चिया सुरुप्प पारेसँगै हाम्रो दैनिकी सुरु हुन्छ । बिहान उठेपछि हामी चिया पिउँछौं । पाहुना जाँदा होस् आउँदा, चियाले सत्कार गरिन्छ । चियासँग हाम्रो जिब्रो पनि अभ्यस्त छ । जब फुर्सद हुन्छ वा दिक्क लाग्छ, जिब्रोमा चियाको तलतल लागिहाल्छ ।
काम गरिरहेकै अवस्थामा यसो विश्राम लिन प¥यो भने हातमा चियाको गिलास खोज्छौं । कुनै दिक्दारीबाट उम्कन होस् वा खुसी सेलिब्रेट गर्न, चियाका साथ खोज्छौं ।
यहाँ कतै साथीभाईसँग भेट्ने मेलोमेसो मिलानु परेमा हामी भन्छौं, ‘यसो कतै बसेर चिया पिउँ न ।’ चिया वाहाना हो, भेटघाटको । कुराकानीको । भलाकुसारीको ।
पूर्वी पहाडको गाउँघरमा पुग्नुहोस्, जानसाथ तात्तातो चियाले स्वागत गर्छन् । एक पटक होइन, जति पटक पुग्नुहोस्, उत्तिनै पटक चिया टक्य्राउँछन् । चिया हाम्रो सत्कार हो । संस्कृति हो । चाहे कंकाल नै कि नहोस्, उनको घरमा पुगेपछि ‘चिया पिऊँ हजुर’ त भन्छन् नै । चाहे संभ्रान्त नै किन नहोस्, ‘लौ चिया पिऊँ’ त भन्छन् नै ।
चिया यस्तो पेय हो, जसले हाम्रो मुड फ्रेस बनाइदिन्छ । चिया यस्तो पेय हो, जसले हाम्रो जिब्रोलाई मोहनी लगाइदिएको छ । चिया यस्तो पेय हो, जो हाम्रै घर–आगँनमा उत्पादन हुन्छ । चिया यस्तो पेय हो, जसले पूर्वी पहाडी जिल्लालाई हराभरा बनाएको छ । चिया यस्तो पेय हो, जसले ग्रामिण समाजको कायपलट गरेको छ । चिया यस्तो पेय हो, जो हाम्रो जीवनशैलीकै एक हिस्सा बनेको छ ।
लाहुरे दाईको कोसेली
नेपाली समाजमा यति घनिष्ठता गाँसेको चियाको इतिहास दुई सय बर्ष पुरानो छ । राणा प्रधानमन्त्री जंगबहादुर राणाको छोरी ज्वाई गजराजसिंह थापा, जसले पहिलो पटक चिया भित्र्याएका थिए । तर, यति लामो इतिहास बनाएको चिया नेपालीको भान्सामा भने धेरै पछि मात्र प्रवेश ग¥यो ।
त्यसअघिसम्म भारतिय लाहुरेले कोसेलीको रुपमा चिया ल्याउने गरेको किस्साहरु सुनिन्छ । लाहुरेहरु घर फर्केर आउँदा उनीहरुको साथमा चिनी र चिया पत्ति पनि हुन्थ्यो । धेरै पुरानो कुरा होइन, एक पुस्ता अघिको हो । खासमा भारतिय लाहुरेले नै नेपाली भान्सामा चियाको स्वाद भित्र्याए । खासगरी सर्वसाधरणको भान्सामा । त्यसपछि नै हो, नेपालीहरुको जिब्रोमा यो पेयले साम्राज्य विस्तार गरेको ।
पाहुनालाई पेय
घरमा कुनै पाहुना आउनसाथ तपाई के भन्नुहुन्छ ? जवाफ ओंठमै झुन्डिएको छ, ‘अहो, लु आउनुहोस् चिया पिऔं ।’
तपाई कसैको घरमा पुग्नुभयो भने उनले हार्दिकतापूर्वक यसरी स्वागत गर्नेछन्, ‘ल, आइपुग्नुभो । चिया पिऔं ।’
चिया यस्तो माध्याम बन्यो कि, जसले कसैसँग हामीलाई औपचारिकता निर्वाह गर्न सजिलो बनाइदियो । त्यही कारण कोही पाहुना आउनसाथ हामी चिया टक्य्राउन थाल्यौं । यसरी चियाले सौहाद्र्धपूर्ण वातावरणको निर्माण गरिदियो ।
न चिया दिनेलाई गाह्रो, न पिउनेलाई असजिलो । किनभने यो उति खर्चिलो छैन । अर्को कुरा, पाहुना गएपछि चिया स्विकार्ने हाम्रो संस्कार नै बसिसक्यो । यसरी हामी चियासँग एकाकार भयौं ।
चिया–लत
काम गर्दागर्दै दिक्क लाग्यो भने तपाईं के गर्नुहुन्छ ?
पक्कैपनि एक कप चिया मगाउनुहुन्छ । कतै पट्यारलाग्दो दिन कटाउनुप¥यो भने के गर्नुहुन्छ ? निसन्देह अर्को दुई कप चिया थप्नुहुन्छ । दिनभरमा तपाईंले कति कप चिया पिउनुहुन्छ ? त्यसको कुनै हिसाबकिताब हुन्न । किनभने चिया जति पिए पनि हुन्छ, जहाँ पिए पनि हुन्छ, जतिबेला पिए पनि हुन्छ ।
बिहान उठ्नसाथ हामीलाई चियाको तलतल लाग्छ । दिउँसो कामबाट फुर्सद पाउनसाथ चियाको तलतल लाग्छ । साँझ थाकित ज्यानलाई सोफामा बेपर्वाह ढल्काएपछि चिया सुक्र्याउन पाए हुन्थ्यो भन्ने लाग्छ । चिया अब यस्तो पेय भयो कि, जसको अभावमा हामीलाई छटपटी हुन्छ ।
चियाको चर्तिकला
तपाईंले म्याक्सिम गोर्कीको विश्वप्रशिद्ध उपन्यास ‘आमा’ पढ्नुभएको छ भने, थाहा हुन्छ, रसियामा चिया संस्कृतिले त्यो बेलादेखि जरा गाडेको रहेछ । त्यहाँ हरेक च्याप्टरमै चिया पिएको प्रसंग आउँछ । उपन्यासमा पाहुना आउनसाथ सामोभार (केटली) बसाएको उल्लेख छ ।
सोही उपन्यासमा एक पात्रको प्रसंग यसरी जोडिन्छ, ‘फलानो त कति बर्षसम्म तगडा थियो । किनभने उसले दिनमै ८, ९ कप चिया पिउँथ्यो ।’ त्यसबेला चियालाई औषधिय महत्वको पेयको रुपमा समेत बुझिन्थ्यो भन्नलाई यही एक हरफ काफी छ ।
अर्को त्यस्तै प्रख्यात उपन्यास ‘द गुड अर्थ’को प्रारम्भ पनि चियाबाटै हुन्छ । त्यो सताब्दीऔं अघिको चिनियाँ समाजको कथा हो । चीनका किसानहरुले त्यसबेला चियालाई कति महत्वका साथ पिउथे भन्ने कुरा सोही उपन्यास पढेपछि थाहा हुन्छ ।
उत्तरी छिमेकी चीनमा सदियौंदेखि संस्कारकै रुपमा विकास भएको चिया पिउने चलनले हामीकहाँ भने भर्खरै मात्र व्यापकता पाउँदैछ । अहिले हरेकको भान्सा–भान्सामा चिया पाक्छ । हरेकले स्वागतार्थ चिया नै टक्य्राउँछ । वास्तवमै यो सुखद निरन्तरता हो । यसरी चिया संस्कृतिको विकास हुँदै जाँदा त्यसले हाम्रो जीवनशैलीमा नयाँपन त ल्याउँछ नै, कृषि अर्थतन्त्रमा पनि राम्रै टेवा पु¥याउँछ । भोलि नेपालमा उत्पादित चिया नेपालमै खपत भइदियो भने कति राम्रो होला ?
यसो गरे कसो होला ?
अहिले तपाईं पूर्वी पहाडको फन्को लगाउनुभयो भने, धेरै घर–खर्च टार्ने मूल आय भनेकै चिया देख्नुहुनेछ । त्यतीमात्र होइन, थुम्काथुम्कामा लगाइएको चिया बगानले पूर्वी पहाडी जिल्लाको भूगोललाई सुन्दर ढंगले सृंगारेको छ । चिया बगान घुम्नकै लागि मान्छेहरुको ओइरो लाग्छ । यसले चिया–पर्यटनको संभावनाको पनि ढोका खोलिदिएको छ । यसका लागि चिया किसानले आर्थिक रुपमा लाभान्वित भने हुनुपर्छ । जब किसान लाभान्वित हुनेछ, तबमात्र चियाको दीगो विकास हुनेछ ।
वास्तवमा घरेलु चियालाई विस्तार गर्ने हो भने अरु केही गर्नै पर्दैन, यसलाई संस्कारको रुपमा विकास गरे पुग्छ । पाहुनालाई चिया टक्य्राउने वा कोसेलीको रुपमा प्रयोग गरे पुग्छ । अहिले जति नेपाली विदेशिएका छन्, उनीहरुले एक–एक प्याकेट चिया कोसेली बोकेर लगे नेपालीपन, नेपालीस्वाद पनि झल्कने । चियाले बढाव पनि पाउने ।
यो समय नेपाली चियाको
चिया भन्नसाथ हामी दुध, चिनी मिसाइएको चिया सम्झन्छौं । त्यसमा ल्वाङ, सुकुमेल मिसाएको स्वाद हामीलाई मिठो लाग्छ । वास्तवमा असली चियाको स्वाद होइन त्यो । केवल चियाको मिश्रण हो । यस्तो चियाले ग्याष्ट्रिक लगायतका समस्या हुन्छ ।
असली चिया तीन पात एक सुइरोयुक्त पत्ता चिया हो, जसलाई तातो पानीमा उमालेर वा तातो पानीमा भिजाएर पिउन सकिन्छ । यस्तो चियाले हानी होइन, बरु स्वास्थलाई फाइदा गर्छ । पहाडी भेगमा उत्पादन हुने अर्थोडक्स चियाको टिपाईदेखि प्रशोधन विधीसम्म यस्तो हुन्छ, जसलाई केहीपनि नराखी सेवन गर्दा पनि बेग्लै स्वादको अनुभूत गर्न सकिन्छ । चाहे ग्रीन टि पिउनुहोस् वा कालो चिया, सकेसम्म अरु केही कुराको मिश्रण नगरी पिउनुहोस् । तब, चियाको असली स्वाद पाइन्छ ।
चिया हतारमा पिउने पेय पनि होइन, जसरी स्वाट्टै रक्सी घुट्काइन्छ । चिया वास्तावमा आनन्दसाथ बसेर भलाकुसारी गर्दै चुरुप्प–चुरुप्प पिउनुपर्छ । यसरी चिया सेवन गर्दा त्यसको असली स्वाद अनुभव गर्न सकिन्छ, स्वास्थ्यका लागि लाभदायक त छँदैछ ।