सूर्याेदयमा चियापत्तिकाे न्यूनतम् मूल्य ४० ताेकियाे, गुणस्तर पहिलाे शर्त

इलाम ।  सूर्योदय नगरपालिकाले जारी गरेको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ अनुसारनै किसानलाई हरियो पत्तिको मुल्य प्रतिकिलो ४० रुपैयाँ दिने सहमति भएको छ ।

सूर्योदय नगरपालिका, सूर्योदय टी प्रोड्यूसर्स एशोसिएसन र राष्ट्रिय चिया तथा कफी विकास वोर्डको संयुक्त छलफल पछि विभिन्न सर्त पालना गर्ने गरी न्यूतम मुल्य प्रतिकिलो ४० रुपैयाँ दिने सहमति भएको नगरपालिका स्थित आर्थिक समिति संयोजक देशवेन्द्र शर्मा आचार्यले जानकारी दिए ।

यसरी भएको त्रिपक्षीय सहमति सँगै विभिन्न सर्त सहितको निर्णय समेत भएको छ । चिया संकलकले अनिवार्य आफ्नो संकलन केन्द्रमा ४० प्रतिशत मुना सहितको चियालाई आफ्नो व्यावसायिक बीलमा दर उल्लेख गरी किसानलाई अनिवार्य बिल दिनुपर्ने, ४० प्रतिशत मुनाभन्दा कम चिया आएमा संकलकले फिर्ता गर्नुपर्ने वा किसान आफैं जिम्मेवार हुनुपर्ने निर्णय गरिएको छ । यस्तै चिया संकलकले जाली झोलामा ३५ किलो मात्र राखेर ढुवानी गर्न पाउने, संकलकले बाटा–बाटामा चिया संकलन गर्न नपाउने र संकलकले उद्योगमा ल्याएको चियामा ४० प्रतिशत मुना नभएको पाइए संकलकले किसानको मूल्य घटाउन नपाउने निर्णय गरिएको छ । यसैगरी संकलकले आफ्नो संकलन केन्द्रमा संकलन गरेको चिया कुन उद्योगमा लाने हो सो उद्योगको नाम स्पष्ट रुपमा सूचनामा टाँस गर्नुपर्ने भएको छ ।

सहमति पछि एशोसिएसनले एक विज्ञप्ती जारी गर्दै चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँनै दिने सहमति भएको जनाएको छ । यसअघि उद्योगहरुले उक्त मूल्य नदिएपछि जिल्ला समन्वय समिति सहितको अनुगमन टोलीले हरियो पत्तीको अनुगमन गर्दा गुणस्तरहीन पत्ती पाइएको थियो ।

उद्योगीहरुसँग यस्तो सहमति भएपछि राम्रो पत्ति बिक्री गर्ने किसानहरुलाई पनि न्यूनतम ४० रुपैयाँ मूल्य हुँदा केही राहत मिलेको महशुस भएको आर्थिक समिति संयोजक आचार्य बताउँछन् । ‘गुणस्तरहीन पत्ति त छँंदैथियो तर कम्तिमा ४० प्रतिशत मुना भएको पत्ति बिक्री गर्ने किसानलाई सोझै घाटा थियो ।’ आचार्यले भने ‘अहिले सम्म चियामा देखिएको मूल्य र गुणस्तरको समस्या क्रमशः समाधान हुन्छ भन्ने अपेक्षा छ ।’

प्रतिकिलो ४०–४५ रुपैयाँ दिंदै आएका उद्योगहरुले गएको साउन दोस्रो साता यता गुणस्तरीय नभएको भन्दै प्रतिकिलो २०–२५ रुपैयाँ मात्र दिंदै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार