इलाम । मेची राजमार्गको माइखोला राजदुवाली–गोलाखर्क भञ्याङ सडक खण्डमा मेची राजमार्गकै सबैभन्दा खराब सडक बनेको छ । यतिखेर सवारीहरु वारपार गर्न नसक्दा एक्साभेटरले ठेलेर सवारीहरु पार गर्नु परिरहेको छ । सडकखण्ड विग्रनुका साथै सडकलाई भासिनबाट रोक्न लागि लगाइएको पर्खाल लड्न लागेको छ । यसले थप जोखिम सिर्जना गरेको छ ।
सडक क्षेत्रनै धस्सिने क्रम नरोकिए पछि सडकको माथिल्लो पट्टि लगाइएको वाल हटाउन थालिएको छ । केही दिनदेखिको लगातारको वर्षाका कारण राजमार्गमा पहिरोको जोमिख बढेपछि वाल र त्यस आसपासका ढुङ्गा हटाउन लगाइएको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए ।
‘जमिन गलेको छ, माटो बग्न थालेको छ, सडकमा थप क्षति कमगर्न सडक कार्यालयलाई माथिल्लो सडकमा परेको खाल्डो पुर्न र तल्लो सडकमा भएको पर्खालका ढुङ्गा निकाल्न निर्देशननै दिइएको छ ।’ प्रजिअ खड्काले भने ‘त्यहाँ काम भइरहेको छ । लगातारको वर्षा नरोकिएकाले पनि समस्या बढेको छ ।’
त्यसोत साना ठूला सवारी चालक र यात्रुहरु दिनरात त्रासमा हिंड्न बाध्य छन् । सवारी चालक विवेक थापाले कतिबेला माथिबाट पर्खाल झरेर गाडी पुर्ला भन्ने त्रासमा हिँड्नुपरेको बताए । ‘यहाँ आइपुगेपछि गाडीको स्पिड बढाएन भने सडककै पर्खाल झरेर पुर्छ भन्ने डर छ,’ उनले भने, ‘स्पिड बढाउँदा पनि भुइँमा हिलो र धेरै अप्ठ्यारो भएकाले गाडी नियन्त्रण गर्न सकिँदैन ।’
राजदुवाली माथिको सडकको समस्या नयाँ भने होइन । वर्षौंदेखि जमिन धस्सिएर जमिननै बग्ने समस्या सुल्झाउन करोडौं रुपैयाँ खर्च भइसकेको छ । तर, समाधान नहुने भएपछि इलाम स्थित सडक कार्यालयलाई जोखिम बढेको ठहर गर्दै विपद् व्यवस्थापन समितिले अघिल्लो वर्षनै वैकल्पिक मार्ग तयार गर्न सुझाव दिइएको थियो ।
भौगर्भिक अध्ययन गर्न काठमाण्डौं स्थित इटीको नेपाल प्राइभेट लिमिटेडले गरेको अध्ययन अनुसार सो क्षेत्रमा सतहभन्दा १५ मिटर मुनिको जमिन बग्ने र भासिने गरेको जनाइएको थियो । माइखोलादेखि माथि करिब तीन सय मिटरको भूभागमा भित्रभित्रै जमिन दब्ने र बग्ने गरेको जनाइएको थियो । अध्ययनमा त्यहाँको सतहभन्दा करिब २० देखि २५ मिटर तल सम्म रड राखेर एंकरिङ्ग गर्ने र कंकीट वाल निर्माण गर्ने सुझाव दिइएको थियो । सोही अनुसार सडक डिभिजन कार्यालयले छ करोड ७७ लाख रुपियाँ खर्चेर सडकको एंकरिङ्ग गर्ने र वाल लगाउने काम गरेको थियो । तर, सडकको एंकरिङ्ग गरेका पिल्लरहरुनै सडकतर्फ धस्सिए पछि दिनदिनै जोखिम बढिरहेको छ ।
पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्थुम सम्म सवारीहरु आउजाउ गर्ने यो सडकका लागि सडक डिभिजन कार्यालय इलामले पनि विकल्प खोज्न गत पुस महिना तिरै पत्राचार गरेको थियो । तर, विभागले उक्त विषयमा केही नभनेको र यो वर्षको बजेटमा पनि नपरेको डिभिजन कार्यालयका इन्जिनियर विरेन्द्रकुमार यादवले बताए । ‘उक्त सडक खण्ड जीर्ण छ, त्यसको भविष्य कति भन्ने अनुमान त गर्न सकिन्न, जोखिम भने कायम छ ।’ यादवले भने ‘हामीले तिल्केनीबाट सोझै माइखोला भरेर सिल्पुर नजिक निस्कने वैकल्पिक मार्ग हुनसक्छ भन्ने एक किसिमको ठहर चाँहि गरेका छौं । माथिबाट अध्ययन गर्न टोली आएपछिमात्र कताबाट वैकल्पिक मार्ग बनाउने भन्ने टुङ्गो लाग्छ ।’
यो सडकको मर्मत हुन सम्भव नभएको र विकल्प खोज्नुनै समाधान भएको डिभिजन प्रमुख अभिवन मुल्मीले बताए । उनका अनुसार विभागले यो क्षेत्रको भौगर्भिक अध्ययन गर्न टोली छनौट गर्दैछ । अध्ययन गर्न आएको विज्ञ प्राविधिक उक्त टोलीले अध्ययन गरेर विभागमा प्रतिवेदन बुझाएपछि सडकको त्यो क्षेत्रमा कुन विकल्प खोज्ने भन्ने टुंगो लाग्नेछ ।