इलाम । लगातारकाे वर्षा आजदेखि कम हुने भएकाे छ । मौसममा केही सुधार हुने मौसमविद्ले बताएका छन् । माैसममा सुधार भएसँगै केही दिनयता परेको लगातारको झरी केही कम हुँदै जाने बताइएकाे छ ।
पानी पार्ने मनसुनी प्रणाली केही कमजोर हुँदै जाने भएकाले आजदेखि लगातार झरी पर्ने क्रम पनि कम हुने छ। हिजोअस्तिको तुलनामा मौसममा केही सुधार हुने भए पनि आज वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना छ।
यस्तै बाँकी प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशभरको मौसम पूर्णदेखि सामान्य बद्ली रही प्रदेश(१, वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ।
लगातार लामो समय जमिन भिजेको हुनाले भिरालो ठाउँमा पहिरो, बाढी र डुबानको जोखिम हुने भएकाले सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले पनि धेरै ठाउँमा पानी परिरहेको छ ।
यस्तै आज देशका केही नदी तथा खोलामा पानीको सतहले खतराको तह पार गर्न सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । विशेषगरी आज महाकाली, नारायणी, तिनाउ र कमला नदीमा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।