काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले कतारमा ज्यान गुमाएका आप्रवासी नेपाली श्रमिकबारे चासो देखाउँदै मृत्यु प्रमाणपत्र जारी गर्नुअघि गम्भीर अनुसन्धान गर्न कतार सरकारलाई आग्रह गरेको छ । काम गर्ने समय लामो हुने, शारीरिक श्रम बढी हुने तथा चर्को गर्मीका कारण हुने मृत्युका सम्बन्धमा एम्नेस्टीले विशेष चासो देखाएको हो ।
‘अत्यधिक गर्मीमा लामो समय काम गरेपछि तुलनात्मक रूपले जवान र स्वस्थ पुरुषहरूको अचानक मृत्यु हुँदा यसले कतारमा काम गर्ने अवस्थाको सुरक्षाबारे गम्भीर प्रश्नहरू खडा गर्छ । आप्रवासी श्रमिकको मृत्युको मुख्य कारण छानबिन गर्न असफल हुनु भनेको कतारी अधिकारीले केही महत्त्वपूर्ण संकेतलाई बेवास्ता गरिरहेका छन्,’ एम्नेस्टीका तर्फबाट बिहीबार जारी विज्ञप्तिमा आर्थिक तथा सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले भनेका छन्, ‘यो बाँच्न पाउने अधिकारको उल्लंघन हो । उनीहरूले पीडित परिवारको कानुनी उपचारको अधिकारलाई पनि अस्वीकार गरिरहेका छन् ।’
जारी गरिएका मृत्यु प्रमाणपत्रका सम्बन्धमा अनुसन्धान गर्न श्रम, स्वास्थ्य र न्याय मन्त्रालयका प्रतिनिधिसहितको उच्चस्तरीय छानबिन समिति गठन गर्न एम्नेस्टीले माग गरेको छ । ‘मुख्य कारण जनाउने थप व्यहोरा बिनाश्वासप्रश्वास वा मुटुको समस्याका कारण ज्यान गएको भन्ने वाक्यांशलाई मृत्यु प्रमाणपत्रमा समावेश गर्नु हुँदैन । तर त्यस्तो समस्याले नै सबैको मृत्यु हुन्छ र त्यसको कारण नखुलाइएका वाक्यांश अर्थहीन हुन्छन्,’ एम्नेस्टीको प्रतिवेदनमा उल्लेख छ ।
कतारमा कामदारको मृत्युबारे अनुसन्धान नहुँदा पीडित परिवार क्षतिपूर्तिबाट वञ्चित हुने गरेका छन् । यसैको उदाहरण हो, रोल्पाको लुङ्ग्री गाउँपालिका–७ का तुलबहादुर घर्तीको परिवार । तुलबहादुर विवाह गरेको दुई महिनामै श्रीमती विपनालाई घरमै छाडेर कतार उडेका थिए । ‘सधैं इमोबाट कुरा हुन्थ्यो । कहिले ड्युटी जानुभन्दा अगाडि त कहिले ड्युटीबाट फर्केपछि,’ विपनाले भनिन् । २०७७ जेठ १५ राति ९ः३० मा तुलबहादुरसँगको संवाद विपनाका लागि अन्तिम रह्यो । ‘त्यो दिन राम्रै कुरा भयो । भोलि बिहान कुरा गर्ने भनेर हामी बिदा भयौं । बिहान उहाँ अनलाइन देखिनुभएन,’ उनले भनिन् । एक्कासि दिउँसो कम्पनीको क्याम्पबोस ९श्रमिक आवासस्थलका प्रबन्धक० ले फोन गरी तुलबहादुरको मृत्यु भएको जानकारी दिए । ‘क्याम्पबोसले राति सुतेका बेला उहाँको मृत्यु भएको भने,’ उनले भनिन्, ‘एकपटक पनि उहाँ बिरामी पर्नुभएको कहिल्यै सुनेको थिइनँ ।’ २८ वर्षीय विपनाले श्रीमान्को पोस्टमार्टम गर्न चाहेकी थिइन् ।
कतारमा कार्यरत आफन्त र गाउँलेले पोस्टमार्टम सम्भव नभएको जानकारी दिए । शव गाउँमै ल्याएर अन्तिम संस्कार गरियो । शवसँगै आएको मेडिकल रिपोर्टमा तुलबहादुरको मृत्युको कारण ‘प्राकृतिक कारणले मुटु र फोक्सोले काम नगरेको’ भनेर उल्लेख थियो । तुलबहादुर ३९ डिग्री सेल्सियससम्मको तापक्रममा तार काट्ने काम गर्थे । ‘सधैं बाहिर नै काम गर्ने हो । खाना खाने र आराम गर्ने समयबाहेक ८ घण्टा ड्युटी, २ घण्टा ओभरटाइम हुन्थ्यो,’ विपनाले भनिन् । कार्यक्षेत्रबाहिर मृत्यु भएकाले तुलबहादुरको परिवारले कतारबाट क्षतिपूर्ति पाएन । ‘क्याम्पमै हृदयाघात भई मृत्यु भएको हुनाले कम्पनीले क्षतिपूर्ति नदिने नियम रहेको सुनाइयो । कम्पनीले तलब र बोनसबापत ३१ सय र काजकिरिया गर्न १५ सय रियाल पठाइदियो,’ उनले भनिन्, ‘जीवन बिमा हुनुपर्ने हो । त्यो कस्तो बिमा हो, मान्छे मर्दा पनि क्षतिपूर्ति नपाइने । बिमा पनि काम गर्ने समयको मात्रै हुन्छ र रु यहाँबाट गएपछि त २४ सै घण्टा कम्पनीसँगै हुने हो ।’ तुलबहादुरको परिवारले वैदेशिक रोजगार बोर्डबाट ७ लाख र जीवन बिमाबाट १० लाख रुपैयाँ क्षतिपूर्ति पायो । तर, त्यो पैसाले परिवारमा झगडाको बीउ रोपियो । ‘उहाँ बित्नुभएपछि परिवारका अन्य सदस्यले धेरै ऋण देखाइदिनुभयो । ४ लाख रुपैयाँ घरको ऋण तिर्नुपर्यो,’ उनले भनिन् ।
दोहास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक दशक ९२०१० देखि २०२०० मा ७.४५ प्रतिशत नेपाली कामदारले तुलबहादुरले जस्तै मृत्यु बेहोरेका छन् । सो अवधिमा १ हजार ८ सय ८४ जना नेपाली श्रमिकको मृत्यु भएको छ । जसमा ८ सय ९४ जनाको मृत्यु तुलबहादुर जस्तै छ । दूतावासका अनुसार मेदेखि सेप्टेम्बर महिनासम्ममा मृत्युदर निकै उच्च छ । यो अवधिमा हरेक दिनजसो एक जना कामदार सुतेको अवस्थामै मृत भेटिएका थिए । अरू समयमा भने महिनाको ७ देखि १५ जनाको मृत्यु भएको थियो । त्यसो त कतारले कामदारको स्वास्थ्य सुरक्षाको कारण देखाएर जुन १५ देखि ३१ अगस्टको बीचमा दिउँसोको समय ९बिहान ११ बजेदेखि ३ बजेसम्म० घरबाहिर काम गर्न प्रतिबन्ध लगाएको छ ।
सन् २०२१ मेमा कतारले गर्मीमा काम गर्ने समयको प्रतिबन्ध जुन १ देखि १५ सेप्टेम्बरसम्म बढायो । चर्को गर्मी र आद्रता ३२ डिग्री पुग्दा बाहिरी काम गर्न निषेध गर्नेलगायत अन्य आवश्यकता लागू गरिएको थियो । नयाँ कानुनले श्रमिकलाई अत्यधिक गर्मी भएमा काम गर्न बन्द गर्ने र प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयमा गुनासो पेस गर्ने अधिकार पनि दिएको छ । तर, व्यवहारमा लागू भएको देखिँदैन । जसले गर्दा प्रतिकूल कार्यस्थल वातावरणका कारण बर्सेनि नेपालीहरूले ज्यान गुमाइरहेका छन् ।
कतारको कानुनमा प्राकृतिक कारणले मृत्यु भए परिवारलाई क्षतिपूर्ति दिने प्रबन्ध छैन । त्यस्तै, एम्नेस्टीले प्रतिवेदनमार्फत अकाल मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुँदै पनि हजारौं आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको आरोपसमेत लगाएको छ । कतारमा कार्यस्थलजन्य दुर्घटना परी ज्यान गुमाउने नेपालीको संख्या भने कम छ । एक दशकको अवधिमा १ सय ८४ जना ९९.७ प्रतिशतको ज्यान गएको हो । तीमध्ये अधिकांशको कार्यस्थलमा उच्च तापक्रमकै कारण ज्यान गएको हो ।
एम्नेस्टीले श्रमिकको मृत्युको पूर्ण छानबिन गर्न कतारी अधिकारीहरूलाई आग्रहसमेत गरेको छ । ‘श्रमिकहरू अत्यधिक गर्मी जस्ता खतरनाक अवस्थाको सामना गर्दै आएका छन् र मृत्युको अन्य कुनै कारण स्थापित गर्न सकिँदैन भने कतारले पीडित परिवारहरूलाई पर्याप्त क्षतिपूर्ति दिनुपर्छ । अन्य श्रमिकको सुरक्षालाई सुदृढ पार्न तत्काल कदम चाल्नुपर्छ । आप्रवासी श्रमिकहरूको मृत्युको छानबिन, कानुनी उपचार र रोकथाम गर्न नसक्नु बाँच्न पाउने अधिकारलाई सुरक्षित र सुनिश्चित राख्ने कतारको दायित्वको उल्लंघन हो,’ एम्नेस्टीले भनेको छ ।
सन् २०१९ मा कतार सरकारले ग्रीस–बेस फेम प्रयोगशालामार्फत एक अध्ययन नै गराएको थियो । अध्ययनले विश्वकप परियोजनाअन्तर्गत उच्च सुरक्षा वातावरणमा काम गर्ने श्रमिकको तुलनामा सामान्य वातावरणमा काम गर्ने श्रमिकहरू हृदयाघातको उच्च जोखिममा रहेको देखाएको थियो । त्यस्तै कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको पत्ता लगाएको थियो । सन् २००९–२०१७ को मुटुको समस्याका कारण ५ सय ७१ नेपाली आप्रवासी श्रमिकले ज्यान गुमाएका थिए । कान्तिपुरले समाचार लेखेकाे छ ।