इलाम । नेकपा एमाल जिल्ला कमिटी इलामले विधान संशोधन मस्यौदामा सुझाव संकलनको लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
जिल्ला कमिटीले नगरेन्द्रनाथ भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय सुझाव संकलन कार्यदल गठन गरेको हो । नेकपा एमाले इलामले विधानमा सुझाव संकलन गर्नको लागि बुधबार सदरमुकाममा जिल्ला भेला गरेको थियो ।
नेकपा एमाले इलामका अध्यक्ष तथा प्रदेश सरकारको कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्री राम रानाको अध्यक्षतामा भएको भेलाले सुझाव संकलनको लागि कार्यदल गठन गरेको हो ।
कार्यदलमा दुर्गादेवी भट्टराई, शोभा पराजुली, कृष्ण श्रेष्ठ र प्रकाश अधिकारी सदस्य छन् । समितिले सात दिन भित्रमा विधान संशोधन मस्यौदामाथि सुझाव संकलन गरेर जिल्ला पार्टी कमिटिलाई बुझाउनुपर्ने छ । समितिले पालिका स्तरमा सुझाव संकलनको लागि मस्यौदा पठाउने, पालिका स्तरबाट आएको सुझाव र जिल्ला भेलामा उठेका विषयहरुलाई समेटेर प्रतिवेदन बनाउने कार्यदलका सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।
नेकपा एमालेको केन्द्रीय कमिटिको बैठकले विधान संशोधन मस्यौदालाई पारित गर्दै सुझाव संकलनको लागि मातहतका कमिटिमा पठाएको हो । नेकपा एमालेले असोज पहिलो साता विधान संशोधनको लागि विधान अधिवेशन गर्ने भएको छ ।