने अध्ययन छ ? छैन ! किन कि तपाईहरुको नगरपालिकाअन्तर्गतको कृषि क्याम्पसको योजना सहि ढंगले अध्ययन गरिएको पाइदैन, न त विषय विज्ञको सहि अध्ययनको यथेष्ट जानकारी छ। छ त केवल फगत पुरातनवादी विना अध्ययनका तर्कहरुः कृषिको विकास भएन, परम्परागत प्रणाली भयो, अर्थशास्त्रसँग एकाकार गर्न सकिएको छैन, किसानहरु प्राविधिक ज्ञानबारे बेखबर आदि इत्यादि।

अनि आन्तरिक किचलोले लिप्त हुँदै विद्यार्थी मारा कार्य मात्र गर्ने B.Sc. Hort उत्तीर्ण र अध्ययनरत विद्यार्थीहरुलाई अलपत्र पार्दै नाङ्ग्लो व्यापार गरे जस्तो फेरी समान स्तरको B. Sc. Ag कै सम्बन्धन माग्ने मरब क्याम्पसलाई  त्रिविले किन सम्बन्धन दिने ? यो भनेको मरब क्याम्पसबाटै बागवानी विज्ञान लाई ‘फ्लप’ बनाएर सखाप पार्ने यहाँलगायत केहि व्यक्तिहरुको ग्राण्ड डिजाइन हो भनेर प्रष्ट बुझ्न सकिन्छ । यस विषयबारे पीडित विद्यार्थीहरुले उक्त कार्यसँग सम्बन्धित व्यक्तिहरु प्रति निरन्तर आवाज उठाइरहने छौं।

एउटा पीडा भोगेको विद्यार्थीको सानो सुझाव तपाईहरु जस्ता जिल्लाका हस्तीहरुलाई नपच्नु स्वाभाविक नै हो। मरब क्याम्पसमा बागवानी विज्ञान स्नातक कार्यक्रम संचालन भएको हुनाले त्यहि ठाउँमा समान तहको अर्को कार्यक्रम ल्याएर भिडाउनु भन्दा उच्च तहको (Masters) संचालन भयो भने विद्यार्थिहरुले इलाममै थप उच्चशिक्षा अध्ययन गर्न पाउने थिए । यसो गर्दै गर्दा नगरपालिकालाई पनि स्नातक को सट्टा स्नातकोत्तर कार्यक्रम संचालन गर्दा आफ्नो लक्ष्य हासिल गर्न केहि फरक पार्छ होला र ? कि B.Sc. Ag  कार्यक्रम ल्याउदा मात्र प्राकृतिक देनको सदुपयोग र समग्र कृषिको विकास गर्न सकिने हो ?

यसका साथै ‘आफ्ना जनतालाई कुन खालको शिक्षा सेवादिने हो सो निधो गर्ने कर्तव्य र अधिकार  अनि जनप्रतिनिधिले निर्णय गरेपछि अरुले टाउको दुखाउनु पर्दैन’ भन्ने मुख्य एजेन्डा बोक्नु भएको यहाँहरुले के इलाम नगरपालिका भित्रका विद्यार्थीलाई मात्र B.Sc. Ag  अध्ययन गर्न दिने योजना हो ? यदि हैन भने यो किन सार्वजनिक चासो को विषय छैन ? किनभने सम्बन्धन केन्द्रिय विश्वविद्यालय अन्तर्गत रहेको छ । कि कार्यक्रम खोल्ने बेलामा मात्र B.Sc. Hort लाई अनेक लान्छना लाइएको हो ?
यी कुराहरुका उठानमा तपाई लगायतत पाईका झुण्ड फेरी ‘अभिमन्यु भाग–२’ को मनगढन्ते कथा लिएर आउनु हुन्छ होला। कृपया उक्त कार्य अघि आफुले दु:ख गरेर अध्ययन गरेको विषयबारे सत्य तथ्य बोल्दा कुनै समूह वा राजनीतिक पार्टीको धोति समाउनु पर्दैन भन्ने समान्य सोच बहन गरिदिनु होला।

र, अन्त्यमा

आफ्नो नेतृत्वमा एक दशक अघि नै मरब क्याम्पस इलाममा कृषि संकायअन्तर्गत प्राविधिक विषय सुरु गर्नु भयो । आज थालानिकर्ता र हालसम्मका प्रशासनिक नेतृत्वकर्ताको असफलताले गर्दा सैयौं विद्यार्थीहरु सुन्दर भविष्यको खोजीमा छट्टपट्टिरहेको सन्दर्भ छ। तर अफसोच यहाँहरु (यहाँलगायात झुण्ड) ति तमाम कुराहरुलाई महाभारतको सकुनी पाराले ‘ट्याकल‘गर्दै फेरी अर्को ‘ट्रायलस्वरुप कृषि क्याम्पस खोल्न तल्लिन हुनुहुन्छ । विद्यार्थीहरुलाई अन्याय भयो भनेर ‘यो समाधान गर्न सबै जुटौं हौ’ भन्ने बेलामा उल्टै मरब क्याम्पस र पीडित विद्यार्थीहरु प्रति बन्चरो प्रहार गर्दै हुनुहुन्छ। सायद आफ्नै छोराछोरीले अध्ययन गरेर पीडा भोगेको भए विद्यार्थीका दु:ख बुझ्ने चेस्टा गर्नु हुन्थ्यो होला। तर मेरो कार्यकालमा यो गरे त्यो गरे भन्नलाई मात्र खुट्टो उचाल्नु भएको यहाँ जस्तो व्यक्तिले के बुझ्नु होला र खै हाम्रा समस्याहरु । अनि ति तपाईंका तमाम संजीवनी पहाड बोक्ने ‘हनुमानहरु’, जो बेला बेला सामाजिक संजालमा तपाईंको जस्तै वकालत गर्दै हिँड्छन्, उनीहरुलाई पनि मिलेछ भने आफु प्रष्ट भएपछि एकपटक बागवानी विज्ञानको पाठ्यक्रमबारे प्रष्ट पारिदिनु होला। विषयवस्तु बारे उनीहरु अत्यन्तै अनविज्ञ छन्, यहाँसँगको राजनितिक लाइन र भविष्यमा लाभ पाइएला कि भन्ने उद्देश्यले ले मात्र उफ्फ्रीएको झल्को पाइन्छ। साथै केहि जिल्लाभित्रैका ठालु प्राध्यापकहरु पार्ट–टायम कोर्ष पढाउन पाइन्थ्यो कि भनेर र्याल काडी रहेका छन् । आखिर शिक्षा जस्तो कुरामा चरम राजनीति ठीक हैन भन्ने कुरामा हामी सबै जानकार नै छौं होला।

साथै, सबै रिटायर्ड व्यक्तिहरु काम लाग्दैनन भन्ने कदापि हैन, तर तर यहाँहरु जस्तो ‘टेस्टेड अनि फेलर‘ (बागवानीमा मात्र केन्द्रित) ले फेरी उही तरिकाको कार्यक्रम संचालन गर्नलाई हातधोएर लागि पर्नु पक्कै पनि तर्क संगत छैन मात्रै भनिएको हो।तपाई नयाँ कार्यक्रम खोल्नेमा त परिपक्क हुनुहुन्छ होला, तर कार्यक्रम चलाउने र विद्यार्थीको भविष्यबारे आलोकाँचो नै हुनुहुन्छ भन्ने प्रमाणित भइसकेकै छ। तसर्थ सेफ ल्याण्डिङ्ग सबैभन्दा महत्वपूर्ण कुरा हो भन्ने बुझिदिनु होला।

 अन्ततः सरकारी सेवामा लड्न र नेपालकै विश्वविद्यालयमा अध्ययन गर्न बन्चित हुने भएपछि उच्चशिक्षा अध्ययन गर्न विदेशिएको मलाई शुभकामना पनि दिनु भएछ, धेरै धेरै धन्यवाद । हो तपाईहरुले बागवानी विज्ञान कार्यक्रम नखोलिदिएको भए सायद म आज यसरी विदेशमा अध्ययनरत हुने थिइन होला। नेपालमै गर्वका साथ योग्य हुदै सेवा वा अध्ययन गरिरहेको हुने थिए होला। हो तपाईहरुले कार्यक्रम नखोलिदिएको भए ‘तपाई’ जस्ता सैयौं इलामेली घरधनीहरुको कोठाहरु ४ वर्षका लागि निर्धक्कसँगले भाडामा लाग्ने थिएन नहोला, विशेष गरी टुँडिखेल र फुलगाँछी सेरोफेरोका पसल र व्यापारहरु फस्टाउने थिएन नहोला । सुदुर पुर्वदेखि सुदुर पश्चिम, हिमालदेखि तराई सम्मका विद्यार्थीहरु सुन्दर भविष्यको कल्पना गर्दै इलामसम्म आउने थिएनन्  होला । इलाम मिनी नेपाल झल्को दिने शैक्षिक हब भन्ने थिएन होला ।
तर तपाईहरु त स्वदेशमै काम लाग्ने शिक्षा दिने भन्दा पनि विदेशिन बाध्य बनाउने शिक्षा दिन पो माहिर हुनुहुँदो रहेछ। त्यसैले खोल्न लागिएको नयाँ कार्यक्रममार्फत अन्य सयौं विद्यार्थीहरु अन्यायमा नपरुन । आमाबुवाको लाखौँ पैसा खर्च गरेर अध्ययन गरे पश्चात् बाध्यताले हैन रहरले मात्र विदेसिउन। यहि हाम्रो पीडित विद्यार्थीहरुको तर्फबाट कामना। अनि प्रि–रिटायर्ड समयमा यहाँ बागवानी विज्ञानको संस्थापक निर्माता र त्यसपछि स्वयम्  खलनायक भएता पनि पोष्ट–रिटायर्ड जीवन र इलाम नगरपालिकाले खोल्दै गरेको कृषि क्याम्पसको महानायक हुनु भएकोमा हार्दिक बधाई एवं शुभकामना ।

बाँकी कुरा अर्कोपत्रमा।
उही पिडित विद्यार्थी प्रतिनिधि

(लेखक मरब क्याम्पसबाट बागवानी विज्ञानमा स्नातक उत्तीर्ण र हाल साउथ डकोटा स्टेट युनिभर्सिटी, संयुक्त राज्य अमेरिकामा स्नातकोत्तर अन्तिम सत्रका विद्यार्थी हुन्।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार