झापा।चिठ्ठा परेको भनी प्रलोभन देखाएर ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
अनलाइनबाट चिठ्ठा परेको सामग्री भन्सारबाट छुटाउन राजश्व लाग्ने भन्दै बिभिन्न बैकहरुको खाता नम्बर दिएर बिभिन्न ब्यक्तिहरुबाट रकम ठगी गर्ने झापा अर्जुनधारा-९ का २९ बर्षीय पंकज पौडेली बिक पक्राउ परेका हुन् ।
पौडेलीले अनलाइनको माध्यमबाट ठगी गरेको भनी महानगरीय अपराध महाशाखा काठमाण्डौमा ठगि मुद्दा दर्ता भएसँगै खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पौडेलीको साथबाट नगद तीन लाख ५६ हजार सात सय १० रुपैयाँ, निजको घरकोठामा रहेको दराज भित्रवाट दुई लाख आठ हजार दुई सय रपैयाँ र पौडलीको घर पछाडीको गाई ग्वाली छेउमा रहेको गोवरको थुप्रो भित्र झोलामा प्याकिङ गरी गाडिएको अवस्थामा आठ लाख ३० हजार तीन सय ५० रुपैयाँ गरी जम्मा तेह्र लाख पन्चानब्बे हजार दुई सय १५ रुपैयाँ नगद बरामद भएको छ ।
यसैगरी पौडेलीको नाममा दर्ता कायम रहेको सवारी दर्ता किताव १ थान, विनोद काफ्लेको नामको सवारी चालक अनुमति पत्र १ थान ,अनिल बस्नेतको नामको सवारी चालक अनुमति पत्रको प्रतिलिपी, पंकज पौडेलीको नामको नागरिकताको प्रतिलिपी १ थान र सिम सहितको माेबाइल दुई थान बरामद भएको छ । ठगीको आरोपमा पक्राउ परेका उनलाई थप अनुसन्धानको लागी महानगरीय अपराध महाशाखा मिनभवन काठमान्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।