इलाम । कोभिड संक्रमण विरुद्धको खोपको माग बढी रहेका बेला इलाममा कोभिडसिल्ड र भेरोसिल्ड खोप लगाउनेहरुका लागि दोस्रो मात्रा आइपुगेको छ । यो सँगै गत फागुनमा कोभिडसिल्ड लगाउने जेष्ठ नागरिकहरुले दोस्रो मात्रा लगाउन पाउने भएका छन् ।
कोभिसिल्ड लगाउनेहरुलाई अब एक्ट्राजेनेका खोप दोस्रो मात्राका रुपमा दिइने इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
इलाममा १५ हजार ६९५ जनाले गत फागुनमा कोभिडसिल्ड खोप लगाएर दोस्रो मात्राको पखाईमा थिए । यस्तै गएको साउनमा भेरोसिल्ड खोपलगाउने २१ हजार ९३२ जनाले पनि भेरोसिल्डको दोस्रोमात्रा लगाउन पाउने भएका छन् ।
आगामी भदौ १५ गतेदेखि दोस्रो मात्राको खोप लगाउन शुरु गरिने छ । ‘हिजो खोप आइपुग्यो, अब त्यसलाई चिस्याउन ७२ घण्टाको समय लाग्ने र पालिकाहरुमा पठाउन समय लाग्ने हुँदा १५ गतेबाट मात्र खोप लगाउने तयारी हुन्छ ।’ प्रजिअ खड्काले भने ‘नियमित खोप चलेका पालिकाहरुमा १६ गतेबाट र नियमित खोप नभएका पालिकामा १५ गतेबाट खोप शुरु हुनेछ ।’ अन्तिममा बाँकी रहेको खोप परिक्षा दिने विद्यार्थीहरुलाई प्रवेश पत्रका आधारमा दिइने प्रजिअ खड्काले बताए ।
१५ गतेदेखि देउमाइ नगरपालिका, माई, फाकफोकथुम, माङसेबुङ र चुलाचुली गाउँपालिकामा सञ्चालन हुने छ । यी पालिकाहरुमा २१ गतेदेखि बालबालिका र महिलाहरुलाई दादुरा, रुवेला, टिटिलगायतका नियमित खोप शुरु हुने भएकाले २० गते सम्म कोभिड विरुद्धको खोप लगाउने योजना रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन विमल बरालले जानकारी दिए ।
बरालका अनुसार १६ गतेदेखि इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ, माइजोगमाई र सन्दकपुर गाउँपालिकामा खोप सञ्चालन हुनेछ । सबै पालिकाहरुमा पहिलो दुई दिन जेष्ठ नागरिकका लागि एक्ट्राजेनेका र त्यसपछि भेरोसिल्ड खोप लगाइने छ । अन्तिम दिन परिक्षा दिने विद्यार्थीहरुलाई बाँकी रहेको खोप लगाउने तयारी रहेको जनाइएको छ ।